डिजीको लापरबाहीले भयानक दुर्घटना, गाडी क्षतविक्षत, भवन भत्कियो

राजन प्रसाईँ

काठमाडौ। पशु सेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले बेहोसी शैलीमा सरकारी गाडी चलाउँदा भयानक दुर्घटना भएको छ । दुर्घटनामा गाडी क्षतविक्षत छ भने ठक्करबाट भवन र एफएम स्टुडियोसमेत भत्किएको छ । भाग्यले बाँचेका उनको हात र साइडमा बसेका चालकको खुट्टामा चोट लागेको छ । दुर्घटनामा करिब ४२ लाख रूपैयाँबराबरको क्षति भएको अनुमान छ ।

तिवारीले यही साउन ४ गते हरिहर भवनस्थित विभागको कार्यालय परिसरमा सवारी सिक्ने (हातसाफ) क्रममा बाग्मती प्रदेशको बि.एबि. १४५९ नं.को टोयटा हाइलक्स गाडी दुर्घटना गराएका हुन् । गाडीको ठक्करबाट विभागअन्तर्गतको क्वारेन्टाइन कार्यालयको भवनसमेत भत्किएको छ । विभागको तालिम केन्द्रले एफ.एम.रेडियो सञ्चालन गर्न केही वर्षअघि निर्माण गरेको भवनको गारो ठक्करले भत्किएको हो ।

तुलनात्मक रूपमा सुरक्ष्ाित मानिने टोयटा कम्पनीको हाइलक्स गाडीको तीनवटै एयर व्याग खुलेका कारण मानवीय क्षति भने हुन पाएन । दुर्घटनामा तिवारीको हात भाँचिएको छ भने सिकाउन सँगै बसेका चालक सख्त घाइते छन् ।

विभागका एक अधिकारीले गाडी र भवन गरी करिब ४२ लाख रूपैयाँबराबरको क्षति पुगेको बताए ।

‘डिजी सा’बले कार्यालयको गाडी ठोक्काउँदा भवन भत्किएको छ । गाडी पनि क्षत विक्षत भएको छ । यसबाट करिब ४२ लाखबराबरको क्षति भएको हाम्रो अनुमान छ,’ ती अधिकारीले भने ।

महानिर्देशक तिवारीले सवारी चलाउन दक्षता हासिल गर्दागर्दै पनि पार्किङ गर्ने क्रममा झुक्किएर दुर्घटना हुन पुगेको भेट खबरसँग दाबी गरे । ‘म गाडी सिकेको र चलाउन पनि जानेको व्यक्ति हो । तर त्यो दिन कसरी झुक्किएँ, मलाई नै थाहा छैन,’ सवारी दुर्घटना गराएकोबारे भेट खबरले राखेको जिज्ञासामा उनले भने ।

महानिर्देशक डा. तिवारीले सरकारीस्तरबाट तालिम लिई लाइसेन्स प्राप्त गरेको उल्लेख गर्दै यो विषयलाई समाचार नबनाइदिनसमेत आग्रह गरे । ‘सरकारीस्तरबाट तालिम लिई लाइसेन्ससमेत पाइसकेको छु । यो सूचना बाहिर पुगे मलाई अप्ठ्यारो पर्छ । कृपया समाचार नबनाइदिनुहोला,’ उनले भने ।

कसरी भयो दुर्घटना ?

गत साउन ४ गते विभागका चालक सुमन अधिकारी तिवारीको बूढानीलकण्ठस्थित सरकारी निवासबाट तिवारीलाई बोकेर विभागतर्फ आउँदै थिए । यूएन पार्कसम्म तिवारी चालकसँगैको सिटमा बसेका थिए । तर त्यहाँ आइपुगेपछि तिवारीले चालकलाई गाडी रोकेर झर्न र आफू बसेको सिटमा बस्न आग्रह गरे । तिवारीचाहिँ चालकको सिटमा बसेर गियर अगाडि बढाए ।

त्यहाँदेखि कार्यालय परिसरसम्म उनले राम्रैसँग गाडी चलाएर पुगेका थिए । परिसर प्रवेश गरेपछि चालकले डिजीलाई गाडी धुनुपर्ने भएकाले छाडिदिन आग्रह गरे । तर गाडी सञ्चालनको भर्खर भर्खर अनुभव बटुलिरहेका डिजी तिवारीले यही उल्लेख गरेर आफैं लैजाने ढिपी गरे । विभागको पार्किङस्थलमा पुग्न केही उकालो चढ्नु पर्छ । राम्रोसँग उकालोबाट गाडी पार गराएका डिजीले पार्किङमा अन्य गाडी पनि भएकाले मिलाएर राख्नुपर्ने थियो । त्यसक्रममा सँगै रहेको गाडी छुने अवस्था बनेपछि चालकले सचेत गराउँदै ब्रेक हान्न आग्रह गरेका थिए । तर बेहोसी डिजीले उल्टै जोडले एक्सिलेटर दबाइदिए । शक्तिशाली पावर इन्जिन भएको गाडी बेजोडले क्वारेन्टाइन कार्यालयको भवनमा गएर ठोक्किन पुग्यो ।

दुर्घटनापछि डिजीलाई चालकले अर्को गाडीमा राखेर ट्रमा सेन्टरमा उपचारका लागि पुर्याएको एक कर्मचारीले बताए ।

