परवानीपुरको पन्छी अनुसन्धान केन्द्रमा बर्डफ्लु,५० लाख क्षति
वीरगञ्ज।राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब रु ५० लाख बराबरको क्षति भएको छ । गत चैतको अन्तिम साता देखापरेको बर्डफ्लुका कारण बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पन्छी तथा तिनको आहारसमेत नष्ट गर्नुपरेको हो ।
राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर प्रजाले चैतको अन्तिम साता यहाँ पालिएका पन्छीमा बर्डफ्लु पुष्टि भएपछि करिब रु ४५ देखि ५० लाख बराबरको क्षति व्यहोर्नुपरेको जानकारी दिनुभयो । “टर्की जातका पन्छीमा बर्डफ्लु देखिएपछि क्रमशः फार्ममा पालिएका अन्य प्रजातिका पन्छीमा पनि संक्रमण फैलियो,” उहाँले भन्नुभयो, “सम्पूर्ण प्रक्रिया पूरा गरी यहाँ पालिएका पन्छी, अण्डा तथा दाना समेत नष्ट गरिएको छ ।”
बर्डफ्लुका कारण करिब दुई हजार कुखुराका चल्ला, करिब एक हजार २०० गिरीराजलगायत कुखुराका विभिन्न प्रजाति, ३३ वटा तित्रा, ४७ वटा सेतो तथा कालो टर्की र करिब ४५० वटा बट्टाई नष्ट गरिएको कार्यालयले जनाएको छ । त्यस्तै एल–वान दाना ८३५ किलोग्राम, एल–टु दाना ४५५ किलोग्राम तथा एल–थ्री दाना एक हजार ८३५ किलोग्राम नष्ट गरिएको छ ।
सूचना अधिकारी प्रजाका अनुसार बर्डफ्लु देखिएको फार्ममा हाल चुना छर्किने, मल पुर्ने तथा आगोको ताप प्रयोग गरेर निर्मलीकरण गर्ने काम भइरहेको छ ।
उहाँले यसअघि कृषकलाई उपलब्ध गराइएका विभिन्न प्रजातिका पन्छी पुनः ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । “राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पोखरा र नेपालगञ्जस्थित कार्यालयबाट आवश्यक पन्छी तथा अण्डा ल्याएर पुनः सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
