इन्जिनियरिङ छाडेर पोल्ट्रीमा
कुनै समय मेरो परिचय बेग्लै थियो । म सडक विभागमा इन्जिनियरको रूपमा कार्यरत थिएँ । सरकारी जागिरको आफ्नै सान र सुरक्षा त थियो, तर मनभित्र सधैँ देशमै केही नयाँ र ठूलो उद्यम गर्ने व्यावसायिक छटपटी चलिरहन्थ्यो । जागिरकै सिलसिलामा मेरा एकजना सहकर्मी मित्र, जो डिभिजनल इन्जिनियर (डी.इ.) हुनुहुन्थ्यो, उहाँ र मबीच अक्सर नेपालको कृषि र पोल्ट्री क्षेत्रको सम्भावनाबारे गम्भीर बहस हुन्थ्यो । हामी सोच्थ्यौं– नेपालमा कुखुरापालन त भइरहेको छ, तर मासु प्रशोधन (Slaughtering) र कोल्ड स्टोरेजको क्षेत्र अझै पनि परम्परागत छ । काठमाडौंमा दुगड समूहको एउटा कोल्ड स्टोरेजबाहेक यस क्षेत्रमा व्यवस्थित र आधुनिक काम कसैले गरेको थिएन ।
यही व्यावसायिक सम्भावनालाई पहिल्याउँदै हामी दुवैले एउटा ठूलो आँट ग¥यौं र सरकारी जागिरको सुरक्षित घेराभन्दा बाहिर आएर पूर्णकालीन उद्यमी बन्ने निर्णय ग¥यौं । काठमाडौंको एउटा ठूलो भवन भाडामा लिएर हामीले आधुनिक ‘मिनी स्लटरिङ’ (मासु प्रशोधन केन्द्र) स्थापना ग¥यौं । व्यवसाय सुरु त भयो, तर केही समयमै हामीले एउटा व्यावहारिक संकटको सामना गर्नुप¥यो— बजारमा सोचेको बेला स्वस्थ, गुणस्तरीय र नियमित रूपमा कुखुरा पाउनै मुस्किल भयो । बजारको यही अनिश्चितता र अभावलाई चिर्न हामी आफैं उत्पादनको मैदानमा ओर्लिनुको विकल्प थिएन । अन्ततः आफ्नै स्लटरिङका लागि कुखुराको नियमित आपूर्ति सुनिश्चित गर्न करिब दुई वर्षअघि हामीले काभ्रेको पाँचखालमा एउटा ठूलो र आधुनिक कुखुरा फार्म सञ्चालनमा ल्याएका हौं ।
‘क्लोज सिस्टम’ले दिएको राहत
अहिले देशैभरि बर्डफ्लुुको संक्रमण पुनः फैलिरहेको समाचारले सञ्चारमाध्यमहरू भरिएका छन् । कुखुरापालक किसान र व्यवसायीहरू सम्भावित आर्थिक विनाशको डरले त्रस्त मनोदशामा छन् । तर, अलिकति फरक पृष्ठभूमिबाट यस व्यवसायमा आएका कारण होला, मलाई भने बर्डफ्लुको त्यस्तो मनोवैज्ञानिक त्रास र डर छैन । मेरो यो आत्मविश्वासको पछाडि दुईवटा मुख्य र वैज्ञानिक कारण छन् ।
पहिलो कारण हो– हाम्रो फार्मको भौगोलिक अवस्थिति । पाँचखालको जुन क्षेत्रमा हामीले फार्म बनाएका छौं, त्यसको वरिपरि पाँच–सात किलोमिटरसम्म अरू कसैको पनि कुखुरा फार्म छैन । हाम्रो फार्म नितान्त छुट्टै, एकान्त र टाढा छ, जसले गर्दा हावा वा अन्य माध्यमबाट सजिलै रोग सर्ने प्राकृतिक जोखिम निकै कम छ ।
दोस्रो र सबैभन्दा महत्वपूर्ण कारण– हाम्रो फार्म पूर्ण रूपमा ‘क्लोज सिस्टम’ (नियन्त्रित आधुनिक प्रणाली) मा सञ्चालन हुनु हो । अहिले पाँचखालको फार्ममा हाम्रा चारवटा आधुनिक खोर छन्, जहाँ एकचोटिमा १७ देखि १८ हजार कुखुरा हाल्छौं । यी खोरहरूमा हामीले जैविक सुरक्षाको उच्चतम मापदण्ड अपनाएका छौं । जो व्यक्ति जुन खोरका लागि खटिएको छ, उसले त्यही खोर मात्र हेर्छ, अर्को खोरमा जान पाउँदैन । बाहिरको त कुनै पनि मान्छेलाई फार्मभित्र प्रवेश पूर्ण निषेध छ ।
अचम्म लाग्न सक्छ, हामीले फार्मका प्राविधिक डाक्टरलाई समेत खोरभित्र पठाउँदैनौं । यदि कुखुरामा केही समस्या देखियो भने खोरभित्रको अवस्था, कुखुराको इसारा, फोटो र भिडियो खिचेर डाक्टरलाई बाहिरै ल्याएर देखाइन्छ । उहाँले भिडियो र प्रविधिको सहयोगमा समस्याको पहिचान गरेर बाहिरैबाट औषधि लेखिदिनुहुन्छ । यही कडा अनुशासन र जैविक सुरक्षाकै कारण अहिलेसम्म मेरो फार्ममा बर्डफ्लु वा अन्य कुनै घातक संक्रमणको छायासमेत पर्न पाएको छैन ।