महानिर्देशक डा. तिवारीका अनुसार उनले प्रदेश १ को कृषि सचिवको जिम्मेवारीमा छँदै मन्त्रालयको स्वीकृत कार्यक्रमअनुसार सरकारी खर्चमै सवारी सिकेका थिए । सवारी सञ्चालन गर्न जान्ने भएपछि उनले चालक अनुमतिपत्रका लागि आवेदन दिएका थिए । यसक्रममा पहिलोपटक अनुत्तीर्ण भएको र दोस्रो प्रयासमा सफल भएको डा. तिवारीको दाबी छ । तर स्रोत उनी दोस्रोपटक ट्रायल नै नदिई लाइसेन्स निकाल्न सफल भएको दाबी गर्छ ।

४२ लाखको नोक्सान, भाग्यले मानवीय क्षति टर्यो

कार्यालय प्राङ्गणमा आफूले गराएको दुर्घटनामा तिवारी र चालक अधिकारीको ज्यान त बचेको छ तर यसबाट लाखौंको सरकारी सम्पत्ति नोक्सान भएको छ । गाडीको तीनवटै एयरब्याग एकैचोटि खुलेकाले मानवीय क्षति हुन नपाएको गोपाल अटो वक्र्ससप, यूएन पार्ककका सञ्चालकले बताए । टोययटाको गाडी भएकाले क्षति कम भएको उनको भनाइ छ । क्षतिग्रस्त गाडी मर्मतका लागि अहिले गोपाल अटोवर्कसपमा लगिएको छ ।

वर्कसपका सञ्चालकका अनुसार, दुर्घटनाग्रस्त गाडीको अगाडिको भाग पुर्ण रूपमा क्षतविक्षत छ । तीनवटा एयरव्याग, बनोट, बम्पर ,च्यासिसलगायत अगाडिका कुनै पनि पार्टपुर्जा काम लाग्ने अवस्थामा छैनन् । वर्कसपले टोयटाको जेन्यून पार्टस नराखी मर्मतको कोटेसन उपलब्ध गराएको छ र पनि त्यसको मर्मत खर्च १७ लाख निस्किएको छ । टोयटाका अधिकारीका अनुसार, टोयटाको ब्राण्डेड पार्टपुर्जा रिप्रेल गरेको अवस्थामा यसलाई पूर्ववत् अवस्थामा फर्काउन ३० लाख रूपैयाँभन्दा बढी लाग्छ । वर्कसप सञ्चालकका अनुसार, ३० लाख लाग्ने अनुमान प्रारम्भिक भएकाले यसभन्दा बढीको बिल उठ्न सक्ने सम्भावना छ ।

छैन गाडीको बीमा, मर्मत गर्न ऐन बाधक

नियमतः हरेक सरकारी गाडीको बीमा गर्नुपर्छ । सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका, २०७२ मा कार्यालयमा रहेका सबै सवारीसाधन हरेक वर्ष बीमा र तेस्रोपक्षको बीमा सम्बन्धित कार्यालयले गराउनुपर्ने उल्लेख छ ।

तर करिब पाँच वर्षअगाडि खरिद उक्त गाडीको बीमा नवीकरण गत वर्षदेखि नै नगरिएको महानिर्देशक डा. तिवारीले बताए । तेस्रो पक्षको बीमा भने नवीकरण भएको उनको भनाइ छ । यस्तो बीमाले सवारी साधन, चालक र त्यसमा सवार व्यक्तिको जोखिम वहन गर्दैन । मात्र तेस्रो पक्षलाई क्षति पुर्याएको अवस्थामा पाँच लाख रूपैयाँबराबरको क्षतिपूर्ति वहन गर्छ ।


सरकारी नियमअनुसार कुनै पनि सरकारी सवारी साधन मर्मत गर्दा सवारीको कुल मूल्यको २५ प्रतिशतभन्दा बढी देखिएको खण्डमा सो गाडी मर्मत गर्न मिल्दैन, लिलामी गर्नुपर्छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा भनिएको छ– ‘…क्षतिग्रस्त सवारी साधन मर्मत गर्न बजार मूल्यअनुसार २५ प्रतिशतभन्दा बढी खर्च हुने प्राविधिक प्रतिवेदनमा उल्लेख भएमा कार्यालय प्रमुखले लिलाम बिक्री गर्नुपर्नेछ ।’

राम्रोसँग सञ्चालन भइरहेको, लाखौं रूपैयाँको पर्ने गाडी महानिर्देशकको लापरबाहीका कारण अब मर्मत नगरी लिलामी गर्नुपर्ने भएको छ ।

भेट खबर प्रतिनिधिले महानिर्देशक तिवारीसमक्ष उनको लापरबाहीले पुगेको क्षति कसले वहन गर्ने भनेर जिज्ञासा राखेको थियो । तर सरकारले सवारी चालकको सुविधा दिँदादिँदै लापरबाहीपूर्ण ढंगले सवारी दुर्घटना गराएका तिवारीले सरकारले नै बेहार्नुपर्ने जवाफ फर्काए । उनले भने, ‘सरकारी सवारी साधन र भवनमा भएको खर्च त अवश्य राज्यको हो । व्यक्तिको होइन ।’

दुर्घटनाका क्रममा भवनमा समेत लाखौंको क्षति भएको छ । पशु सेवा विभागकै प्राङ्गणमा भेटिएका बिकेबी कन्स्ट्रक्सन प्रालिका सञ्चालक कुमार कार्कीका अनुसार ठक्करबाट भवनको पूर्वतर्फको भाग नै चर्किएको छ । भवनसँगै एफएफ स्टुडियो प्वाल परेकाले १२ लाख रूपैयाँ खर्च लाग्ने अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *