माछा, मासु, अण्डा र दुध सेवन गर्दा कोरोना भाइरस सर्ने हुँदैन : भेटेरिनरी एशोसिएशन

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले माछा, मासु, अण्डा र दुध सेवन गर्दा कोरोना भाइरस सर्ने कुनै जोखिम नहुने स्पष्ट पारेको छ । एशोसिएसनका अध्यक्ष डा.शीतलकाजी श्रेष्ठले एक विज्ञप्ती जारी गरी यस्तो जानकारी गराएका हुन् ।

डा. श्रेष्ठद्वारा जारी वित्रप्तीमा भनिएको छ– ‘विश्व पशु स्वास्थ्य संगठनको हवाला दिंदै पशु पन्छीको मासु नखान कतिपय सञ्चार माद्यममार्फत भ्रम सिर्जना हुन गएकोेमा यस एशोसिएसनको गम्भिर ध्यानाकर्षण भएको छ । संक्रमित मानिसबाट मानिसमा सरेर विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड–१९ सार्ने सम्बन्धमा पशु पन्छीको कुनै भूमिका प्रमाणित भएको छैन । विश्वका कतिपय देशहरुमा मापदण्ड नपुगेको, अस्वस्थकर र असुरक्षित अवस्थामा जीवित वन्यजन्तु तथा तिनका मासुको बिक्रि वितरण गर्ने माछा/मासु बजारबाट मानिस तथा पशुपन्छीमा विभिन्न प्रकारका रोग फैलने जोखिम रहने गरेको आधारमा त्यस्ता जोखिमपूर्ण बजारलाई बन्द गर्न र वन्य जन्तुको मासुको बिक्रि वितरण गर्न विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध लगाउन सबै सरकारहरुलाई निर्देशन गरेको छ । त्यसैगरी, डब्लुएचओले वन्यजन्तुका हाट बजारको मापदण्ड तर्जुमा गर्न विश्व पशु स्वास्थ्य संगठन र विश्व खाद्य तथा कृषि संगठनलाई अनुरोध समेत गरेको छ ।

त्यस्तै विज्ञप्तीमा भनिएको छ– ‘नेपालमा वन्यजन्तुको शिकार गर्न वा तीनको मासु बिक्रि गर्न प्रचलित कानून बमोजिम प्रतिबन्ध लगाईएको र वन्यजन्तुका मासुको बिक्रि गर्ने बजार पनि कतै सञ्चालित नभएकोले विशेष परिस्थितिको लागि जारी गरेको निर्देशनबाट हामीले भ्रमित हुन आवश्यक छैन । घर पालुवा पशुपन्छी र तिनका मासुबाट कोभिड–१९ सरेको कुनै प्रमाण नभएकोले घरपालुवा पशुपन्छीको मासु सेवन गर्न वा बिक्रि वितरण गर्न यसबाट कुनै वाधा पर्दैन । साथै, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेका भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, सावन पानीले हात धुने र घर मै बस्ने लगायतका सावधानीको पर्याप्त पालना गर्न गराउन सबैमा अनुरोध गर्दछौं ।
मानिस तथा पशुपन्छीमा देखा पर्ने ७० प्रतिशतभन्दा अधिक नयाँ माहामारीहरु कुनै न कुनै किसिमका पशुपन्छीमा उत्पत्ति हुने गरेको सन्दर्भमा त्यस्ता माहामारीहरुको वैज्ञानिक आधारमा रोकथाम तथा नियन्त्रण गर्न सम्बन्धित देशको भेटेरिनरी सेवासंग भएको ज्ञान, शिप, दक्षता र साधन स्रोतको परिचालन गरी सहकार्य गर्न समेत डब्लु एचओले सबै देशका सरकारलाई अनुरोध गरेको छ । पशुपन्छीका उत्पादन (दुध, मासु, अण्डा) को सेवन गरी रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न, यस्ता उत्पादनबाट खाद्य सुरक्षा सुनिस्चित गर्न र पशुपन्छीबाट अन्य कुनै माहामारी उत्पन्न नहोस भन्नका लागि मुलुकको भेटेरिनरी सेवालाई अत्यावश्यक सेवामा समावेस गरी सर्व साधारणलाई तत्काल सेवा सुलभ गराउन अति आवश्यक भएको छ ।

नेपालको पशु सेवासंग बर्ड फ्लु लगायतका माहामारीहरुको रोकथाम तथा नियन्त्रण गरी आर्जन गरेको दक्ष जनशक्ति, अनुभव, कृषकको घर दैलोसम्म विस्तारित संगठन र प्रयोगशाला समेतका सुविधा उपलब्ध छ जसको सहकार्य गरी कोभिड–१९ को नियन्त्रण गर्न सहज हुने देखिन्छ । हाल राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशाला, चितवन र पशु रोग अन्वेषण प्रयोगशाला धनगढीमा १९ को परीक्षण गर्ने कार्य भैरहेको छ । डब्लुएचओ, ओआइई र एफएओले अवलम्बन गरेको एक स्वास्थ्यको अवधारणा अनुरुप विशेषगरी पशु स्वास्थ्य र जनस्वास्थ्यको सहकार्यमा सबै सरोकारवालाहरुसंगको समन्वयमा कोभिड १९ को माहामारीको रोकथाम तथा नियन्त्रणमा आ आफ्नो स्थानबाट लागि पर्न यो एशोसिएसन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *