कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी साहलाई
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी ज्वालाकुमारी साहले पाएकी छन् ।
सत्तासाझेदार दलको भागबण्डाअनुसार साहले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।
उनले मंगलबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । लगत्तै उनले मन्त्रालय पुगेर कार्यभारसमेत सम्हालिन् ।
कृषिमन्त्री ज्वालाकुमारी साहले पहिलो निर्णय कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्ध्दन तथा लगानी दशक’ घोषणा गरेकी छन।
को हुन् साह
साह नेकपा एमालेकी सांसद् हुन् । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई झन्डै तीन हजार मतान्तरले पराजित गर्दै साह विजयी बनेकी थिइन् ।
साहको राजनीतिक पृष्ठभूमि भने माओवादी हो । माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षका क्रममा ०५४ देखि संलग्न भएकी उनी उनले विद्यार्थी फाँटबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । यसैको पुरस्कारस्वरूप पहिलो संविधानसभा सदस्यमा मनोनीत साह ०७४ को प्रदेशसभा निर्वाचनमा माओवादीको तर्फबाट बारा क्षेत्र नं. ३ (क) को उम्मेदवार बनेकोमा विजयी बनेकी थिइन् ।
एमाले र माओवादी केन्द्र एक भएर नेकपा बनेपछि सोही पार्टीमा सक्रिय उनी सर्वोच्च अदालतले दुवैलाई पुरानै अवस्थामा फर्काइदिएपछि भने पुरानो घर नफर्की एमालेमै बसेकी थिइन् । अनौठो संयोग के भने आफूले छाडेको दलका अध्यक्ष नेतृत्वकै सरकारको मन्त्रीमा उनी नियुक्त भएकी छन् ।
०३८ कात्तिक ११ गते करैयामाई गाउँपालिका–४ मा जन्मिएकी साहको बसोबास अहिले जीतपुरसिमरा उपमहानगरपालिका १६, पिलुवा, बारामा छ । उनले स्नातकसम्मको अध्ययन गरेकी छन् ।
प्रतिक्रिया