ग्रुप अफ सेभेन सिजले मनायो ३०औं वार्षिकोत्सव

काठमाडौं । भेटेरिनरी क्षेत्रमा ३० वर्षदेखि सेवारत रहेको ग्रुप अफ सेभेन सिजले आफ्नो ३०औं वार्षिकोत्सव मनाएको छ। संघीय राजधानी काठमाडौंको न्युरोडमा आइतबार एक कार्यक्रम आयोजना गरी ग्रुप अफ सेभेनले आफ्नो वार्षिकोत्सव मनाएको हो।

ग्रुप अफ सेभेन सिज भन्दा २ वर्ष अगाडि स्थापना भएको पोल भेट ड्रग हाउस नेपालकै सर्वोत्कृष्ट स्टककिष्टहरूमा एक नम्बर बनेको उल्लेख गर्दै यसकै सफलताले सेभेन सिज जन्मिएको कुरा ग्रुपका अध्यक्ष डा. हर्षरत्न शाक्यले स्मरण गरे। आफ्ना बुबा आसाराम शाक्यले सेभेन सिजको शुभारम्भ गरेको सम्झँदै उनले स्थापनाकालको २–३ महिना कुनै पनि कम्पनी नभएकोले काम नभएर बेरोजगार बस्नुपरेको भए पनि आफ्नो लक्ष्यमा दृढतापूर्वक अघि बढेको बताए।

सहयात्रीको रूपमा कृष्णभक्त श्रेष्ठसँग मिलेर कम्पनीलाई अघि बढाउँदै संघर्ष र चुनौतीका विभिन्न घुम्ती र मोड पार गरेर सेभेन सिजलाई अहिलेको अवस्थामा ल्याएको उनले सम्झिए। आफ्नो टिमको विकास नभएसम्म कम्पनी माथि उठ्न नसक्ने निष्कर्ष सुनाउँदै उनले सँगै काम गरेका कतिपय सहकर्मीले व्यावसायिक यात्रामा हासिल गरेको सफलतामा प्रसन्नता प्रकट गरे।

उनले आफू पैसाको पछि कहिल्यै नलागेको उल्लेख गर्दै निरन्तरको प्रयास, धैर्यता र लगनशीलताले सफलता मिल्ने अनुभव साझा गरे। सात पटक मृत्युको नजिक पुगेर बाँच्न सफल उनले आफ्ना यी अनुभवलगायतको आत्मानुभूति समेटेर बायोग्राफी प्रकाशन गर्ने सोच बनाएको घोषणा पनि उक्त अवसरमा गरे।

आफ्नो कम्पनीले विगतमा भोगेका चुनौती र संघर्षलाई रोचक ढंगले सुनाउँदै उनले भावी योजनाबारे पनि संक्षेपमा जानकारी दिए। कार्यक्रममा ग्रुप अफ सेभेन सिजका प्रबन्ध निर्देशक सिला शाक्य, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख डा. नवीन घिमिरे, ग्रुप अफ सेभेन सिजमा आवद्ध कम्पनीहरु भिरब्याक, मेनकाइन, इन्डियन हव्सका प्रतिनिधिहरु साथै भेटेरिनरी क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

३०औं वार्षिकोत्सवको अवसरमा ग्रुप अफ सेभेन सिजले सन्ध्याकालीन सांगितिक कार्यक्रम समेत आयोजना गरेको थियो। कार्यक्रममा ग्रुप अफ सेभेन सिजका अध्यक्ष एवं गायक डा. हर्षरत्न शाक्यको गायनबाट उपस्थित दर्शकहरुले मनोरञ्जन लिएका थिए। भेटेरिनरी क्षेत्रलाई फोकस गरेर सन् १९९४ मा स्थापित सेभेन सिज पछिल्लो ३० वर्षदेखि लगातार क्रियाशील छ। सेभेन सिजले विभिन्न कम्पनीमार्फत सेवाग्राहीलाई भेटेरिनरी सम्बन्धी वस्तु तथा सेवा प्रदान गर्दै आइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *