पशु चिकित्सक, प्राविधिक र अधिकारकर्मीको दशैं को कसरी मनाउँदैछन् ?
काठमाडौं । दशैं नेपाली हिन्दूधर्मालम्बीको महान् चाड हो । परिवारका सदस्य, आफन्त, साथीभाइसँग भेटघाट गरेर तथा मान्यजनको हातबाट टीका ग्रहण गरेर दशैं मनाइन्छ । रोजगारीको सिलसिलामा देशभित्र र बाहिर रहेका नेपाली दशैंमा स्वदेश फर्कंने गरेका छन् । परिवार, आफन्त, साथीभाइसँग पुनर्मिलन गराउने काम दशैंले गरेको छ । यस वर्ष पनि दशैं नेपालीको घर–आँगन सम्मुख आइसकेको छ । नेपालीले आ–आफ्नो गच्छेअनुसार दशैं मनाउने तयारी गरेका छन् । पशुपन्छी चिकित्सक, प्राविधिक, पशु अधिकारकर्मी, किसानलाई पनि दशैंको चटारोले छोपेको छ । यसै सन्दर्भमा हामीले पशुपन्छी क्षेत्रका सरोकारवालालाई यस पटकको दशैं कसरी मनाउँदै हुनुुहुन्छ भनेर सोधेका छौं :
स्वस्थ र स्वच्छ मासु उपलब्ध गराउन लाग्छु
पशु सेवा विभागको विभागीय जिम्मेवारीमा रहेकाले उपभोक्तालाई स्वस्थ र स्वच्छ मासु तथा तथा दूधजन्य पदार्थ उपलब्ध गराउने दायित्व छ । त्यसैले यसको अनुगमनको कार्य तीव्र बनाएका छौं । काठमाडौं उपत्यकाका विभिन्न नाका तथा पशुपन्छीको कारोबार हुने स्थानको अनुगमनलाई तीव्र पारेका छौं । अनुगमनलाई प्रभावकारी पार्न कलंकी, थानकोट, चाल्नाखेल, सल्लाघारी, बालाजु, टोकालगायत विभिन्न ११ स्थानमा अहिले पशु चिकित्सक र प्राविधिक खटिनुभएको छ । त्यसो त अन्य समयमा पनि हामीले अनुगमनको काम गर्ने गरेका छौं । तर दशैंमा पशुपन्छी ठूलो मात्रामा भित्रिने भएकाले पशु चिकित्सक र प्राविधिकहरू अहोरात्र खटिरहनुभएको छ । उहाँहरूले सम्पादन गरेको कार्य कस्तो छ र बजारले कस्ता समस्या भोगिरहेका छन् भनेर बुझ्ने काम पनि सँगै भइरहेको छ । नवमीको दिनसम्म यो क्रम चल्नेछ । हामी यसमै व्यस्त रहनेछौं । टिमका सदस्यलाई म धन्यवाद दिन चाहन्छु ।
अहिले हामी बजारको अवस्था नियाल्न ठाउँ ठाउँमा पुगिरहेका छौं । बजार हेर्दा खसीबोकामा नेपाल आत्मनिर्भर भएको देखिएको छ । जसले गर्दा यस पटक मूल्यवृद्धि पनि भएको छैन । खाद्य तथा व्यापार कम्पनीले तोकेको मूल्यमा बाहिर पनि उपभोक्ताले खसी तथा बोका पाइरहनु भएको छ ।
यो त भयो विभागीय जिम्मेवारीमा रहेर दशैंमा गर्ने मेरो काम । रह्यो व्यक्तिगत दशैंको कुरा । परिवारका सदस्यसँग काठमाडौंमै बसेर दशैं मनाउने योजना छ । भेट टाइम्स मासिकमार्फत विभागको महानिर्देशकको हैसियतमा तमाम् उपभोक्तालाई स्वस्थ र स्वच्छ मासु मात्र उपभोग गर्न सुझाव दिन चाहन्छु ।
गच्छेअनुसार दशैं मनाउन अनुरोध गर्न चाहन्छु
सर्वप्रथम त विजयादशमी ०८० का अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, व्यवसायी साथीहरूमा दुर्गा भवानीले रक्षा गरून् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
