सुकुम्बासी बस्तीमा पशु सेवा विभागद्वारा उद्धार कार्यको अनुगमन, संस्थासँग समन्वय
काठमाडौं ।पशु सेवा विभागले सुकुम्बासी बस्ती हटाइएका काठमाडौंका थापाथली र गैह्रिगाउँ क्षेत्रमा सञ्चालन भइरहेको पशुपन्छी उद्धार तथा उपचार कार्यको अनुगमनलाई तीव्र बनाएको छ। विभागले पशु कल्याणका क्षेत्रमा कार्यरत विभिन्न संस्थासँग समन्वय गर्दै उद्धार कार्य प्रभावकारी बनाउन सक्रियता देखाएको हो।
महानिर्देशक डा. उमेश दाहालको नेतृत्वमा खटिएको प्राविधिक टोलीले प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्दै उद्धार गरिएका तथा अलपत्र परेका पशुपन्छीको अवस्थाबारे जानकारी लिएको छ। टोलीले घाइते तथा बिरामी जनावरहरूको उपचार, आवश्यक औषधि उपलब्धता तथा व्यवस्थापनको अवस्थाको समेत मूल्यांकन गरेको जनाएको छ।
उद्धार कार्यलाई व्यवस्थित बनाउन एनिमल नेपाल, स्नेहाज केयर र क्याटलगायत पशु कल्याण संस्थाहरूले विभागसँग सहकार्य गरिरहेका छन्। समन्वयमार्फत पशुपन्छीको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, उपचार तथा खाद्यान्न व्यवस्थापनका कार्यहरू अगाडि बढाइएको छ।

विभागका अनुसार उद्धार कार्यलाई प्रभावकारी, मानवीय तथा व्यवस्थित बनाउन निरन्तर अनुगमन जारी रहनेछ। साथै, प्रभावित क्षेत्रमा रहेका पशुपन्छीको सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत आवश्यक समन्वय र सहयोगलाई थप सुदृढ गरिने जनाएको छ।