राज्यबाट छैन कुनै सहयोग
हामीले आफ्नो लगानी जोगाउन जैविक सुरक्षा त आफैं अपनायौं । तर राज्यका तर्फबाट पाउने साथ, सहयोग र परामर्शको पाटो भने पूर्ण रूपमा ‘शून्य’ छ । देशमा महामारीको डढेलो लाग्दा स्थानीय तहका प्राविधिक, पशु सेवा विभाग वा सरकारका कुनै पनि प्रतिनिधिहरू फार्ममा आउनु त परको कुरा, ‘तिम्रो फार्मको अवस्था के छ ? के कस्तो सावधानी अपनाएका छौ ?’ भनेर सोधखोजसम्म गर्दैनन् । आज तपाईं पत्रकारले फोन गरेर मेरो दुःख–सुख र बजारको अवस्थाबारे सोध्नुभयो, तर राज्यका तर्फबाट त अहिलेसम्म एउटा फोनसमेत आएको छैन । हामी जस्ता व्यवसायीहरू पूर्ण रूपमा आफ्नै बुता, आफ्नै प्रविधि र भगवान् भरोसामा टिकेका छौं ।
बजेटकै कुरा गर्ने हो भने, सरकारले हरेक वर्ष ठूला–ठूला नारासहित बजेट त ल्याउँछ, तर हामी जस्ता वास्तविक धरातलमा काम गर्ने व्यवसायीलाई लाभ हुने गरी बजेटमा कुनै ठोस व्यवस्था आउँदैन । हामीले आधुनिक खोर (क्लोज हाउस) बनाउन आवश्यक पर्ने कम्प्लिट सामानहरू भारतबाटै आयात गर्छौं । नेपालमा कच्चा पदार्थ ल्याएर यहाँ बनाउनुभन्दा इन्डियाबाटै डाइरेक्ट तयारी सामान किन्दा निकै सुलभ मूल्यमा खोर बन्छ । यसअघि त्यस्ता सामान आयात गर्दा १ प्रतिशत भन्सार दर थियो, जसलाई यो बजेटले पनि निरन्तरता दिई थप सहुलियत देला भन्ने हाम्रो चाहना र माग थियो । तर, बजेटको विवरणमा के आयो, कुन कर बढ्यो वा घट्यो, बुझ्न बाँकी नै छ ।
बजारमा सरकारले कृषि र पोल्ट्री क्षेत्रमा करोडौँ अनुदान बाँडेको हल्ला सुनिन्छ । बैंकको थुप्रै लगानी हाम्रा टाउकामा छ । तर, यो साढे दुई वर्षको अवधिमा मैले राज्यबाट एक रुपैयाँ पनि अनुदान वा कुनै सरकारी प्रोत्साहन पाएको छैन । अनुदान कहाँ, कसले र कुन प्रक्रियाबाट पाउँछन्, त्यो वास्तविक किसानलाई थाहै हुँदैन ।
भारतीय तस्करीः नेपाली पोल्ट्रीको मुख्य चुनौती
इन्जिनियरिङ जस्तो प्रतिष्ठित र सुरक्षित जागिर छाडेर कृषि र पशुपालन उद्यममा लाग्दा मलाई आत्मसन्तुष्टि त मिलेकै छ । काठमाडौंको स्लटरिङ र पाँचखालको फार्म एकापसमा जोडिएकाले हामीले बजारमा स्वस्थ मासु उपलब्ध गराउन सकेका छौं, यसमा म धेरै–थोरै सन्तुष्ट नै छु । तर, नेपाली पोल्ट्री व्यवसायलाई उँभो लाग्न नदिने मुख्य तत्व खुला सिमाना र भारतीय कुखुराको अवैध तस्करी हो ।
जब–जब नेपालमा कुखुराको उत्पादन राम्रो हुन्छ र किसानले उचित मूल्य पाउने आशा गर्छन्, ठीक त्यही बेला सीमापारिबाट अवैध रूपमा सस्तो र गुणस्तरहीन कुखुरा बजारमा भित्रिन्छन् । यसले नेपाली उत्पादनको मूल्य ह्वात्तै गिराउँछ । यदि सरकारले भारतबाट अवैध रूपमा कुखुरा भित्रिने बाटो पूर्ण रूपमा बन्द गरिदिने हो भने मात्रै नेपालको पोल्ट्री व्यवसाय आत्मनिर्भर बन्न सक्छ र सुरक्षित हुन्छ । नत्र, एकातिर बर्डफ्लु जस्ता महामारीको डर, अर्कोतिर भारतीय तस्करीको चक्रव्यूह र त्यसमाथि राज्यको नीतिगत उदासीनता— यी तीनवटा चेपुवाका कारण नेपालमा आफ्नै पसिना बगाएर व्यवसाय टिकाउन निकै अप्ठ्यारो र चुनौतीपूर्ण बनिरहेको छ ।



