अण्डाको पोषण महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा ‘एग वाक’

चितवन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्दै यस वर्षको विश्व अण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । अण्डालाई सन्तुलित आहारको महत्वपूर्ण हिस्साका रूपमा प्रवद्र्धन गर्दै यसको पोषण र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे आम नागरिकलाई जानकारी गराउँदै दिवस मनाउन लागिएको हो ।

संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् अक्टोबर ९, २०२६ शुक्रबार मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ । सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ ।

उहाँका अनुसार दिवसको अवसरमा अण्डाको महत्वबारे जानकारी गराउन देशभर विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरिनेछ । दिवसको एक साताअघिदेखि नै विद्यालयमा अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको छ ।

चितवनमा भने नेपाल लेयर्स कुखुरापालक संघको मूल आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसईसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरिनेछ । असोज २३ गते बिहान ७ बजे उद्योग संघ चितवनको परिसरबाट ‘एग वाक’ आयोजना हुनेछ । उद्योग संघ चितवनबाट सुरु हुने एग वाक नारायणगढको शहीद चोक पुगेर समापन गरिनेछ ।

एग वाकमा अण्डाको पोषण, स्वास्थ्यमा यसको सकारात्मक प्रभाव तथा दैनिक आहारमा अण्डाको महत्वबारे जानकारी दिइनेछ । अण्डाको उपभोग र यसको पोषणसम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रचारप्रसारसमेत गरिने अध्यक्ष पोखरेलले बताउनुभयो ।

सोही दिन सरोकारवालाको सहभागितामा प्यानल डिस्कसनसमेत आयोजना गरिनेछ । कार्यक्रममा अण्डाको उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको महत्त्वलगायत विषयमा छलफल गरिनेछ ।

अध्यक्ष पोखरेलले विश्व अण्डा दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा सरकारी निकाय, स्वास्थ्य तथा पोषण क्षेत्रका विज्ञ, व्यवसायी, किसान, सञ्चारकर्मी, विद्यार्थी, उपभोक्ता लगायत सबै सरोकारवालालाई सहभागी हुन आग्रह गर्नुभएको छ ।

उहाँले अण्डा प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्वको महत्वपूर्ण स्रोत भएकाले यसको पौष्टिक महत्वबारे सही जानकारी प्रवाह गर्न दिवसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । दिवसका माध्यमबाट अण्डाको पोषणसम्बन्धी जनचेतना बढाउँदै स्वस्थ तथा सन्तुलित आहारको प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

अध्यक्ष पोखरेलले अण्डा शरीरलाई आवश्यक पर्ने उच्च गुणस्तरको प्रोटिनको सहज तथा तुलनात्मक रूपमा सुलभ स्रोत भएकाले यसको महत्वबारे सही जानकारी आम नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । चिकित्सकहरुलाई उदृत गर्दै अध्यक्ष पोखरेलले भन्नुभयो “एउटा अण्डामा करिब ६ ग्राम प्रोटिनसँगै भिटामिन ए, बी समूह, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम, जिंक लगायतका विभिन्न पोषक तत्व पाइन्छन् ।”

अण्डामा पाइने प्रोटिनले शरीरका तन्तु तथा मांसपेशी निर्माण र मर्मतमा सहयोग गर्नुका साथै बालबालिकाको शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । अण्डामा पाइने कोलिन मस्तिष्कको विकास तथा स्नायु प्रणालीको सामान्य कार्यका लागि आवश्यक हुने र पहेँलो भागमा पाइने ल्युटिन तथा जेक्स्यान्थिनले आँखाको स्वास्थ्यमा योगदान पु¥याउने विज्ञहरुको भनाई छ ।

त्यस्तै, अण्डामा पाइने ओमेगा–३ लगायतका पोषक तत्वले मुटु, मस्तिष्क तथा आँखाको स्वास्थ्यमा भूमिका खेल्ने संघले जनाएको छ । प्रोटिनयुक्त भएकाले अण्डाको सेवनले लामो समयसम्म पेट भरिएको महसुस गराउन सहयोग गर्ने भएकाले सन्तुलित आहारको हिस्सा बनाएर सेवन गर्दा तौल व्यवस्थापनमा समेत सहयोग पुग्न गर्दछ ।

अण्डामा कोलेस्ट्रोल पाइने भए पनि त्यसको प्रभाव सबै व्यक्तिमा समान नहुने विज्ञहरु बताउँछन् । व्यक्तिको स्वास्थ्य अवस्था, खानपान र जीवनशैलीअनुसार प्रभाव फरक पर्न सक्ने भएकाले अण्डालाई सन्तुलित तथा विविधतायुक्त आहारको हिस्साका रूपमा सेवन गर्नुपर्ने उनीहरुको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *