सुनसरीमा देखियो बर्ड फ्लु, ढुवानी तथा बिक्री–वितरणमा कडाइ

काठमाडौं । पशु सेवा विभागले कोशी प्रदेशको सुनसरी जिल्ला, कोशी गाउँपालिका वडा नं. ६, कुम्याहीस्थित एक फार्ममा पालेका हाँस, लोकल कुखुरामा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि भएको जनाएको छ।
पशु सेवा विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन ५ गते राष्ट्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पि.सि.आर. विधिबाट परीक्षण गर्दा उक्त भाइरस पुष्टि भएको जनाएको हो। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार रोगको थप संक्रमण रोक्न प्रभावित क्षेत्रका सम्पूर्ण पन्छी, अण्डा, दाना तथा अन्य सामग्री वैज्ञानिक विधिबाट नष्ट गरिएको छ।
दाहालका अनुसार उक्त क्षेत्रमा ४४३ गोटा हाँस, २ गोटा लोकल कुखुरा, २ गोटा परेवा, १० किलो दाना र २० बोरा सुली नष्ट गरिएको छ।
विभागले रोगको सघन निगरानीका लागि सक्रियतापूर्वक सहयोग गर्ने कृषक व्यवसायी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, निजामती कर्मचारी, सञ्चारकर्मी लगायत सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ।
साथै, रोग नियन्त्रणका लागि निम्न उपायहरू अवलम्बन गर्न अनुरोध गरिएको छ।
– फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अपनाउने।
– पन्छीपालक कृषकहरूले फार्म परिसर नियमित रूपमा निःसंक्रमण गर्ने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने।
– घरपालुवा पन्छीलाई जंगली पन्छीसँग सम्पर्कमा आउन नदिन खुला रूपमा गरिने पन्छीपालनलाई निरुत्साहित गर्ने।
– बिक्री वितरणका लागि बजार लगिएका पन्छीहरू फिर्ता ल्याउनुपर्ने भएमा अन्य बथानसँग नमिसाई कम्तिमा १४ दिन अलग्गै राख्ने।
– पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने।
– कुनै पनि फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा निकायलाई जानकारी गराउने।
विभागले उक्त क्षेत्रका सबै सरोकारवालालाई सचेत रहन र रोग नियन्त्रणका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ।
हेर्नुहोस प्रेस विज्ञप्ति