बालाजु क्षेत्रका कोल्ड स्टोरहरूमा अनुगमन, प्यासिफिक फ्रोजन फुड्स सिलबन्दी

भ्यालीमा देखिएन कुनै खोट,प्यासिफिक फ्रोजन फुड्स सिलबन्दी
काठमाडौं । काठमाडौंको बालाजु क्षेत्रका कोल्ड स्टोरहरूमा अवैध कुखुराको मासु बिक्री वितरण भइरहेको पाइएको छ । मासु राख्ने कोल्ड स्टोर स्वस्छ र सफा हुनुपर्नेमा त्यो समेत नभएको पाइएको छ । बालाजु क्षेत्रमा प्रचलित कानून र मापदण्डविपरीत कोल्ड स्टोर सञ्चालन भएको पाइएपछि केहीलाई सिलबन्दी गरिएको छ ।
भारतबाट अनधिकृत ढंगले कुखुरा भित्राएर नेपाली बजारमा बिक्री गरेको गुनासोपछि पोल्ट्री व्यवसायी र उपभोक्ता हितका लागि  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाइमा बालाजु क्षेत्रका कोल्ड स्टोरहरूमा अनुगमन गरिएको थियो । त्यसक्रममा नियमविपरीत कुखुराको मासु बिक्री गरिनुका साथै कोल्ड स्टोरसमेत मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो ।
विभागका खाद्य निरीक्षक पद्यराज भुसालको नेतृत्वमा कामनपा–१६ स्थित प्यासिफिक फ्रोजन फुड्समा अनुगमन गरेको थियो । राजकुमार घिमिरे सञ्चालक रहेको उक्त कोल्ड स्टोरमा लेबल नभएका, आंशिक लेबल विवरण भएका मासु, मासुजन्य पदार्थ भेटिएको छ । यति मात्र होइन, प्याकिङ कक्ष र कोल्ड रुमसमेत दुर्गन्धित अवस्थामा भेटिएको विभागले जनाएको छ ।
अनुगमन टोलीले मासु खरिद गरेको स्रोत देखाउन आग्रह गरेकोमा त्यसो गर्न नसकेपछि प्यासिफिक फ्रोजन फुड्सलाई सिलबन्दी गरिएको छ ।

विभागका अनुसार, तीन दिनभित्र कागजातसहित उक्त कोल्ड स्टोरका सञ्चालकलाई सम्पर्क गर्न भनिएको छ । उक्त अवधिभित्र सञ्चालक सम्पर्कमा नआएमा प्रचलित कानूनबमोजिम थप कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।
विभागको टोलीले १८० टन मासु भण्डारण गर्ने क्षमताको भ्याली कोल्ड स्टोरमा पनि अनुगमन गरेको थियो । तर भ्यालीमा भने कुखुरा खरिद गरेको स्थान र समय खुल्ने बिलबिजक भेटिएको छ ।
साथै भ्यालीले खाद्य ऐनअनुसार भण्डारण गरिएका मासु तथा मासुजन्य पदार्थहरूको म्याद सकिने अवधिसहितको लेबलहरू र माग भएका प्रमाणसमेत पेस गरेको विभागका एक अधिकारीले भेट खबर डटकमलाई बताए ।
बालाजु क्षेत्रका अन्य कोल्ड स्टोरले बिलबिजक बिना कुखुराको मासु बिक्री गर्नुका साथै बथशाला र कोल्ड स्टोरसमेत मापदण्डअनुसार सञ्चालन नगरेको पाइएको छ ।
किसानसँग खरिद गरेको बिलबिजकलगायत नभेटिएकाले सेटिङमा सीमापारिबाट ल्याइएको मासु काठमाडौंबाट ल्याएर किनबेच गरिएको अनुमान गरेको छ ।
जानकारहरूका अनुसार, पछिल्लो समय भारतसँगको खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले लुकाइछिपाइ भारतबाट कुखुरा भित्राएर नेपाली बजारमा बिक्री गर्ने गरिएको छ । भारतीय बजारबाट अवैध ढंगले ल्याइएका कुखुरा बजारमा पुग्दा नेपाली किसान भने मर्कामा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *