१० किसान परिवारका लागि जागिर खुल्यो, तलब ३२०००
काठमाडौं । विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारी माग गरेको विज्ञापन दैनिकजसो पत्रपत्रिकालगायत सञ्चारमाध्यममा पढ्न, सुन्न पाइन्छ । कृषिप्रधान देश भए पनि किसानका लागि जागिर खुलेको, विज्ञापन आह्वान भएको विरलै देख्न पाइन्छ । तर कास्कीमा पहिलो पटक १० किसान परिवारका लागि आकर्षक तलबसहितको जागिरका लागि आवेदन आह्वान भएको छ । त्यो पनि समामेशीका आधारमा । तर आवेदन दिने किसान ४५ वर्षमुनिको स्वस्थ हुनुपर्नेछ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–२, भयरचौरमा रहेको बतास एग्रो बहुउद्देश्यीय कृषि परियोजनाले किसानका लागि विज्ञापन आह्वान गरेको हो । कृषि तथा पशुपालनसम्बन्धी फार्म सञ्चालनका लागि जनशक्ति आवश्यक भएकाले किसान पदमा विज्ञापन आह्वान गरेको बतास एग्रोका भक्त कार्कीले जानकारी दिए ।
बतासले ३ गन्धर्व, १÷१ विश्वकर्मा, दर्जी, सार्की, गुरुङ÷मगर, व्राह्मण, क्षेत्री र नेवार परिवारका लागि विज्ञापन आह्वान गरेको हो । १६ लाख ३० हजारको बीमा छानिएका किसानबाट आफ्नो २०० रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा बतासले कृषि तथा पशुपालन कार्य गर्ने योजना बनाएको छ । छनौट भएका किसानले प्रतिपरिवार मासिक ३२ हजार रूपैयाँ पारिश्रमिक पाउनेछन् ।
किसानको जोखिम बहनमा पनि बतासले उत्तिकै ध्यान दिनेछ । १० लाख बराबरको दुर्घटना, ३ लाख बराबरको औषधि उपचार र ३ लाख ३० हजार बराबरको प्राकृतिक म्यादी जीवन बीमा उपलब्ध गराइने बतासले जनाएको छ ।
उपहार नै उपहार
छानिएका किसान परिवारले तलब र बीमा मात्रै होइन अतिरिक्त थप उपहार पनि पाउनेछन् । बतासका अनुसार किसानलाई १ जर्सी गाई, १० जोडी चल्ला, १ भोटे कुकुर, १ बिरालो, २ जोडी हाँस, १० बाख्रा, मौरीका ३ घार, ५ जोडी परेवा, आफ्नो दैनिक तरकारी उत्पादनका लागि १ रोपनी र धान उत्पादनका लागि ३ रोपनी जमिन दिनेछ । त्यसैगरी बेडसेट, डनलप सिरक, सिरानी, तन्दा पर्दा, टीभी, फ्रिज, दराज, टेबल कुर्सीका अतिरिक्त किचनका लागि आवश्यक सामग्री पनि उपलब्ध गराइनेछ ।
यति मात्रै होइन, सञ्चालन अनुमतिपत्र भएकालाई मोटरसाइकल खरिदका लागि ५० प्रतिशत लगानी पनि उसले गरिदिने छ । बाँकी रकम पनि किसानले जुटाउन नसकेमा किस्ताबन्दी सुविधामा उपलब्ध हुनेछ । यसरी कृषि तथा पशुपालनबाट प्राप्त आम्दानीमा पनि बतासले आफूसँग ४० प्रतिशत राखेर बााकी ६० प्रतिशत हिस्सा किसानलाई नै फर्काइदिनेछ ।