पशुपन्छी रोग नियन्त्रणका लागि २४ करोड, हिल्सामा पशु क्वारेन्टिन स्थापना गरिने
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पशुपन्छी रोग तथा महामारी नियन्त्रणलाई प्राथमिकतामा राख्दै आवश्यक खोप स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्य अनुसार खोरेत लगायतका पशु रोग नियन्त्रणका लागि २४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा पशुपन्छीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक खोप निजी क्षेत्रको सहभागितासमेतमा नेपालमै उत्पादन गर्ने व्यवस्था गरिने उल्लेख छ। यस कदमले पशु स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउनुका साथै आयातित खोपमाथिको निर्भरता घटाउने अपेक्षा गरिएको छ।
सरकारले हुम्लाको हिल्सा सीमा नाकामा पशु क्वारेन्टिन स्थापना गर्ने घोषणा पनि गरेको छ। सीमावर्ती क्षेत्रबाट हुने पशु तथा पशुजन्य वस्तुको आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन यो व्यवस्था गरिएको हो।
कृषि तथा पशुपालक किसानलाई जोखिमबाट जोगाउन कृषि बीमाको प्रिमियममा दिइने अनुदानका लागि २ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस व्यवस्थाबाट पशुपालन व्यवसायमा हुने सम्भावित क्षतिको आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
यस्तै, उपयोगमा नआएका खेतीयोग्य व्यक्तिगत जमिनलाई व्यावसायिक कृषि कम्पनीको शेयरमा रूपान्तरण गरी कृषि तथा पशुपालन फार्म सञ्चालन गर्न प्रोत्साहन गरिने नीति बजेटमा समावेश गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको सरकारले जनाएको छ।
