पशुपालन र आहार व्यवस्थापनबारे एकदिने तालिम सम्पन्न
काठमाडौं । ए. बि. पेलेट फिड प्रा. लि. को सहकार्यमा देवीचौर बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्था लि. र सचेत दुग्ध उत्पादक सहकारी संस्था लि. द्वारा आयोजित पशुपालन व्यवसाय तथा आहार व्यवस्थापन सम्बन्धी एकदिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
किसानहरूको ज्ञान, सीप तथा उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा देवीचौर बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्था लि. का अध्यक्ष विश्वमणि तिमल्सिना र सचेत दुग्ध उत्पादक सहकारी संस्था लि. का अध्यक्ष सोमनाथ तिमल्सिनाको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, ए. बि. पेलेट फिड प्रा. लि. का म्यानेजिङ डाइरेक्टर पिताम्बर सञ्जेल तथा कार्यक्रम संयोजक दिपेश लामिछानेको सक्रिय सहभागिता रहेको थियो। कम्पनीका प्रतिनिधिहरू बुद्धिमान कार्की, भुवन खुलाल, कर्णबहादुर राई र श्री थापाको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष विश्वमणि तिमल्सिनाले यस्ता तालिमहरूले किसानहरूलाई गाई–भैंसी पालन, रोग नियन्त्रण तथा फार्म व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले उत्पादन वृद्धि, लागत व्यवस्थापन र व्यवसायीकरणमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्नुभयो।
ए. बि. पेलेट फिड प्रा. लि. का म्यानेजिङ डाइरेक्टर पिताम्बर सञ्जेलले पशु आहारको महत्वबारे प्रकाश पार्दै सन्तुलित र गुणस्तरीय दाना प्रयोग गर्नु पशुपालन व्यवसायको आधारभूत आवश्यकता भएको बताउनुभयो। वैज्ञानिक रूपमा तयार गरिएको दाना प्रयोग गर्दा पशुको स्वास्थ्यमा सुधार आउनुका साथै दूध उत्पादनमा वृद्धि हुने उहाँको भनाइ थियो।
प्रमुख प्रशिक्षक डा. उमेश मण्डलले पशु प्रजनन समस्या (इन्फर्टिलिटी), सन्तुलित आहार तथा पोषण व्यवस्थापन, फार्म स्थान छनोट, गाई–भैंसीका जात र विशेषता, दाना व्यवस्थापन, पोषक तत्त्व, सामान्य रोगहरूको पहिचान तथा नियन्त्रण, बायोसेक्युरिटी, आन्तरिक तथा बाह्य परजीवी तथा मस्टाइटिस सम्बन्धी विषयमा विस्तृत प्रशिक्षण दिनुभएको थियो।
यसै क्रममा ए. बि. पेलेट फिड प्रा. लि. का पशु प्राविधिक बुद्धिमान कार्कीले गाई–भैंसीलाई आवश्यक पोषक तत्त्व, दानाको मात्रा तथा खुवाउने समय सम्बन्धी व्यवहारिक जानकारी प्रस्तुत गर्नुभएको थियो।
उक्त तालिममा करिब ४५ जना किसानहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। साथै, भविष्यमा यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
