दर्ता नभएका पसलमा औषधि बेचे कारबाही गर्ने औषधि व्यवस्था विभागको चेतावनी

काठमाडौँ ।औषधि व्यवस्था विभागले विभागमा दर्ता नभएका बिक्री केन्द्र, औषधि पसल तथा फार्मेसीहरूमा औषधि बिक्री वितरण नगर्न थोक विक्रेताहरूलाई कडा निर्देशन दिएको छ। विभागले एक जरुरी सूचना जारी गर्दै दर्ताविहीन पसलहरूमा औषधि बिक्री वितरण भइरहेको पाइएकाले त्यस्तो कार्य तत्काल रोक्न र निर्देशन उल्लंघन गरे औषधि ऐन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको हो।

विभागका अनुसार औषधि दर्ता नियमावली, २०३८ को नियम ११ बमोजिम औषधिको बिक्री वितरण तथा भण्डारण प्रक्रियालाई थप व्यवस्थित, गुणस्तरीय, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले ‘औषधि बिक्री वितरण संहिता, २०८०’ लागू गरिएको छ। उक्त संहिताको संहिता ९ को उपसंहिता (२) मा थोक विक्रेताले विभागमा दर्ता भएका बिक्री केन्द्र, औषधि पसल, फार्मेसी, सरकारी कार्यालय तथा प्रचलित कानुन बमोजिम दर्ता भएका संस्थालाई मात्र औषधि बिक्री वितरण गर्नु पर्ने स्पष्ट व्यवस्था रहेको छ।

तर, विभागले गरेको अनुगमन तथा निरीक्षणका क्रममा केही थोक विक्रेताहरूले उक्त कानुनी व्यवस्थाको ठाडो उल्लंघन गर्दै विभागमा दर्ता नभएका बिक्री केन्द्र, औषधि पसल तथा फार्मेसीहरूलाई समेत औषधि बिक्री वितरण गरिरहेको भेटिएकाले विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागका वरिष्ठ औषधि व्यवस्थापक किरण सुन्दर वज्राचार्यद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण थोक विक्रेताहरूलाई विभागमा दर्ता रहेका बिक्री केन्द्र, औषधि पसल वा फार्मेसीमा मात्र औषधि बिक्री वितरण गर्न सचेत गराइएको छ। यसका साथै, थोक तथा खुद्रा विक्रेता, औषधि पसल र फार्मेसीहरूले औषधि बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक जारी गरी खरिदकर्ताको स्पष्ट विवरण उल्लेख गर्न समेत विभागले निर्देशन दिएको छ।

औषधि बिक्री वितरण संहिता, २०८० को कानुनी व्यवस्था अवज्ञा गरी कुनै पनि थोक विक्रेताले विभागमा दर्ता नभएका बिक्री केन्द्र, औषधि पसल वा फार्मेसीहरूमा औषधि बिक्री वितरण गरेको पाइएमा औषधि ऐन, २०३५ बमोजिम कडा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा विभागले स्पष्ट पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *