‘व्यावसायीकरण नहुँदा भैंसीबाट लाभ लिन सकेनौं’
किसानले राम्रो आयआर्जन गर्न सक्ने पशुमा गनिन्छ, भैंसी । भैंसीको उत्पादनशीलता कति धेरै छ भने यसले दिनमै दुई पटक आम्दानी दिन्छ । भैंसीजन्य कुनै पनि त्यस्ता वस्तु छैनन् जुन उपयोगिताहीन होस् । नेपाली किसानले पनि भैंसीपालनबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना रहेको जानकारहरू बताउँछन् । किसानहरूको जीवन पद्धतिको अभिन्न अंगजस्तै बनेको भैंसीलाई कतिपयले नेपालको कालो धन पनि भन्ने गरेका छन् ।
कालो धन मानिएको भैंसीबाट के नेपाल र यहाँका किसानले प्रचुर मात्रामा लाभ लिन सकेका छन् ? भैंसीबाट हुने उत्पादन र उत्पादकत्व बढाउन राज्यले यसमा ध्यान दिन सकेको छ त ? सरकारले के ग¥यो भने नेपाली किसानले भैंसीबाट अझै बढी फाइदा लिन सक्छन् ? पशु सेवा विभागका पूर्वमहानिर्देशक समेत रहेका डा. विमल कुमार निर्मलसँग हामीले यिनै प्रश्नहरूको पेरिफेरीमा रहेर संवाद गरेका छौं । प्रस्तुत छ, उक्त संवादको सम्पादित उतार ः
तपाईंले केही वर्षअघि भैंसी कालो सुन भएको बताउनुभएको थियो । खासमा भैंसी कसरी कालो सुन हो ?
कृषि उत्पादनमा दूधको योगदान सबैभन्दा बढी छ । देशमा उत्पादित कुल दूधको ६० प्रतिशत स्रोत भैंसी नै हो । दूधमा मात्र होइन, मासुमा पनि यसको अहं योगदान रहँदै आएको छ । कुनै बेला मासुमा सबैभन्दा बढी योगदान भैंसीकै थियो । यद्यपि, अहिले उपभोक्ताको रोजाइ बदलिएकाले भैंसीभन्दा कुखुरा बढी खपत हुने गरेको छ । यसको अर्थ भैंसीको मासुको महत्व घटेको भन्ने चाहिँ होइन । कुखुराका कारण थोरै खस्किएको मात्र हो ।
भैंसीको मासुको माग स्वदेशभित्र मात्र नभएर बाहिर पनि उत्तिकै छ । छिमेकी मुलुक चीनले नेपालमा उत्पादन हुने भैंसीको मासु खरिद गर्ने बचनबद्धता जनाइसकेको छ । चीनसँगको यो सम्झौता कार्यान्वयनमा जाने हो भने भैंसीपालन सम्भावनाको ठूलो द्वार खुल्नेछ ।
भैंसी यस्तो जनावर हो, जसको काम नलाग्ने चिज केही पनि हुँदैन । छालादेखि हड्डीसम्म र सिङदेखि मलसम्म सबै प्रयोगमा आउँछन् । यहाँको भैंसीको छालाको माग त जर्मनी र अमेरिकाबाट समेत आउने गरेका छन् । यी देशहरूले पूर्वी नेपालतिर खुलेका केही छाला उद्योगसँग पहिले नै छाला उपलब्ध गराइदिन अनुरोध गर्ने गरेका छन् । त्यस्तै, तराई तथा मधेसमा जमिन जोत्ने, सामान ढुवानी गर्ने लगायत कार्यमा पनि राँगाभैंसी प्रयोग गर्ने गरिएको छ । बहुउपयोगी हुनुका साथै किसानको जीवनस्तर उकास्ने कार्यमा सघाउने भएकाले भैंसीलाई कालो सुन भनिएको हो ।
कालो सुनबाट नेपाल र यहाँका जनताले प्रचुर मात्रामा लाभ लिन सकेका छन् त ?
