नेपाल टेलिकमबाट हट्यो बर्ड फ्लुसम्बन्धी सचेतनामूलक रिङटोन, एनसेलबाट पनि हटाइने
काठमाडौं । बर्ड फ्लुसम्बन्धी सचेतनामूलक मोबाइल रिङटोनले जनचेतना फैलाउनुको सट्टा आम उपभोक्तामा अनावश्यक त्रास सिर्जना गरी पोल्ट्री उद्योगलाई थप धराशायी बनाउने अवस्था आएको भन्दै हटाऊन नेपाल दाना उद्योग सङ्घ, नेपाल लेयर्स कुखुरा पालक सङ्घ, नेपाल कुखुरा व्यवसायी मञ्चलगायत चितवन केन्द्रित पोल्ट्री व्यवसायीहरूको पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सांसद हरि ढकाल ले सम्बन्धित निकायसँग आवश्यक पहल गरेका छन्।
पोल्ट्री व्यवसायीहरूका अनुसार उक्त पहलपछि नेपाल टेलिकमले बर्ड फ्लुसम्बन्धी रिङटोन हटाइसकेको छ। साथै, एनसेलबाट पनि छिट्टै उक्त रिङटोन हटाइने जानकारी प्राप्त भएको सङ्घले जनाएको छ।
सङ्घका अनुसार बर्ड फ्लुबारे सही सूचना र सचेतना आवश्यक भए पनि त्यसका लागि प्रयोग गरिने सन्देश र प्रस्तुतीकरणले आम उपभोक्तामा अनावश्यक डर र भ्रम सिर्जना गर्नु हुँदैन। त्रासपूर्ण सन्देशका कारण कुखुराको मासु र अण्डाको उपभोगमा नकारात्मक असर परेको तथा यसले पोल्ट्री उद्योगलाई थप आर्थिक संकटतर्फ धकेल्ने जोखिम बढाएको व्यवसायीहरूको भनाइ छ
