सोचेअनुसार काम भए डिसेम्बरबाट मासु निर्यात गर्छौं

लगानीका लागि वित्तीय संस्थासँग कुरा गर्दै छौं

नेपालको निजी कम्पनी हिमालयन फूड इन्टरनेशनल प्रालिले चिनियाँ बजारलाई पक्डँदै राँगाभैंसीको मासु चीन निर्यात गर्ने तयारीलाई तीव्र पारेको छ । निजी कम्पनीले गरेको यो प्रयासले आकार लिएमा पशुपन्छीपालन क्षेत्रको सम्भावनाको ठूलो द्वार खोलिनेछ ।
हिमालयन फूड इन्सटरनेशनल प्रालिका अध्यक्ष डा. नवीन शर्मा आमनेपाली पशुपन्छीपालक कृषक लाभान्वित हुनेगरी मासु निर्यात गृहकार्य अघि बढाइएको बताउँछन् । डा. शर्माका अनुसार, आगामी डिसेम्बरबाट चीनमा मासु निर्यात गर्ने गरी फार्म, मासु प्रशोधन केन्द्र निर्माणलगायतका काम भइरहेका छन् ।
डा. शर्मासँग फार्म तथा मासु प्रशोधन केन्द्र निर्माण अवस्था, सरकारी सहयोग, किसानको सहभागितालगायत विषयमा केन्द्रित रहेर भेट टाइम्स मासिक प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश :

हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेड (प्रालि) र चीनको सांघाई जियान फूड प्रालिबीच नेपालबाट चीनमा राँगाभैंसीको मासु निर्यात गर्ने सम्झौता भएको थियो । यो सम्झौता कार्यान्वयन अहिले कुन चरणमा पुगेको छ ?

सिन्धुलीको मरिण गाउँपालिकामा हामीले अहिले मासु प्रशोधन कारखाना निर्माणको काम गरिरहेका छौं । यो कार्यलाई आगामी १५ सेप्टेम्बरसम्म सक्ने र आगामी १५ नोभेम्बरमा चिनियाँ टोलीलाई त्यसको निरीक्षणका लागि बोलाउने हाम्रो योजना छ ।

आगामी १५ नोभेम्बरमा चिनियाँ टोली आउनु एक महिना अगावै निर्माण कार्य सम्पन्न गर्नुपर्ने दबाबमा हुनुहुँदो रहेछ । अबको चार महिनामा निर्माण कार्य सम्पन्न होला त ?

सेप्टेम्बर १५ आइपुग्न अब चार महिना बाँकी छ । समय कम भएकाले त्यो बेलासम्म सक्न हामीलाई सकस परिरहेको छ । यद्यपि, हामी निर्धारित समयमा नै काम सम्पन्न गर्ने गरी अघि बढिरहेका छौं ।

मासु निर्यातका लागि चिनियाँ पक्षसँग सम्झौता भएको नै १६ महिना पुगिसकेको छ । यसको कार्यान्वयन चाहिँ कहिलेबाट हुन्छ त ?

सबैभन्दा पहिले चिनियाँ पक्षबाट हामीले निर्माण गरेको मासु प्रशोधन कारखानाको निरीक्षण हुनेछ । चिनियाँ पक्षबाट ‘इन्स्पेक्सन’ पास भयो भने बल्ल आगामी डिसेम्बरबाट मासु निर्यात हुनेछ ।

आगामी डिसेम्बरबाट मासु पठाउन सुरु गर्ने भन्नुभयो । राँगाभैंसीको पालन सुरु भइसकेको हो र ?

अहिले हामीले आफ्नो आन्तरिक फार्मको मात्र तयारी गरिरहेका छौं । सर्टिफिकेट दिएपछि मात्र बल्ल राँगाभैंसी पालन सुरु गर्न मिल्छ भनेकाले त्यो काम अघि बढ्न सकेको छैन ।

यसका लागि प्रशासनिकलगायतका अन्य प्रक्रियाहरू पनि पूरा गर्नुपर्ने होला । त्यो काम सम्पन्न भइसक्यो कि बाँकी छ ?

खोरेत रोगमुक्त रहेको कागज अस्ति भर्खर नेपाल सरकारबाट चीन पुगेको छ । रोगबारेको प्रमाणपत्र चीन पुगिसकेकाले आगामी जून महिनामा कम्पनी दर्ताको काम सकिनेछ । कम्पनी दर्ताको काम सकिएपछि बल्ल मासु निर्यातको औपचारिक प्रक्रिया पूरा हुनेछ ।

राँगाभैंसी कतिको स्केलमा पाल्ने यहाँहरूको तयारी छ ?

यसमा चाहिँ समस्या छ । सम्झौतामा हामीले दैनिक पाँच हजार राँगाभैंसी पठाउने भनेका छौं । यसका लागि हामीले ठूलो संख्यामा राँगाभैंसी पाल्नुपर्ने हुन्छ । तर भइदियो के भने कारखाना निर्माणकै क्रममा हामीले सोचेभन्दा निकै बढी रकम खर्च हुन पुग्यो । सम्झौताअनुसार राँगाभैंसी पठाउँदा वार्षिक २० लाख वटा आवश्यक पर्छ । आवश्यक राँगाभैंसी पालन गर्न कम्पनीको आफ्नो लगानी अपुग हुन भएकाले
थप लगानी जुटाउन वित्तीय संस्थाहरूसँग कुराकानी गर्ने सोच बनाएका छौं ।

तपाईंहरूको फार्म एकै ठाउँमा हुन्छ कि फरक–फरक स्थानमा खोल्ने तयारी छ ?

हाम्रो फार्म तीन–चार ठाउँमा हुनेछ । मरिण, हरिहरपुरगढीलगायत खोरेतमुक्त घोषणा गरिएका चार पालिकामा केही फार्म हुनेछन् । अरू फार्मचाहिँ अन्यत्र जुनसुकै ठाउँमा भए पनि हुन्छ । किनभने राँगाभैंसी देशका जुनसुकै भागमा पाले पनि अन्तिममा चार वटा पालिकामा ल्याए हुन्छ ।

चीनमा निर्यात हुने सबै तयारी मासु तपाईंहरूको फार्ममै पालिएका राँगाभैंसीको मात्र हुन्छ कि अरू पनि सहभागी हुन्छन् ?

चीनमा निर्यात गर्ने मासुका लागि हाम्रो फार्मभन्दा बाहिर राँगाभैंसी पालन गर्न सकिन्छ । तर त्यस्ता राँगाभैंसी मासुका उपभोग गर्नुभन्दा एक महिना अगाडि क्वारेन्टाइनका लागि हाम्रा फार्महरूमा अनिवार्य राख्नु पर्नेछ ।

भनेपछि चीनमा मासु निर्यात गर्ने यो तपाईंहरूको योजनामा त किसान पनि सहभागी भएर लाभान्वित हुन सक्ने रहेछ होइन त ?

हो । यो अभियानमा सबै नेपाली सामेल हुन सक्नु हुनेछ । किसान वर्गले नेपालभित्र जहाँ फार्म खडा गरेर राँगाभैंसी पाल्दा पनि हुन्छ । देशका विभिन्न भागमा त्यसरी पालिएका राँगाभैंसी हाम्रो कम्पनीले खरिद गर्छ । किनभने, अहिले रोगमुक्त घोषणा गरिएका चार पालिकामा पशुवस्तु पालेर मात्र सम्झौता गरिएअनुसारको राँगाभैंसी निर्यात गर्न सकिने अवस्था छैन । यसको अर्थ बाहिर पालेका राँगाभैंसीको मासु त्यत्तिकै बाहिर पठाउने भने होइन । त्यसरी ल्याइएका राँगाभैंसी अन्तिम एक महिना भने हामीले अब्जरभेसनका लागि आफ्नो क्वारेन्टाइनमा राख्ने छौं । त्यहाँ त्यस्ता राँगाभैंसीमा कुनै रोग भए÷नभएको, मासुका लागि स्वच्छ भए÷नभएको हेरिनेछ ।

चीनमा मासु प्रयोजनका लागि राँगाभैंसी नै पठाउने हो कि तयारी मासु पठाउने हो ?

विभिन्न किसिमका रोगहरूका कारण हामीले जिउँदो राँगाभैंसी चीन पठाउन सक्दैनौं । राँगाभैंसी काटेर, त्यसलाई ७० डिग्री तापक्रममा तयाएर तयारी मासु चीन पठाउने हाम्रो योजना छ ।

व्यापार व्यवसायको कुरा गर्दा मूल्यको विषय महत्वपूर्ण हुन्छ । चीनमा मासु बिक्री गर्दा हामीले पाउने मूल्य कति होला ?

