एफएनसिसिआईको वस्तुगत सदस्यमा रविन पुरी विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को वस्तुगततर्फको सदस्यमा नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी विजयी भएका छन् ।
बुधबार सम्पन्न एफएनसिसिआईको निर्वाचनबाट पुरी वस्तुगततर्फको सदस्यमा विजयी बनेका हुन् । उनले ७४ मत पाए ।
पुरी लामो समयदेखि नेपाल दाना उद्योग संघको नेतृत्वमा छन् । पुरीको जितसँगै उद्योगी व्यवसायीको छाता संगठनमा दाना उद्योगीको प्रतिनिधित्व भएको छ ।
वस्तुगत कार्यकारिणी सदस्यतर्फको कुल १४ सदस्यका लागि २८ जना प्रतिस्पर्धामा रहेकोमा अञ्जन श्रेष्ठको समूहबाट ६ र उमेशलाल श्रेष्ठको प्यानलबाट ८ जना विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका दाबेदार रामचन्द्र संघई समूहले पनि वस्तुगत सदस्यमा उम्मेदवार उठाएको थियो । तर यो प्यानल भने नील भएको छ ।
एफएनसिसिआईको ५७ औं वार्षिक साधारणसभा मंगलबारबाट सुरु भएकोमा अध्यक्षबाहेकका पदमा बुधबार मतदान भएको थियो । जसको परिणाम क्रमशः सार्वजनिक भइरहेको छ । हालसम्म सार्वजनिक अन्तिम परिणामअनुसार जिल्ल नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वैद्य रामचन्द्र संघाई र ढकाल उमेशलाल श्रेष्ठ समूहको प्यानलबाट प्रतिस्पर्धामा थिए ।
वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु हुन बाँकी छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया