पशुपन्छी औषधि व्यवसायी संघको १५औँ राष्ट्रिय महाधिवेशन मंसिरमा
काठमाडौं। नेपाल पशुपन्छी औषधि व्यवसायी संघ को लामो समयदेखि प्रतीक्षामा रहेको केन्द्रीय १५औँ राष्ट्रिय महाधिवेशन तथा ३५औँ वार्षिक साधारण सभा आगामी २०८३ साल मंसिर २५ र २६ गते काठमाडौंमा आयोजना हुने भएको छ। संघले महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अघि बढाएको जनाएको छ।
संघको विधानअनुसार महाधिवेशन २०८२ साल पुसमै सम्पन्न हुनुपर्ने भए पनि करिब एक वर्ष ढिलो हुन लागेपछि व्यवसायी वृत्तमा वर्तमान नेतृत्वप्रति असन्तुष्टि बढेको थियो। संघका केही पूर्वअध्यक्ष तथा वरिष्ठ व्यवसायीहरूले समयमै महाधिवेशन हुन नसक्दा संस्थाको वैधानिकता तथा संस्थागत विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने चेतावनी दिँदै तत्काल नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका थिए।
चौतर्फी दबाब र आलोचनाबीच संघका अध्यक्ष रितेश रिमाल ले सदस्यता अद्यावधिक प्रक्रिया, देशव्यापी रूपमा देखिएको जेनेजी आन्दोलन तथा अन्य प्राविधिक कारणका कारण निर्धारित समयमा महाधिवेशन आयोजना गर्न नसकिएको स्पष्ट पारे। उनका अनुसार हाल सबै आवश्यक प्रक्रिया पूरा भइसकेकाले विधानसम्मत ढंगले महाधिवेशन आयोजना गर्न लागिएको हो।
पशुपन्छी औषधि व्यवसायीहरूको राष्ट्रिय छाता संगठनका रूपमा स्थापित यस संघमा हाल देशभरका करिब १,८०० व्यवसायी आबद्ध छन्। दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनलाई भव्य र सफल बनाउन संघले सम्पूर्ण सदस्य, प्रतिनिधि तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
यस महाधिवेशनबाट संघको आगामी नीति, कार्यक्रम तथा व्यावसायिक एजेन्डा तय गर्नुका साथै आगामी कार्यकालका लागि नयाँ केन्द्रीय नेतृत्व चयन गरिनेछ। त्यसैले लामो समयपछि हुन लागेको यो महाधिवेशनलाई देशभरका पशुपन्छी औषधि व्यवसायीहरूले विशेष चासोका साथ हेरेका छन्।
यसैबीच, नेपाल पशुपन्छी औषधि व्यवसायी संघको बागमती जिल्ला शाखाले आगामी साउन ८ गते काठमाडौंको स्वयम्भूस्थित क्वालिटी प्यालेसमा आयोजना हुने दोस्रो जिल्ला अधिवेशनका अवसरमा सञ्चारमाध्यमलाई औपचारिक रूपमा आमन्त्रण गरेको छ। शाखाका सचिव शरणकुमार खनाल द्वारा जारी पत्रमा कार्यक्रमको सूचना सम्प्रेषणका साथै कार्यक्रमको गरिमा बढाइदिन सञ्चारकर्मी तथा सञ्चार संस्थाहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
