ह्याचरी तथा पोल्ट्री फार्म सञ्चालनमा वातावरणीय मापदण्डबारे व्यवसायीलाई प्रशिक्षण

चितवन। नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिको आयोजनामा पोल्ट्री व्यवसायमा वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा कानुनी अनुपालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम चितवनमा सम्पन्न भएको छ।

शुक्रवार आयोजित कार्यक्रम बाग्मती प्रदेश समन्वय समितिका संयोजक ज्ञानबहादुर बिसुरालको सभापतित्व तथा नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वातावरण विज्ञ युवराज ढकालले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा स्वागत गर्दै समितिका संयोजक बिसुरालले पोल्ट्री व्यवसाय सञ्चालनका क्रममा वातावरणीय पक्ष, कानुनी व्यवस्था तथा व्यवसायीले पूरा गर्नुपर्ने दायित्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

प्रशिक्षक ढकालले वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ र व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका, २०७१ मा उल्लेखित कानुनी व्यवस्थाका विषयमा सहभागीलाई जानकारी गराएका थिए। उनले उद्योग तथा व्यवसायसँग सम्बन्धित ऐन, नीति, नियम, निर्देशिका तथा विधेयकका साथै प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गर्दा अपनाउनुपर्ने प्रक्रिया र आवश्यक कागजातबारे प्रशिक्षण दिएका थिए।

त्यसैगरी फोहर व्यवस्थापन, स्वच्छ उत्पादन प्रणाली, फार्मको स्वअनुगमन तथा वातावरणीय अनुपालनलगायतका विषयमा पनि विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष लामिछानेले संघले पोल्ट्री व्यवसायीका समस्या समाधान तथा व्यवसाय सञ्चालनलाई सहज बनाउन गर्दै आएका पहलका विषयमा जानकारी गराए। उनले व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका, २०७१ का प्रावधान कार्यान्वयनका लागि सम्बन्धित विभागबाट प्राप्त निर्देशन, निर्देशिकामा सुधारका लागि भएका पहल तथा व्यवसाय सञ्चालनमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको भूमिकाबारे प्रकाश पारे।

लामिछानेले व्यवसायीलाई आइपर्ने समस्या समाधानका लागि संघले गर्दै आएको समन्वय तथा सहजीकरणका विषयमा समेत जानकारी गराएका थिए।

कार्यक्रममा करिब ३० जना ह्याचरी व्यवसायीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शिवप्रसाद बरालले गरेका थिए।

वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ र व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका, २०७१ मा रहेको व्यवस्थाअनुसार ह्याचरी, प्यारेन्ट फार्म तथा ग्राण्ड प्यारेन्ट फार्मले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी प्रमाणपत्र लिनुपर्ने कानुनी व्यवस्था रहेको संघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *