पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन फेरि सर्यो
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको यसअघि तय महाधिवेशन तथा ३१ औं वार्षिक साधारणसभाको मिति पर सरेको छ ।
यसअघि संघले यही पुस १६ र १७ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । दोस्रोपटक त्यसलाई संशोधन गरेर पुस २३ र २४ गरिएकोमा पुनः तेस्रोपटक पनि सारिएको हो । नयाँ कार्यतालिकामा कार्यक्रम हुने स्थानसमेत परिवर्तन गरिएको छ । संघद्वारा जारी सूचना अनुसार महाधिवेशन आगामी माघ ४ र ५ गते भैरहवाको बोधी रेडसन होटलमा हुनेछ ।
संघले उक्त कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरेको छ ।
संघमा देशभरका पशुपन्छी औषधी व्यावसायीहरू गोलबद्ध छन् । अधिवेशनले आगामी कार्यकालको नेतृत्व चुन्ने छ । भूपेन्द्र गौतम नेतृत्वको अहिलेको समिति विराटनगरमा सम्पन्न अधिवेशनबाट चुनिएको थियो । व्यावसायिक संगठन भएता पनि नेतृत्वसँगै अन्य पदमा कडा प्रतिस्पर्धा हुने गरेको छ । यस पटक पनि संघको नेतृत्वमा धेरैले आकांक्षा देखाउने ठानिएको छ ।