नेपालको हिमाली क्षेत्रमा भैंसी पालन सम्भव नभए पनि पहाड र तराईका किसानले यसलाई लामो समयदेखि पाल्दै आइरहनुभएको छ । पहाड र तराईका किसानको घरमा कम्तीमा एउटा भैंसी रहने गरेका छन् । भैंसीलाई कालो सुन भनिए पनि यसमाथि अनुसन्धान भने कमै मात्रामा भएको पाइन्छ । अमेरिका, भारत, चीनगायत मुलुकहरूको अनुसन्धान गाईमा बढी केन्द्रित हुने गरेको छ । वैज्ञानिक खोज तथा अनुसन्धान गाईमा बढी भएकाले भैंसीहरू गाईको तुलनामा उत्पादनशील हुन सकेका छैनन् । नेपालमा पालिएका जर्सी र हलिस्टिन जातका प्रति गाईले पनि दैनिक सरदर ३० लिटरसम्म दूध दिन्छन् । तर प्रति भैंसीले दैनिक पुग नपुग त्यस्तै १० देखि १५ लिटर दूध दिन्छन् । त्यसैले उत्पादनका हिसाबले हामीले भैंसीबाट सकिने जति लाभ लिन सकेका छैनौं ।
भैंसीपालनबाट पशुपालक कृषक प्रचुर मात्रामा लाभान्वित हुन नसक्नुका कारण के–के होलान् ?
भैंसीको उत्पादनशीलता बढाउन चार–पाँच वटा कुरामा ध्यान दिनुपर्ने हुन्छ । पहिलो त, यसको नश्ल सुधार नै हो । हामीसँग अहिले उपलब्ध भैंसीकै नश्ल सुधारेर प्रति भैंसी दैनिक सरदर १० देखि १५ लिटर दूध उत्पादन गर्न सकिन्छ । दूधसँगै मासु उत्पादन गरेर पनि भैंसीबाट लाभ लिन सकिन्छ । यसका लागि अर्ना जातका भैंसी बढी उपयोगी हुने देखिन्छ । यसमाथि अनुसन्धान गर्ने र त्यसको निचोडका आधारमा व्यावसायिक पालन अघि बढाउने हो भने यसबाट राम्रो आर्थिक लाभ हासिल गर्न सकिन्छ ।
पशुबाट लाभ हासिल गर्न पहिले त उनीहरूको स्वास्थ्य जोगाउनु पर्छ । यही आयामबाट ‘भ्याक्सिन फर अल’ (सबैका लागि खोप) भन्ने गरिएको हो । मानिसलाई खोप निःशुल्क उपलब्ध गराइएको भए पनि पशुको हकमा खोपको प्रबन्ध हुन सकेको छैन । यदि पशुबाट किसान र देशलाई लाभान्वित गर्ने हो भने राज्यले पशुमा लाग्ने मुख्य रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु पर्छ ।
भैंसीपालनको अर्को महत्वपूर्ण पिलर आहारा हो । आहारामा जति ध्यान दिन सकियो, त्यति नै उत्पादकत्व वृद्धि हुन्छ । तर तराई क्षेत्रमा आहाराको महत्वपूर्ण स्रोत मानिने चरनकै चरम अभाव छ । खेत धेरै हुने भएकाले भैंसीका लागि आवश्यक पर्ने घाँस यहाँ उपलब्ध हुन सक्दैन । आहारा र चरनमा ध्यान दिन सकियो भने भैंसीबाट अझ बढी लाभ लिन सकिन्छ जस्तो लाग्छ ।
नेपालमा अहिले करिब ५५ लाख भैंसी छन् । तर दूधका लागि पालिएका भैंसीहरू बजारमा जाने गरेका छन् । अर्थात् मासुका लागि काटिने गरेका छन् । दूधका लागि पालिएका भैंसी यसरी मासुका लागि बजारमा पुग्दा देशमा ठूलो समस्या पर्छ । अझ साना किसानलाई त यसले असाध्यै नराम्रो गर्छ । मासुका लागि भैंसी पाल्न सिन्धुलीमा चिनियाँले स्लटर हाउस निर्माण गरेका छन् । तर त्यो काम अगाडि बढ्न सकेको अवस्था छैन ।
नेपालका किसानहरूले व्यावसायिक ढंगले २०० देखि ३०० को संख्यामा भैंसीपालन गर्न नसक्ने होइन । तर हामी भैंसीपालनको सन्दर्भमा व्यावसायीक हुनै सकेका छैनौं । अन्य देशमा ठूलो स्केलमा भैंसीपालन भइरहे पनि हामीले त्यसको सिको गरेनौं । सँगै यसको अर्को के पाटो पनि छ भने यसमा सरकार पक्षबाट पनि प्रोत्साहन भएन ।
दूधजन्य वस्तुको निर्यात नीति र भैंसीपालन अनुदान अवस्था कस्तो पाउनु हुन्छ ?