एउटा त, आर्थिक कारोबारमा चिनियाँहरू अलि टाइट नै हुन्छन् । अर्को, मासुको मूल्य कति हुने भन्ने कुरा अन्तर्राष्ट्रिय बजारमा निर्भर हुन्छ । पछिल्लो तीन–चार महिनाको अन्तर्राष्ट्रिय बजारलाई नियाल्ने हो भने राँगाभैंसीको मासुको मूल्य वृद्धि भएको छ । यही कारण चीनमा मासुको मूल्य करिब २५ प्रतिशतले वृद्धि भएको छ । त्यसैले नेपालबाट निर्यात गरिने मासुले राम्रै मूल्य पाउला भन्ने लागेको छ । यद्यपि, मासुको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर हुने भएकाले यसमा तलमाथि भने भइरहने छ ।

यस्ता सम्झौता प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारको पनि ठूलो हात हुन्छ । तपाईंहरूले सरकारसँग के अपेक्षा राख्नुभएको छ ?

नेपालमा पशुपन्छीजन्य विभिन्न रोगहरूको जोखिम रहेको छ । त्यसैले सरकारले यस्ता रोगहरूको नियन्त्रण गरेर रोगमुक्त क्षेत्र घोषणा गरोस् भन्ने हाम्रो अपेक्षा छ । रोग नियन्त्रणको प्रभावकारी विधि खोप भएकाले यो काम सरकारबाट हुनुपर्छ । त्यस्तै, नाकाबाट हुने पशुवस्तुको मुभमेन्टबाट संक्रमण फैलने खतरा रहेकाले यसलाई पनि सरकारले नियन्त्रण गर्नुपर्छ । यसबाहेक उहाँहरूले मासुको गुणस्तरको प्रुफ हामीले दिनसक्छौं भनेर विश्वस्त पार्नुपर्छ । भेटेरिनरी टिमलाई परिचालन गर्नेलगायत अन्य काम पनि सरकारकै जिम्मेवारीमा रहन्छ ।

यी काम सरकारले गरेको छ त ?

रोगमुक्त क्षेत्र घोषणा गर्नका लागि कामै गरेको छैन भन्न मिल्दैन । यसमा केही कामहरू भइरहेका छन् । अहिलेको सरकार यी काममा अलि प्रतिबद्धजस्तो देखिन्छ । अबको केही वर्षभित्र नेपाललाई खोरेतमुक्त क्षेत्र बनाउन सरकारले पहल गर्दैछ ।

भनेपछि यो सम्झौता कार्यान्वयनमा जाँदा त फाइदै फाइदा पो रहेछ ?

एकदम सही भन्नुभयो । यो सम्झौता फुल स्केलमा कार्यान्वयनमा जाँदा नेपालबाट वार्षिक दुई खर्ब बराबरको मासु निर्यात हुनेछ । तर यसका लागि सबैको सहयोग भने अपरिहार्य हुनेछ ।

कस्तो सहयोग ?

यसका लागि विभिन्न पक्षबाट फरक–फरक किसिमका सहयोग अपेक्षा गरिएको छ । मासु निर्यातमा खोरेत रोग मुख्य चुनौतीका रूपमा देखिएकाले सरकारले विशेष पहल गरेर यसको निवारण गर्नुपर्छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले पनि राँगाभैंसी पालनका लागि सहुलियत ब्याजदरमा किसानलाई ऋण उपलब्ध गराउनु पर्छ । किसानले पनि फार्म स्थापना गरेर स्वस्थ, स्वच्छ राँगाभैंसी उत्पादनमा ध्यान दिनुपर्छ । सारमा भन्नुपर्दा यो कामका लागि हामीलाई सबैले सहयोग आवश्यक छ । यी सबै काम हामीले मिलेर ग¥यौं भने देश र जनता सबै लाभान्वित हुने अवस्था बन्नेछ ।

यो अभियानमा किसान कसरी जोडिन सक्छन् ? बताइदिनुहोस् न ।

यसबारे किसान वर्गलाई जानकारी दिन हामीले बफिङ भन्ने संस्था स्थापना गरेका छौं । यसले किसान वर्गलाई हामीसँग जोड्ने काम गर्दै जानेछ । तर चिनियाँ पक्षले यो कामका लागि गर्ने लगानीबारे स्पष्ट नभएकाले यसको कार्यान्वयन चिनियाँ पक्षसँग बढी निर्भर हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *