दानाको मूल्य प्रतिकेजी २ रुपैयाँ घटाउन दाना उद्योग संघको आह्वान
काठमाडौं । दाना उद्योग संघले कुखुराको दानाको मूल्य प्रतिकेजी २ रुपैयाँका दरले घटाउन दाना उद्योगीहरुलाई आह्वान गरेको छ । फागुन १८ गतेदेखि लागु हुनेगरी कुखुरालाई खुवाउने सबै किसिमका दानामा मूल्य घटाउन आह्वान गरिएको दाना उद्योग संघका महासचिव केशव थापाले बताए ।
‘पछिल्लो समय दानाको उत्पादन घटेपछि कच्चा पदार्थको मकैको समेत मूल्य घटेको छ,’ थापाले भने, ‘अहिले भारतमा प्रतिकेजी मकैको भाउ २० रुपैयाँ भारु अर्थात् ३२ रुपैयाँ नेपाली पर्छ । उक्त मकै नेपाल ल्याउँदा ३६/३७ रुपैयाँ प्रतिकेजी पर्छ ।’ मकैको भाउ घटेपछि दानाको मूल्य घटाउन आफूहरुले आह्वान गरेको उनले बताए । यसअघि मकैको मूल्य प्रतिकेजी ४० देखि ४२ रुपैयाँ थियो । दाना बनाउन आवश्यक कच्चा पदार्थ मध्य भटमासको पिनाको भने मूल्य घटेको छैन । हाल नेपालमा धेरैजसो अमेरिकाबाट आयात गरिएको भटमासको पिना दाना बनाउने कार्यमा प्रयोग गरिएको छ । ‘भारतीय भटमासको पिना अमेरिकाबाट आयात गरिनेभन्दा महँगो पर्छ,’ उनले भने ।
यसअघि पनि दाना उद्योगीहरुकै आह्वानमा प्रतिकेजी कुखुराको दानामा प्रतिकेजी २ रुपैयाँका दरले मूल्य घटाउन संघले आह्वान गरेको थियो । दुई पटक गरी प्रतिकेजी दानाको मूल्य ४ रुपैयाँले भटाउन संघले आह्वान गरिसकिएको छ ।
‘पछिल्लो समय कुखुरा पालक व्यवसायीले चल्ला हाल्न कम गरेपछि कुखुराको उत्पादन समेत कम भयो,’ उनले भने, ‘यसले दानाको खपत पनि कम भएपछि दाना उत्पादन कम हुन गई कच्चा मकैको मूल्य कम भएको हो ।’ चल्ला व्यवसायीले समेत कुखुरापालक किसानलाई राहत दिन चल्लाको मूल्लयमा समेत प्रतिगोटा ५ रुपैयाँ घटाउन छलफल चलिरहेको उनले बताए । मूल्य घटे प्रतिगोटा चल्लाको मूल्य ठाउँअनुसार प्रतिगोटा ६० देखि ६५ रुपैयाँसम्म पर्ने उनले बताए ।