एनभीएले म्याराथन आयोजना गर्दै, पुरस्कार १० लाख ५० हजार
काठमाडौं।नेपाल भेटेरिनरी एसोसिएसनले ‘रन फर प्रोटिन हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । यही पुस ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एसोसिएसनले पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
दशरथ रंगशालाबाट सुरु हुने प्रतियोगिता थापाथली, माइतीघर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर , गट्ठाघर, राधे–राधे (भाटभटेनी स्टोर) हुँदै सोही रुट फिर्ता भई दशरथ रंगशालामा आइपुग्नेछ ।
नेपाल दाना उद्योग संघ, नेपाल पशुपंछी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघलगायतका संस्थाको सहयोगमा कार्यक्रम हुन लागेको एसोसिएसनले जनाएको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स एसोसिएसनले मान्यता दिनेछ भने प्राविधिक सहयोग समेत उसैले उपलब्ध गराउनेछ ।
प्रतियोगितामा २ हजार सहभागी हुने आयोजकको प्रक्षेपण छ ।
एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै म्याराथनमा ६ विधा समावेश हुने जनाएको छ । जसमा खुला हाफ म्याराथान, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएकाहरूको लागि ह्विलचियर छन् ।
म्याराथन महिला र पुरुष दुवैका लागि हुनेछ ।
एसोसिएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठका अनुसार, यसबाहेक १०, ५ खुला÷ पुरुष (१२ कक्षासम्म), ३ किलोमिटर महिला (१२ कक्षासम्म) र ह्विलचियर दौड हुनेछ ।
हाफ म्याराथनको महिला तथा पुरुष दुवैतर्फका प्रथम विजेतालाई एक लाख, द्वितीयलाई ७५ हजार रूपैयाँ, तृतीयलाई ५० हजार रूपैयाँ, चौथोलाई ४० हजार र पाँचौँलाई ३० हजार रूपैयाँ पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, १० किलोमिटरका विजेताले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ हात पार्नेछन् । ५ किलोमिटर पुरुषतर्फ र ३ किलोमिटर महिलातर्फको विजेताले समान ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार पाँचौँले ५ हजार पाउनेछन् ।
ह्विलचियरतर्फ प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौंले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।