गाईंभैंसीमा लम्पी स्किन भयो ? एमडिएच फर्मास्युटिकल्सले दिनेछ अब निःशुल्क औषधि
काठमाडौं । एमडिएच फर्मास्युटिकल्स कम्पनीले देशभर लम्पी स्किन रोकथामको औषधि निःशुल्क वितरण गर्ने भएको छ । गाईभैँसीमा देखिएको ‘लम्पी स्किन’ रोगको महामारी नियन्त्रण निम्ति एमडिएचले औषधि बाँड्न लागेको हो ।
लम्पी स्किन भाइरसबारे आम किसानलाई सचेत गराउँदै कम्पनीले महामारी फैलन नदिन निःशुल्क औषधि वितरण गर्न लागेको एचडिएका प्रबन्ध निर्देशक गणेशकुमार दाहालले जानकारी दिए ।
दाहालका अनुसार यो रोगको प्रकोप देखिएका देशका सबै क्षेत्रमा ‘भिरोक–एस’ नामको औषधि निःशुल्क वितरण गरिनेछ ।
कम्पनीले हाल उक्त औषधि व्यावसायिक रूपमा पहेँलो ‘लेबल’ राखेर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । निःशुल्क रूपमा वितरण गर्न लागिएको औषधि भने गुलाबी रंगको हुने कम्पनीले जनाएको छ । अधिकतम खुद्रा मूल्य (एमआरपी) लेखिने ठाउँमा ‘फ्रि स्याम्पल, नट फर सेल’ लेखिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, रोग लागेको र रोग फैलिन सक्ने यातायात सुविधा भएको क्षेत्रमा यो औषधि प्राप्त गर्न सकिनेछ । त्यसका लागि कम्पनीको वितरकसम्म औषधि पुर्याउने व्यवस्था कम्पनीले गर्नेछ ।
कम्पनीका अनुसार, खरिद गर्न चाहनेका हकमा पनि पहेँलो लेबलमा औषधि उपलब्ध हुनेछ ।
के हो लम्पी स्किन ?
यो रोग मुख्यतया केही प्रजातिका झिंगा, लामखुट्टे र सम्भावित टिक्सजस्ता कीराहरूले टोक्दा सर्ने गर्छ। लम्पी भाइसरका कारण यो रोग लाग्दछ । लम्पी भाइसरको विकसित हुने अवधि ४ देखि १४ दिनको हुन्छ । त्यसैले बिरामी गाईलाई तुरुन्त आइसोलेसनमा राख्नुपर्छ । यसका लागि बिरामी गाईभैँसीलाई छुट्टै बाँध्नुपर्छ ।
मुख्य लक्षणहरू
१. ज्वरो बढ्नु।
२. नाकबाट पानी बग्नु र बढी र्याल काढ्नु ।
३. छालामा ठूला साना फोका देखिनु, जुन दुख्ने खालका हुने ।
४. बिरामीपन ५ देखि ५० प्रतिशतसम्म हुने ।
५. दूध उत्पादन घट्नु ।
६. गर्भाधान भएका पशुहरूमा गर्भपतनसमेत हुनसक्ने ।
८. मृत्युदर ४ देखि १० प्रतिशतसम्म हुने
प्रतिक्रिया