पोल्ट्री क्षेत्रले अनेकन समस्या झेलिरहेको छ । नाकाबाट कच्चा पदार्थ आयात गर्न प्लान्ट क्वारेन्टाइनले चेकजाँच गरेर अनुमति दिनुपर्ने प्रावधान छ । पछिल्लो दुई महिनायता धनगढी नाकामा रहेको प्लान्ट क्वारेन्टाइमा सरकारले कर्मचारी नखटाउँदा दाना उद्योगी मर्कामा पर्नुभएको छ । यो नाका भएर कच्चा पदार्थ ल्याउने अवस्था नहुँदा नेपालगञ्ज नाका प्रयोग गर्नुपरेको छ । यसले एक ट्रकमा ७०–८० हजार बढी रकम खर्च भइरहेको छ ।
प्लान्ट क्वारेन्टाइनमा जनशक्ति नहुँदा भोगेको असुविधाबारे हामीले अर्थ मन्त्री, कृषि मन्त्री, कृषि सचिवलगायतलाई पटक–पटक भेटेर अवगत गराएका छौं । नाकाबाट आउने सामानबाट उठ्ने भन्सारसमेत गुमिरहेको अवस्था छ । तर दुई महिना गुज्रिसक्दा पनि उक्त नाकामा चेकजाँच गर्ने कर्मचारी पठाइएको छैन । यसले संवेदनशील विषयमा पनि राज्य सचेत नरहेकोदेखाउँछ । दशैंको अवसरमा शुभकामना त दिन्छु तर यस्तो परिस्थितिमा हामीले के आशा गर्ने ?
परम्परागत रूपमा जसरी आफन्तको हातबाट टीका थापेर दशैं मनाइन्छ, त्यसैगरी मैले पनि मनाउने गरेको छु । यस वर्ष पनि विगत वर्षझैं बुवाआमा मान्यजनको हातबाट टीका ग्रहण गर्ने काम गर्छौं । बाहिर जाने सोच छैन, यतै काठमाडौंमा बसेर परिवारसँग दशैं मनाउँछु । आर्थिक मन्दीले छोइरहेको अवस्थामा धेरै उत्ताउलो, भड्किलो ढंगले दशैं मनाउन हुँदैन । अरूलाई पनि सरल ढंगले आफ्नो गच्छेअनुसार दशैं मनाउन अनुरोध गर्न चाहन्छु ।
क्रुर ढंगले पशु बध गर्ने विकृति रोक्न सचेतना जगाउँछु
घर काठमाडौंमा भएकाले यस वर्षको दशैं यतै मनाउने सोच छ । मेरो छोरा दाङमा भएकाले फूलपातीको दिनबाट मात्रै हामीलाई दशैं लाग्छ ।
अहिले मैले सेभ नेपाल संस्था चलाइरहेको छु । यसले पशु कल्याण र पर्यावरण संरक्षणको काम गर्छ । दशैंमा पशुको काटमार अत्यधिक हुन्छ । निर्दयी र क्रुर ढंगले पशु बध गर्ने गरेको पाइन्छ । यो राम्रो कुरा होइन । सेभ नेपाल संस्थामार्फत यस पटकको दशैंमा सञ्चारमाध्यममार्फत यसबारे सचेतना फैलाउने सोच छ । सेभ नेपालको यसतर्फको यो पहिलो पाइला हो । अर्को वर्ष यसलाई अझै बढी गरिनेछ ।
आमाको हातको टीका थाप्न उर्लाबारी जान्छु
दशैंको नवमीसम्म काठमाडौंमै हुन्छु । टीकाको दिन भने यता टीकाटालो गरेर उर्लाबारी जान्छु । उर्लाबारी मेरो पुर्खौली थातथलो हो । त्यहाँ मेरी बुढी आमा हुनुहुन्छ । उहाँको हातबाट टीका ग्रहण गरे आशीर्वाद लिन्छु ।
