डीडीसीको महाप्रबन्धकमा पाण्डे, जर्जर अवस्था सुधार्ने मुख्य चुनौती
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहसचिव डा. शरणकुमार पाण्डेलाई दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकको जिम्मेवारी प्रदान गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई अर्को व्यवस्था नभएसम्मका लागि संस्थानको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइएको हो।
डा. पाण्डेले आजै लैनचौरस्थित संस्थानको केन्द्रीय कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन्। यसअघि मन्त्रालयको पशुपन्छी तथा मत्स्य विकास महाशाखा प्रमुखका रूपमा कार्यरत उनी अब संस्थानको कार्यसम्पादन सुधार्ने महत्वपूर्ण भूमिकामा रहेका छन्।
पदभार ग्रहणलगत्तै डा. पाण्डेले संस्थानले हाल भोगिरहेका गम्भीर चुनौतीहरूको समाधानमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। पछिल्लो समय किसानहरूलाई दूधको भुक्तानी समयमै गर्न नसक्दा संस्थानले तीव्र आलोचना खेपिरहेको छ। साथै, उत्पादित दुग्धजन्य वस्तुको गुणस्तरमा आएको गिरावट र कमजोर बजार व्यवस्थापनका कारण उपभोक्ताको विश्वाससमेत घट्दै गएको छ।
यी समस्याहरू समाधान गर्दै संस्थानको साख जोगाउनु डा. पाण्डेका लागि मुख्य चुनौतीका रूपमा देखिएको छ।

पशुपन्छी क्षेत्रका अनुभवी र प्राविधिक ज्ञानयुक्त प्रशासकका रूपमा चिनिएका डा. पाण्डेले यसअघि विभिन्न प्रदेशमा सचिवका रूपमा नेतृत्व सम्हालिसकेका छन्। पशु सेवा विभागअन्तर्गत राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाको प्रमुख रहँदा उनले पशु आहारमा एन्टिबायोटिक्सको अव्यवस्थित प्रयोग नियन्त्रण गर्ने तथा भिटामिन र सप्लिमेन्टको नाममा हुने अनावश्यक आयातमा कडाइ गर्ने जस्ता नीतिगत सुधार गरेका थिए।
सीमित कम्पनीहरूको बजार एकाधिकार तोड्ने र पशुपालन क्षेत्रमा आत्मनिर्भरता बढाउने दिशामा उनका कदमहरू प्रभावकारी मानिएका थिए। नीतिगत दृढता र व्यवस्थापन क्षमताका लागि चिनिएका डा. पाण्डेको नेतृत्वमा अब संस्थानको समग्र सुधार हुने र किसानका समस्याहरूको समाधानतर्फ प्रगति हुने अपेक्षा गरिएको छ।
