बर्ड फ्लुको जोखिम बढेपछि नेपाल भेटेरिनरी एशोसिएसनको २४सै घण्टा निःशुल्क हटलाइन सेवा
काठमाडौं।नेपालमा पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि नेपाल भेटेरिनरी एशोसिएसनले २४सै घण्टा हटलाइन तथा निःशुल्क टेलि-परामर्श सेवा पुनः सञ्चालनमा ल्याएको छ।
मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने पोल्ट्री क्षेत्र, जनस्वास्थ्य तथा पशु स्वास्थ्यको सुरक्षालाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको एशोसिएसनले जनाएको छ। बर्ड फ्लु तीव्र संक्रामक तथा पशुपन्छीबाट मानिसमा समेत सर्न सक्ने भाइरसजन्य रोग भएकाले यसको जोखिम न्यूनीकरण गर्न किसान, व्यवसायी तथा सर्वसाधारणलाई सही सूचना, वैज्ञानिक परामर्श र आपत्कालीन प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले हटलाइन सेवा पुनः सञ्चालन गरिएको हो।
सर्वसाधारण तथा व्यवसायीले फोन नं. ११५९ मा निःशुल्क सम्पर्क गरी सेवा लिन सक्नेछन्। हटलाइनमा पोल्ट्री विज्ञान, पक्षी रोग, महामारी विज्ञान तथा पशु स्वास्थ्य क्षेत्रमा लामो अनुभव हासिल गरेका विशेषज्ञ भेटेरिनरी चिकित्सकहरू स्वयंसेवी रूपमा आबद्ध रहेका छन्। एशोसिएसनले यसअघि सफलतापूर्वक सञ्चालन गरेको सेवाको अनुभवका आधारमा अहिलेको संकटका बेला यो कदम चालिएको जनाएको छ।
नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले बर्ड फ्लु नियन्त्रणका सन्दर्भमा अफवाहको पछि नलाग्न आग्रह गर्दै किसान, व्यवसायी तथा उपभोक्तालाई कुनै पनि भ्रममा नपरी आधिकारिक सूचना र विशेषज्ञ परामर्श लिन तथा हटलाइन सेवाको अधिकतम उपयोग गर्न अनुरोध गर्नुभएको छ।
एशोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार यो हटलाइनलाई भविष्यमा सबै प्रकारका पशुधनका लागि राष्ट्रियस्तरको आकस्मिक पशु चिकित्सा टेलिमेडिसिन सेवाका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ। यस सेवामार्फत बर्ड फ्लुसम्बन्धी आधिकारिक तथा वैज्ञानिक जानकारी, शंकास्पद लक्षण देखिएका पन्छीबारे प्रारम्भिक प्राविधिक परामर्श, रोगको सूचना प्रवाह, सरकारी निकायसँग समन्वयका लागि मार्गदर्शन, मासु तथा अण्डाको सुरक्षित उपभोगसम्बन्धी सुझाव तथा ‘एक स्वास्थ्य’ अवधारणाबारे जनचेतना उपलब्ध गराइनेछ।
पशु स्वास्थ्य र जैविक सुरक्षा नै मानव स्वास्थ्यको आधार भएको उल्लेख गर्दै एशोसिएसनले फार्महरूमा जैविक सुरक्षाका उपायहरू कडाइका साथ अपनाउन अपिल गरेको छ। बिरामी वा मरेका पन्छीलाई खाली हातले नछुन, असामान्य लक्षण देखिएमा वा अचानक धेरै पन्छी मरेमा तत्काल नजिकको पशु सेवा कार्यालय वा एशोसिएसनको हटलाइनमा जानकारी गराउन आग्रह गरिएको छ। साथै, उपभोक्तालाई कुखुराको मासु र अण्डा सधैं राम्ररी पकाएर मात्र उपभोग गर्न, रोगी वा शंकास्पद पक्षीको अनधिकृत ओसारपसार नगर्न तथा पशु सेवा विभागबाट जारी गरिएका निर्देशनहरूको पूर्ण पालना गर्न विशेष अनुरोध गरिएको छ। बर्ड फ्लु नियन्त्रणका लागि सरकार, भेटेरिनरी प्राविधिक, किसान, पोल्ट्री व्यवसायी, सञ्चारमाध्यम तथा उपभोक्ताबीचको समन्वय अझ प्रभावकारी हुनुपर्नेमा एशोसिएसनले जोड दिएको छ।
