कैलाली मृत्यु प्रकरण: रोगी कुखुराका कारण नभई सडेका मासु सेवनकै कारण—पशु चिकित्सक
काठमाडौं । कैलालीमा मरेका कुखुरामा कुनै पनि संक्रामक रोग नदेखिएको पुष्टि भएको छ। मरेका कुखुराको मासु सेवनपछि दुई बालबालिकाको मृत्यु भएको घटनालाई सुरुमा बर्डफ्लुसँग जोडेर आशंका गरिए पनि परीक्षणले त्यस्तो कुनै संक्रमण पुष्टि नगरेको देखिएको हो।
कैलालीको चुरे गाउँपालिका–९ स्थित एक फार्ममा मरेका कुखुराको परीक्षणका क्रममा कुनै संक्रमण नदेखिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीले जनाएको छ। प्रयोगशालाका प्रमुख डा. नरेश जोशीका अनुसार मरेका कुखुराको पोस्टमार्टम गर्दा ती स्वस्थ रहेको भेटिएको हो।
“घटनाबारे जानकारी पाएपछि प्राविधिक टोली खटाएर कुखुराको पोस्टमार्टम गरिएको थियो। परीक्षणका क्रममा कुनै पनि रोगको लक्षण वा संक्रमण देखिएन,” डा. जोशीले बताए।
उनका अनुसार उक्त फार्ममा फालिएका कुखुरा स्थानीय एक परिवारले तीन–चार दिनसम्म पोलेर खाएको पाइएको छ। लामो समयसम्म सडेका कुखुरा सेवन गर्दा स्वास्थ्य समस्या उत्पन्न भएको हुनसक्ने उनको भनाइ छ।
बिहीबार मरेको ब्रोइलर कुखुराको मासु सेवन गरेपछि चुरे गाउँपालिका–३ की राधिका ताम्राकारसहित उनका ३ वर्षीय दीपेश, ५ वर्षीय दीपक र ८ वर्षीय भीम बिरामी परेका थिए। बिरामी उनीहरूलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा ५ वर्षीय दीपक र ८ वर्षीय भीमको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।
घटनालाई बर्डफ्लुसँग जोडेर विभिन्न माध्यममा समाचार सार्वजनिक भए पनि परीक्षणले त्यस्तो कुनै संक्रमण पुष्टि नगरेको स्पष्ट भएको छ। चिकित्सकहरूका अनुसार बर्डफ्लु भाइरस उच्च तापक्रममा नष्ट हुने भएकाले राम्रोसँग पकाएर तयार गरिएको कुखुराको मासु र अण्डा सेवन गर्दा संक्रमणको जोखिम हुँदैन।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार हालसम्म पकाएको कुखुराको मासु वा अण्डा सेवनका कारण बर्डफ्लु सरेको कुनै प्रमाण भेटिएको छैन। उनले उपभोक्तालाई मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न आग्रह गरेका छन्।
