सरुवा अटेर प्रकरणमा: सुर्खेत प्रयोगशालासँग स्पष्टीकरण माग्दै तत्काल रमाना दिन निर्देशन
काठमाडौँ । सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सरुवा भइसकेका कर्मचारीहरूले लामो समयसम्म रमाना नलिएको विषयमा ‘भेट टाइम्स’ले समाचार प्रकाशन गरेपछि पशु सेवा विभागले यसबारे औपचारिक चासो देखाएको छ ।
समाचार सार्वजनिक भएपछि विभागले मिति २०८३/०२/०१ मा सुर्खेत प्रयोगशालालाई पत्राचार गर्दै सरुवा कार्यान्वयन किन नभएको भन्नेबारे लिखित स्पष्टीकरण माग गरेको छ ।
विभागका शाखा अधिकृत कमल पन्थीद्वारा हस्ताक्षरित पत्रमा सुर्खेत प्रयोगशालामा कार्यरत कर्मचारीहरूलाई सरुवा आदेश भए पनि हालसम्म रमाना नदिइएको विषयलाई गम्भीर रूपमा उठाइएको छ । पत्रमा मिति २०८१/०६/१५ को निर्णयअनुसार मनराज सुनार (क.सं.नं. १८७५४३) लाई पशु क्वारेन्टाइन कार्यालय, काठमाडौँ र शमशेर जि.सी. (क.सं.नं. १५४७९७) लाई पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्जमा सरुवा गरिएको उल्लेख छ ।

विभागले निजामती सेवा नियमावली, २०५० को नियम ३८(२)(ख) अनुसार सरुवा पत्र प्राप्त भएपछि सम्बन्धित कार्यालयले नियम ४० बमोजिम तोकिएको म्यादभित्र रमाना दिनुपर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ । तर, उक्त व्यवस्था पालना नभई सरुवा भएका कर्मचारीहरू हालसम्म पनि साविककै कार्यालयमा कार्यरत रहेकोप्रति विभागले प्रश्न उठाएको छ ।
विभागले सुर्खेत प्रयोगशालालाई सरुवा कार्यान्वयन किन ढिलाइ भयो भन्नेबारे स्पष्ट लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । साथै, सरुवा भइसकेका कर्मचारीहरूलाई तत्काल रमाना दिई सम्बन्धित कार्यालयमा हाजिर हुन पठाउन पनि कडा निर्देशन दिएको छ ।
यसअघि ‘भेट टाइम्स’मा प्रकाशित समाचारमा सरुवा भएको लामो समयसम्म पनि कर्मचारीहरू पुरानै कार्यालयमा कार्यरत रहेको र प्रक्रिया प्रशासनिक मिलेमतोमा अलपत्र पारिएको आशंका गरिएको थियो ।
समाचार सार्वजनिक भएपछि विभागको यो कदमलाई प्रशासनिक सुशासन र सरुवा कार्यान्वयनमा देखिएको लापरबाहीमाथि कारबाहीको संकेतका रूपमा हेरिएको छ ।
यो पनि पढ्नुहोस
पशु सेवा विभागको निर्णयलाई कर्मचारीको चुनौतीः सरुवा भएको १९ महिनासम्म पुरानै ’अड्डामा’

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभाग मातहतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गम्भीर प्रशासनिक लापरबाही सार्वजनिक भएको छ। विभागले सरुवाको निर्णय गरेको झण्डै १९ महिना बितिसक्दा पनि कर्मचारीहरू रमाना नलिई पुरानै कार्यस्थलमा बसिरहेको तथ्य फेला परेको छ।
‘भेट टाइम्स’ लाई प्राप्त सरुवा पत्रअनुसार, पशु सेवा विभागको मिति २०८१÷०६÷१५ को निर्णयअनुसार दुई जना कर्मचारीलाई सुर्खेतबाट अन्यत्र सरुवा गरिएको थियो। निर्णयअनुसार पशु स्वास्थ्य प्राविधिक शमशेर जि.सी. लाई पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज र मनराज सुनारलाई पशु क्वारेन्टाइन कार्यालय, काठमाडौँमा सरुवा गरिएको थियो। तर, निर्णय भएको १९ महिना बितिसक्दा पनि उनीहरू अझै सुर्खेत प्रयोगशालामै कार्यरत छन्।

प्राप्त विवरणअनुसार उक्त सरुवा पत्र प्रयोगशालाको दर्ता किताबमा २०८१÷११÷०८ मा मात्र दर्ता नं. २६७ मा प्रविष्ट गरिएको देखिन्छ। पत्रमा तत्कालीन कार्यालय प्रमुखले ‘आवश्यक कार्यार्थ’ भन्दै तोक लगाएर प्रशासन शाखालाई अघि बढाउन निर्देशन दिएको समेत स्पष्ट देखिन्छ।
यस विषयमा प्रयोगशालाका प्रमुख डा. अर्जुन पण्डितले कर्मचारी सरुवाबारे आधिकारिक जानकारी कार्यालयमा प्राप्त नभएको दाबी गरेका छन्। उनले आफू हालै मात्र जिम्मेवारीमा आएको उल्लेख गर्दै यसबारे प्रशासनसँग बुझेर मात्र स्पष्ट भन्न सकिने बताएका छन्।
यता, सरुवा भएका कर्मचारी मनराज सुनारले पत्र प्राप्त नभए पनि सरुवाबारे जानकारी भएको स्वीकार गरेका छन्। उनले तत्कालीन महानिर्देशकबाट ’अहिलेलाई त्यहीँ काम गर्दा फरक पर्दैन’ भन्ने मौखिक आश्वासन आएकाले आफू नगएको बताएका छन्। अर्का कर्मचारी शमशेर जि.सी. ले भने आफू विगत १० वर्षदेखि सोही कार्यालयमा कार्यरत रहेको बताउँदै लिखित पत्र नै नआएको दाबी गरेका छन्।
पशु सेवा विभागका प्रशासन प्रमुख चिरञ्जिवी गिरीले यो प्रकरण आफू विभागमा आउनु भन्दा पहिलेको भएको बताएका छन्। उनले ‘भेट टाइम्स’ सँग कुरा गर्दै भने, “यो घटना म आउनु भन्दा पहिलेको रहेछ, अहिले म स्टाफ कलेजको तालिममा छु, यसबारे थप बुझेर मात्र विस्तृत जानकारी दिन सक्छु।”
निजामती सेवा ऐन २०४९ को दफा १८ अनुसार, सरुवा भएको कर्मचारीले पत्र प्राप्त भएको १५ दिनभित्र रमाना लिएर नयाँ कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था छ। तर, दर्ता किताबमा नाम चढेको र पूर्व प्रमुखले तोक लगाएको प्रमाण हुँदाहुँदै १८–१९ महिनासम्म सरुवा कार्यान्वयन नहुनुले गम्भीर प्रशासनिक लापरबाही र सम्भावित मिलेमतोबारे प्रश्न उठाएको छ।