उर्लाबारीमा मेरो धेरै वाल्यकालीन साथीहरू छन् । तर कार्यक्षेत्र काठमाडौं हुँदा भेटघाट गर्ने अवसर जुटेको छैन । उहाँहरूसँग दशैंको छेको पारेर भलाकुसारी गर्नेछु । दशैं पुनर्मिलनको पर्वसमेत हो । आफन्तसँग भेटघाट हुने भएकाले सम्बन्ध नवीकरण हुनेछ । वर्षभरि हामी आफ्नो काममा व्यस्त हुन्छौं । रमाइलो गर्ने, आफन्त भेट्ने मेसो जुर्दैन । त्यसैले दशैं रमाइलोसँग मनाउने हो ।
सेल्टरमा रहेका पशुको हेरचाह गरेर दशैं मनाउँछु
अहिले हाम्रो सेल्टरमा १७० वटा कुकुर, ४ वटा भैंसी, ८÷१० वटा खसीबोका, गाईलगायत जनावर छन् । निवासमा पनि १० वटा कुकुर छन् । दशैंका अवसरमा हामीले सबैजसो स्टाफलाई छुट्टी दिने गरेका छौं । त्यसैले विगत वर्षदेखि नै सेल्टरमा रहेका पशुको हेरचाहमा मेरो दशैं बित्ने गरेको छ । यस वर्ष पनि पशुसँगै मिलेर दशैं मनाउने योजना छ ।
काठमाडौं बाहिर जानेलगायत कुनै पनि योजना मेरो छैन । दशैंमा पशुपन्छीहरूको अत्यधिक काटमार हुन्छ । यो देख्दा मलाई निकै दुःख लाग्छ । परिवारका सदस्यसँग दशैं मान्ने नेपालीहरूलाई पशुपन्छीका परिवार खोसेर काटमार नगर्न अनुरोध गर्न चाहन्छु । म शुद्ध साकाहरी हुँ । सागपात र फलफूल खान्छु । अरूलाई पनि यसैगरी माछामासु नखाईकन दशैं मनाउन सुझाव दिन चाहन्छु ।
यसपालि दशैं छैन
दशैं नेपालीहरूको महान् चाड हो । परिवारका सदस्यसँग बसेर हाँसीखुसीसाथ दशैं मनाउने गरिन्छ । परिवारका सदस्य र आफन्तसँग भेटघाट गर्ने सुनौलो अवसर हो दशैं ।
विगत वर्षमा मैले पनि परिवारका सदस्यसँग बसेर दशैं मनाउने गरेको थिएँ । तर यसपालि काका परलोक हुनु भएकाले दशैं छैन ।
यो वर्ष शोकमा छु
यस वर्ष आमा बित्नुभएको छ । शोकमा रहेकाले यो वर्ष मेरो दशैं छैन । दशैंको बेला हरेक वर्ष हामीले शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएका छौं ।
यस वर्ष पनि साथीभाइबीच शुभकामना साटासाट गर्दैछौं । पशुपन्छीको मासु स्वस्थ र स्वच्छ नहुँदा विभिन्न रोगको संक्रमण हुने खतरा हुन्छ । यसबारे देशभरि जनचेतना जगाउने अर्को योजना पनि हामीले बनाएका छौं ।
पुस्तक पढ्ने र पेन्टिङ गर्ने सोच छ
मेरो पुर्खौली थातथलो ताप्लेजुङ हो । यस पटक गृह जिल्ला जाने सोच छैन । बसाइँ काठमाडौंमा भएकाले परिवारका सदस्यसँग बसेर यतै दशैं मनाइन्छ होला ।
पुस्तक पढ्न मलाई मन पर्छ । तर कामको चापले चाहेअनुसारका पुस्तक पढ्ने मेसो मिलेको छैन । यस वर्ष दशैंमा विभिन्न पुस्तक पढ्ने विचार गरेको छु । पेन्टिङमा पनि मेरो अनुराग छ । फुर्सदको समयमा कुँची चलाउँछु । दशैंमा पेन्टिङ गर्ने सोच पनि छ ।
व्यवसायमा मन्दी छ, के दशैं मनाउनु ?
अहिले व्यवसायमा मन्दी छ । अप्ठ्यारा नै अप्ठ्यारा छन् । व्यवसाय राम्रो हुँदा मन खुसी हुने हो । उमंग र उत्साहको समय नभएकाले हामीलाई दशैं आएको छैन ।
दशैंमा बाहिर कतै जाने सोच छैन । परिवारका सदस्यसँग बसेर फार्ममै दशैं मनाउँछु ।
प्रतिक्रिया