‘भेटकन २०२६’ सम्पन्न, राष्ट्रिय भेटेरिनरी प्राधिकरण गठन प्रस्ताव

काठमाडौं।नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा ‘भेटकन २०२६’ लुम्बिनी प्रदेशमा पहिलो पटक सम्पन्न भएको छ। “दिगो पशुधन र खाद्य सुरक्षाका लागि एक स्वास्थ्य मार्ग” नारासहित सम्पन्न सम्मेलनले ‘एक स्वास्थ्य’ अवधारणालाई व्यवहारिक रूपमा अघि बढाउने लक्ष्य लिएको छ।

रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड रिसोर्टमा चैत २७ गते सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य रहनुभएको थियो। अध्यक्षता एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले गर्नुभएको थियो भने सञ्चालन महासचिव डा. शंकर न्यौपानेले गर्नुभएको थियो।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलिया, पूर्व अध्यक्ष डा. रामकृष्ण खतिवडा, डा. शीतल काजी श्रेष्ठ, सहसचिव डा. रामनन्दन तिवारी, महानिर्देशक डा. उमेश दाहाल, उपमहानिर्देशक डा. प्रेरणा सेढाई भट्टराई तथा परिषदका उपाध्यक्ष डा. मनोज साहीको उपस्थिति रहेको थियो।

मुख्यमन्त्री आचार्यले पशुपालनलाई आत्मनिर्भर अर्थतन्त्रको आधार मान्दै पशु चिकित्सकप्रति राज्यको दृष्टिकोण सुधार आवश्यक रहेको बताउनुभयो।

सम्मेलनका सत्रहरूमा डा. प्रेरणा सेढाई भट्टराई, डा. सुरेन्द्र कार्की तथा हेफर इन्टरनेशनल नेपालले प्रस्तुति दिएका थिए भने अष्ट्रेलिया, जापान, अमेरिका, भारत, बेलायत र हङकङका विज्ञहरूले पनि अनुसन्धान प्रस्तुत गरेका थिए। सम्मेलनमा १०० भन्दा बढी कार्यपत्र, २३ पोस्टर प्रस्तुति र करिब ५०० जनाको सहभागिता रहेको थियो।

पक्षी इन्फ्लुएन्जा सम्बन्धी प्यानल छलफल डा. हिमाल लुइँटेलको संयोजनमा सम्पन्न भएको थियो, जसमा डा. उमेश दाहाल, डा. मनाबु ओनुमा, डा. अशेष भट्टराई, प्रा. डा. होमबहादुर बस्नेत र डा. रामकृष्ण खतिवडा सहभागी हुनुहुन्थ्यो।

सम्मेलनमा २५ वर्ष सेवा गरेका २६ जना भेटेरिनरियनलाई सम्मान गरिएको छ। हेफर इन्टरनेशनल नेपाल, डा. शीतल काजी श्रेष्ठ र प्रा. डा. भूमिनन्द देवकोटालाई विशेष सम्मान प्रदान गरिएको थियो।

समापन समारोह लुम्बिनी प्रदेशका मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। महासचिव डा. शंकर न्यौपानेका अनुसार ‘लुम्बिनी घोषणापत्र’मार्फत राष्ट्रिय भेटेरिनरी प्राधिकरण गठन, ‘एक पालिकामा एक भेटेरिनरी अस्पताल’, २४ सै घण्टा सेवा विस्तार लगायतका प्रस्ताव अघि सारिएको छ।

प्राविधिक संयोजक डा. हिमाल लुइँटेलले सम्मेलनले नीति, अनुसन्धान र अभ्यासबीच समन्वय मजबुत बनाएको बताउनुभयो।

सम्मेलनमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र संयुक्त राज्य सोयाबिन निर्यात परिषद प्रमुख प्रायोजक रहेका थिए।

एशोसिएसनका सचिव डा. विशाल पोखरेलका अनुसार सम्मेलनले पशुपन्छी क्षेत्रको विकास र ‘एक स्वास्थ्य’ अवधारणाको प्रवर्द्धनमा योगदान पुर्‍याएको छ। स्थानीय संयोजक डा. भरत काफ्ले र केन्द्रीय उपाध्यक्ष डा. राजेन्द्र यादवको सहभागितासहित अध्यक्ष डा. केदार सुवेदीले समापन गर्नुभएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *