खाद्य प्रविधि विभागको नेतृत्व फेरियो, जोशी मन्त्रालय तानिइन्
काठमाडौं | खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा परिवर्तन गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यलाई मन्त्रालय तानिएपछि उप–महानिर्देशक सोमकान्त रिजाललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो।
मन्त्रालयका अनुसार हालै गरिएको निर्णयबमोजिम जोशीलाई मन्त्रालयमा सरुवा गरिएको हो भने विभागको दैनिक प्रशासन तथा नेतृत्वको जिम्मेवारी रिजाललाई तोकिएको छ। रिजाल यसअघि सोही विभागमा उप–महानिर्देशकका रूपमा कार्यरत थिए।
खाद्य गुणस्तर निर्धारण, अनुगमन तथा नियमनको मुख्य निकायका रूपमा रहेको विभागमा गरिएको यो नेतृत्व परिवर्तनलाई प्रशासनिक दृष्टिले महत्वपूर्ण मानिएको छ। मन्त्रालयले नियमित प्रक्रियाअन्तर्गत प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन सरुवा गरिएको जनाएको छ।
डा. जोशीले लामो समयदेखि विभागको नेतृत्व सम्हाल्दै आएकी थिइन् भने नयाँ जिम्मेवारी पाएका रिजालसामु विभागको नियामक भूमिकालाई थप सुदृढ बनाउने चुनौती रहेको छ।
