बिनाजानकारी सम्पर्कविहीन भेटेरिनरी चिकित्सकमाथि बर्खास्ती प्रक्रिया
काठमाडौं।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिदा स्वीकृत नगराई लामो समयदेखि कार्यक्षेत्रमा अनुपस्थित रहेकी पशु चिकित्सक डा. अलिसा झासँग ३० दिनभित्र अन्तिम स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।

मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै पशु क्वारेन्टाइन कार्यालय, पर्सा (हाल काजः FANSEP, हरिहरभवन) मा कार्यरत नेपाल कृषि/भेटेरिनरी सेवाकी राजपत्रांकित तृतीय श्रेणीकी कर्मचारी डा. झा (कर्मचारी संकेत नं. २४५६३९) विगत १० महिनाभन्दा बढी समयदेखि कार्यालयको सम्पर्कमा नरहेको जनाएको हो।
मन्त्रालयका अनुसार डा. झा २०८२ साउन २८ गतेदेखि बिदा स्वीकृत नगराई लगातार ९० दिनभन्दा बढी समय आफ्नो पदस्थापन तथा काज रहेको कार्यालयमा अनुपस्थित रहेकी छन्। निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) अनुसार कुनै पनि निजामती कर्मचारी लगातार ९० दिनभन्दा बढी समय बिदा स्वीकृत नगराई अनुपस्थित रहेमा सेवाबाट हटाउन वा बर्खास्त गर्न सकिने व्यवस्था छ।
यसअघि मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख)(१) तथा निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम उचित आधार र कारणसहित सफाइ पेस गर्ने अवसर दिएको थियो। तर, तोकिएको अवधिभित्र कुनै स्पष्टीकरण वा सफाइ प्राप्त नभएपछि मन्त्रालयले विभागीय कारबाहीको अन्तिम प्रक्रिया अघि बढाएको जनाएको छ।
गत असार १७ गतेको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (ख) बमोजिम डा. झासँग ‘तपाईंलाई विभागीय सजाय किन नगर्ने?’ भन्ने विषयमा ३० दिनभित्र स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको हो।
सूचनाअनुसार डा. झाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र मन्त्रालयमा उपस्थित भई आफ्नो स्पष्टीकरण पेस गर्नुपर्नेछ। तोकिएको अवधिभित्र पनि सम्पर्कमा नआए वा सन्तोषजनक जवाफ पेस नगरे निजामती सेवा ऐन, २०४९ को दफा ६७ बमोजिम सेवाबाट बर्खास्त गर्नेसम्मको विभागीय कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।