अहिले छुर्पी नै वार्षिक ६–७ अर्बको निर्यात हुने गरेको छ । भैंसीको घिउ पनि विदेश जाने गरेको छ । एकचोटि त हामीले नेपालको भैंसीको घिउ जापान पठाएका थियौं । भैंसीजन्य वस्तु निर्यातयोग्य हुन्, त्यसैले यसमा सरकारले विशेष प्याकेज दिनुपर्छ । अनुदानमा पनि हेर्नुभयो भने भैंसीसम्बन्धी बढी अनुदान नै छैन । अर्को, भैंसीपालनका लागि आवश्यक ज्ञान, सीप किसानलाई दिन जरुरी छ । सामान्यतया हाम्रोमा व्यवसाय सुरु गरिसकेपछि बल्ल तालिम लिन आउने प्रचलन छ । यसरी हुँदैन । अब भैंसीपालन व्यवसाय सुरु गर्नुभन्दा पहिले तालिम दिनुपर्छ । तालिम पनि पशु सेवा विभागबाट दिइने ५–७ दिनकोले हुँदैन । भैंसपालन गर्न चाहने किसानलाई कम्तीमा १५ दिनदेखि १ महिनाको तालिम दिनुपर्छ । मलाई लाग्छ उल्लिखित कुराहरूमा ध्यान दिइयो भने भैंसी सधैं हाम्रो कालो सुन रहने छ ।
उपचारको पाटोमा पनि त्यति ध्यान नपुगेको गुनासो सुनिन्छ नि ?
मैले अघि नै भनेँ नि भ्याक्सिन फर अलको नीति अनिवार्य लागू हुनुपर्छ । यदि मुख्य रोगको खोप निःशुल्क किसानलाई उपलब्ध गराउने हो भने ठूला–ठूला रोगहरूको महामारी आउन पाउँदैन । अर्को, भैंसीहरूमा थारो अवधि बढी रहने गरेको पाइन्छ । ब्याएको डेडदेखि दुई वर्षसम्म भैंसी नब्याएको पाइन्छ । यसरी लामो समयसम्म भैंसी थारै बस्दा किसानले त्यसलाई त्यत्तिकै खुवाएर पाल्नु पर्छ । सरकार या विभागले भन्दा पनि विश्वविद्यालय, कृषि अनुसन्धान परिषद्ले यसलाई छोट्याउनेतिर आफ्ना खोज तथा अनुसन्धान केन्द्रित गर्नुपर्छ जस्तो मलाई लाग्छ । हुन त, नार्कले भैंसीकै लागि भनेर तरहरामै अनुसन्धान केन्द्र सुरु गरेको छ । तर मैले त्यहाँ त्यस्तो धेरै कार्यक्रम देखेको छैन । अतः पशु सेवा विभाग, कृषिसम्बन्धी विश्वविद्यालय र कृषि अनुसन्धान परिषद् मिलेर भैंसीपालनमा देखिएका समस्यामाथि रिसर्च गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ ।
दूधको बजारीकरणमा पनि गम्भीर समस्या देखिन्छन् । पहिलो त, उत्पादित दूध नै नबिक्ने र अर्को सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले नै कृषकको भुक्तानी नदिएको पाइन्छ । यसबारे यहाँको भनाइ के छ ?
यो ज्यादै जीर्ण र क्रोनिक टाइपको समस्या हो । मेरो विचारमा दूधको भुक्तानीको समस्या पैसाका कारणले नभएर व्यवस्थापनका कारण भएको हो । अहिले त सरकारी मात्र होइन, निजी क्षेत्रका डेरी उद्योगले पनि किसानबाट किनेको दूधको भुक्तानी दिन छाडेको अवस्था छ । सरकारले त किसानको रकम भुक्तानी गर्दैन भने हामी किन गर्ने भन्ने पनि परेको होला । यसबाट किसान मात्र नभएर पशु पनि मारमा परेका छन् । किनभने, दूधबाट गरेको आम्दानीको ५० प्रतिशत त पशुवस्तुको आहारामा खर्च हुन्छ । आफू व्यापार गर्ने, त्यसैबाट तलब खाने, दशैं भत्ता पनि लिने तर किसानको भुक्तानी भने नदिने कुरा शोभनीय हुँदैन । यसमा सुधार हुनुपर्छ । कठोर व्यवस्थापन विधि अवलम्बन गरियो भने यसलाई जरुर सुधार गर्न सकिन्छ ।


