दुई परिषद् गाभ्ने सरकारको तयारीप्रति पशु स्वास्थ्य प्राविधिकको आपत्ति

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायिक परिषद्को पहिचान मेटाउन खोजियो : उपाध्यक्ष मेहेता

काठमाडौं । सरकारले पशुचिकित्सा परिषद् र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायिक परिषद्लाई गाभेर एउटै परिषद् बनाउन लागेको भन्दै पशु स्वास्थ्य प्राविधिकहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बुधबार सांकेतिक विरोध जनाएका छन्।

नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनका अध्यक्ष एवं पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायिक परिषद्का उपाध्यक्ष रामप्रसाद मेहेताले पशु सेवा क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिलाई कानुनी दायरामा ल्याउने उद्देश्यले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायिक परिषद् ऐन, २०७९ जारी भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा अर्को परिषद्सँग गाभ्ने विषय आफूहरूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।

उनले एक लाखभन्दा बढी जनशक्ति आबद्ध रहेको परिषद्को पहिचान र प्रतिनिधित्व नै मेटाउन खोजिएको आरोप लगाए। परिषद्लाई अर्को संस्थासँग गाभ्ने प्रयासले पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिको अधिकार र प्रतिनिधित्व कमजोर पार्ने उनको भनाइ छ।

“कृषि मन्त्रालयले पशुचिकित्सा परिषद् र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायिक परिषद् दुईवटालाई मर्ज गरेर एउटै परिषद् बनाउने कुरा आएको छ। त्यसको हामी विरोधमा छौँ। पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायिक परिषद् छुट्टै रहनुपर्छ। यसलाई अरू परिषद्सँग मर्ज गर्नु हुँदैन। परिषद्को अस्तित्व र परिचय कायम राख्नुपर्छ,” मेहेताले भने।

सांकेतिक रूपमा गरिएको विरोधलाई सरकारले बेवास्ता गर्दै दुईवटा परिषद्लाई गाभेर आफूहरूलाई अधिकारविहीन बनाउने प्रयास गरे सशक्त रूपमा विरोधका कार्यक्रम अघि बढाउने चेतावनी पनि मेहेताले दिए।

उनले परिषद्को संरचना, अधिकार क्षेत्र र प्रतिनिधित्वलाई कमजोर पार्ने कुनै पनि निर्णय आफूहरूलाई मान्य नहुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *