आज नेपाल आइपुग्दै दक्षिण कोरियाबाट ल्याइएका ४२ बाछी र साँढे

काठमाडौं । दक्षिण कोरियाबाट बिहीबार ४२ कोरेली बाछी र साँढेहरू नेपाल आइपुग्ने भएका छन् ।
नेपाल सरकारले गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा दक्षिण कोरियाबाट कोरेली बाछी र साढेहरू उपहारस्वरूप नेपाल ल्याउने सहमति भएको थियो । सोही सहमतिअनुरूप पहिलो चरणमा ४२ वटा कोरेली गाई र साँढेहरू नेपाल ल्याउन लागिएको हो ।

हेफर इन्टरनेशनल नेपाल र हेफर इन्टरनेशनल कोरियाको सहयोगमा एसियाना एयरलाइन्स, दक्षिण कोरियामार्फत साँझ ५ बजे ती बाछी र साँढे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने हेफर इन्टरनेशनल नेपालले जनाएको छ ।

पहिलो चरणमा नेपाल ल्याउन लागिएका ४२ बाछी र साँढे ६ देखि ९ महिनाका छन् ।
यी बाछी र साँढेहरू नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–शुकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
उपहारस्वरूप नेपाल आइपुग्न बाँकी पशुहरू तीन चरणमा नेपाल ल्याउने तयारी छ । हेफर नेपाल इन्टरनेशनलका अनुसार, ती पशु २३, २५ र २८ डिसेम्बरमा नेपाल ल्याइपुर्याउने योजना छ ।
कोरियाबाट ल्याइएका यी कोरेली बाछीहरूले बुल मदर्सको न्युक्लियस वथान स्थापना गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।
नेपालमा ल्याइएका यी उन्नत जातका बाछी सिन्धुलीको कमलामाई नगरपालिकाका ५० कृषक परिवारको सुधारिएको गोठमा र साढेहरूलाई देशभरका राष्ट्रिय पशुपालन कार्यालयका विभिन्न स्थानमा राखिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *