पशुबाट मानिसमा सर्ने रोगको जोखिम उच्च

स्वास्थ्य सेवा, खोप र निगरानी प्रणाली कमजोर हुँदा खतरा बढ्दो

काभ्रेपलाञ्चोक।पशुबाट मानिसमा सर्ने रोग (जुनोटिक डिजिज) को जोखिम नेपालमा उच्च बन्दै गएको सरोकारवालाहरूले चेतावनी दिएका छन्। पशु स्वास्थ्य सेवा, खोप कार्यक्रम र रोग निगरानी प्रणाली सुदृढ नहुँदासम्म मानव स्वास्थ्य सुरक्षित हुन नसक्ने उनीहरूको निष्कर्ष छ।

विश्व भेटेरिनरी दिवस २०२६ का अवसरमा पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकद्वारा आयोजित कार्यक्रममा ग्रामीण क्षेत्रमा पशुपालन र मानव बासस्थान नजिक–नजिकै रहने प्रचलन, वन्यजन्तुसँग बढ्दो सम्पर्क तथा अव्यवस्थित बजार प्रणालीले संक्रमणको जोखिम बढाएको औँल्याइएको हो। जलवायु परिवर्तन र वन विनाशले नयाँ रोगको उदयलाई थप तीव्र बनाइरहेको पनि बताइएको छ।

पशु सेवा कार्यालयका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जुनोटिक रोगको समयमै पहिचान र नियन्त्रण हुन नसके त्यसको असर विश्वव्यापी रूपमा देखिने बताए।

“एक देशमा देखिएको रोग सीमित रहँदैन, यसले मानव, पशु र वातावरणमा ठूलो क्षति पुर्‍याउन सक्छ,” उनले भने।
उनका अनुसार ‘एक स्वास्थ्य अवधारणा’ अन्तर्गत विभिन्न निकायबीच समन्वय नगरी प्रभावकारी नियन्त्रण सम्भव छैन।

कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार विश्वभर करिब ३०० भन्दा बढी रोग जनावरबाट मानिसमा सर्छन् भने नेपालमा पनि ४० भन्दा बढी जुनोटिक रोग रहेको अनुमान छ। विश्व स्वास्थ्य संगठनका अनुसार १५० भन्दा बढी यस्ता रोगहरू सूचीकृत छन्। नेपाल सरकारले भने हाल १० वटा जुनोटिक रोगलाई मात्र उच्च प्राथमिकतामा राखेको छ।

पशु सेवा कार्यालयका पूर्व प्रमुख राजकुमार हुमागाईंले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच सीमित, जनचेतनाको कमी र कमजोर निगरानी प्रणालीका कारण जोखिम अझै बढेको बताए।

“समुदायस्तरका स्वास्थ्यकर्मी र पाराभेटहरूको भूमिका प्रारम्भिक पहिचान र सचेतनामा महत्वपूर्ण हुन्छ,” उनले भने।

पूर्व कृषि अधिकृत पूजन जङ्गमले जलवायु परिवर्तन, वन विनाश तथा मानव गतिविधिमा आएको तीव्र परिवर्तनले नयाँ रोगको जोखिम बढाएको बताए। वातावरणीय स्वास्थ्यलाई ध्यानमा राख्दै कृषि क्षेत्रमा कीटनाशकको उचित प्रयोगमा जोड दिनुपर्ने उनले बताए।

डा. ठाकुरका अनुसार नेपालमा ‘एक स्वास्थ्य’ अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके महामारीको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। त्यसका लागि स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्रालय तथा स्थानीय तहबीच सुदृढ समन्वय आवश्यक रहेको उनले बताए।
“ज्वरो आएपछि टाइफाइड मात्र सोच्ने प्रवृत्तिले अन्य जुनोटिक रोग छुट्ने गरेका छन्,” उनले भने।

पशु विकास अधिकृत डा. सुशिला श्रेष्ठले व्यक्तिगत सतर्कताबाट पनि संक्रमणको जोखिम घटाउन सकिने बताइन्।
“पशुसँग सम्पर्कपछि हात धुने, काँचो दूध नपिउने, मासु राम्रोसँग पकाएर खाने र पशुलाई नियमित खोप लगाउने जस्ता व्यवहार आवश्यक छन्,” उनले भनिन्।

सरकारले प्राथमिकीकरण गरेका जुनोटिक रोगहरूमा इन्फ्लुएन्जा, रेबिज, कोरोना भाइरस, लेप्टोस्पाइरोसिस, ब्रुसेलोसिस, साल्मोनेलोसिस, लेशमेनियासिस, जुनोटिक क्षयरोग, सिस्टिसर्कोसिस/हाइडाटिडोसिस र टोक्सोप्लाज्मोसिस रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *