कँडेल मृत्यु प्रकरणका दोषीउपर कारबाही गर्न थप ४ संगठनको माग
काठमाडौं । पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेललाई आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिमाथि कारबाही गर्न दबाब दिनेक्रम जारी छ । यसैक्रममा थप चार संगठनले पनि आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल पोल्ट्री महासंघले कँडेलको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई यस्तो अवस्थामा पुर्याउन भूमिका खेल्ने समूहको पहिचान गरी कारबाही गर्न माग गरेको छ ।
‘आत्महत्या दुरुत्साहनको किटानी जाहेरीसमेत भई निकै संवेदनशील र असमायकित निधनको दुःखद घडीमा अविलम्ब निष्पक्ष सत्य तथ्य छानबिन गरी तीन दशकदेखि नेपाली पोल्ट्री क्षेत्रमा अतुलनीय योगदान पुर्याउने सफल पोल्ट्री उद्यमी, समाजसेवी, सबैका प्यारा, हँसिला, भद्र, शालीन तथा मृदभाषी कँडेललाई जबरजस्ती मृत्युवरण गर्न बाध्य पार्ने समूहको यथाशीघ्र पहिचान गरी दोषीउपर कडाभन्दा कडा कारबाही सम्बिन्धित निकायबाट गराउनका लागि जोडदार माग गर्दर्छौं,’ महासंघका महासचिव दिनेशराज मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघले पोल्ट्री क्षेत्र संकटग्रस्त अवस्थामा गुज्रिरहेका बेला यस्तो घटना भएको जनाउँदै यसले देशको गम्भीर आर्थिक अवस्थाको परिस्थितिजन्य भयावह चित्रण गरेको पनि उल्लेख गरेको छ ।
नेपाल अण्डा उत्पादक संघले बुधबार एक विज्ञप्ति जारी गरेर कँडेललाई आत्महत्या गर्ने अवस्थामा पुर्याउन भूमिका खेल्ने तत्त्वको पहिचान गरी कारबाही गर्न माग गरेको छ । परिवारका सदस्यले केही व्यक्तिविरुद्ध किटानी जाहेरी दिएकाले त्यसमाथि गम्भीरतापूर्वक छानबिन गरेर दोषीउपर कारबाही हुनुपर्ने संघको भनाइ छ ।
मंगलबार मृत अवस्थामा भेटिएका कँडेलको सुसाइड नोटमा आफूलाई यो अवस्थामा पुर्याउन प्रदीप रुंगाटा र जीवन रावलले भूमिका खेलेको उल्लेख गरेका थिए । रुंगाटा विवादास्पद पोल्ट्री व्यवसायी हुन् भने रावल अनमोलका चार्टड एकाउन्टेन्ट । परिवारका सदस्यले दुईविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएपछि छानबिन थालेको प्रहरीले जनाएको छ ।
स्वदेशी पोल्ट्री व्यवसायी तथा अण्डा उत्पादकलाई विस्थापित गरेर विदेशी लगानी भित्राउन षड्यन्त्र गरिएकोतर्फ पनि संघले सचेत गराएको छ ।
‘पोल्ट्री क्षेत्रमा विगत केही वर्षदेखि पोल्ट्री माफियाहरूको चलखेल तथा विदेशी लगानी भित्राउने र स्वदेशी पोल्ट्री व्यवसायी तथा अण्डा उत्पादक कृषक विस्थापित गर्न केही तत्त्वहरूको संलग्नता हुनेतर्फ हामी सबै कुखुरापालक किसान तथा व्यवसायी सचेत हुन जरुरी छ,’ संघका अध्यक्ष शिवराम केसीद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ र नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघले पनि घटनाप्रति आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन् । यी संगठनका अध्यक्षक्रमशः पूर्णचन्द्र सापकोटा र रेवतीरमण निरौला (रोहित) ले संयुक्त विज्ञप्ति जारी गरी आत्महत्या दुरुत्साहनको आरोप लागेका व्यक्तिमाथि छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।
यो घटनाले व्यवसायीको सुरक्षामा गम्भीर प्रश्न खडा गरेकाले आगामी दिनमा असुरक्षाको महसुस हुन नदिन सरकारसमक्ष माग गरेका छन् ।
यसैबीच, कँडेल आत्महत्या प्रकरणको छानबिनमा दबाब दिन शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिएको छ । पोल्ट्री व्यवसायी र किसानहरूले जिल्ला प्रशासन कार्यालय, चितवनअगाडि अहिले बिहान ११ बजेबाट धर्ना दिएका हुन् ।
प्रतिक्रिया