अन्ततः संघले स्थगित गर्‍यो दाताको जग्गा ग्रहण प्रक्रिया, धनाकुमारी भन्छिन्– अहिले दिन्नँ

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघले गत महाधिवेशनकी अध्यक्षकी प्रत्यासी धनाकुमारी पाण्डेले दान दिने भनेर घोषणा गरेको जग्गा ग्रहण प्रक्रिया स्थगित गर्ने निर्णय लिएको छ ।

संघको आइतबार सम्पन्न बैठकले जग्गा ग्रहणका लागि अघि बढाएको प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हो ।

जग्गा दाता धनाकुमारी अधिकारीले अहिले नभएर आफ्नो कार्यकालमा मात्र जग्गा दिने स्पष्ट पार्नु भएकाले प्रक्रिया स्थगित गरिएको संघका महासचिव सादुराम ढकालले भेट खबर डटकमसँग बताए ।

‘जग्गाको विषयमा दाता (धनाकुमारी अधिकारी) सँग टेलिफोन कुराकानी भएको थियो । उहाँले प्रष्टसँग आफ्नै कार्यकालमा मात्र दिन्छु भनेकी हुँ, अहिले दिन्नँ भन्नुभयो । दाताबाटै यस्तो जवाफ प्राप्त भएकाले प्रक्रिया रद्द गरिएको जानकारी गराएर पत्र पठाउने निर्णय भएको छ,’ महासचिव ढकालले भने ।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको गत पुसमा सम्पन्न महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धामा उत्रिएपछि धनाकुमारीले बालाजुस्थित आफ्नो निजी घडेरी संघको भवन निर्माणार्थ दान दिने घोषणा गरेकी थिइन् । उनको यस्तो घोषणासँगै संघको तत्कालीन कार्यसमितिले त्यसलाई आफ्नो स्वामित्वमा ल्याउन प्रक्रिया अघि बढाएको थियो । तर चुनावी नजिता धनाकुमारीको पक्षमा नआएपछि यसमा नयाँ ट्विस्ट आएको छ ।

किन दिइनन् धनाकुमारीले जग्गा ?

विगतको आफ्नै घोषणाविपरीत धनाकुमारीले किन जग्गा दिइनन् भन्ने प्रश्न यतिबेला उठेको छ । आफ्नो वचनमा पक्का नभएको भन्दै विपक्षीले उनको आलोचना गरिरहेका छन् । यही जिज्ञासा हामीले धनाकुमारीसमक्ष राखेका थियौं । जवाफमा उनले आफ्नो कार्यकालमा मात्र जग्गा दिन्छु भनेको र अहिले अर्कैको कार्यकाल रहेकाले दिन नसक्ने प्रष्ट पारिन् ।

‘मैले जग्गा दान गर्ने घोषणा गर्दा स्पष्टसँग भनेकी थिएँ कि मेरो कार्यकालमा यो उपलब्ध गराउँछु । अहिले मेरो कार्यकाल नै छैन । आफ्नो कार्यकाल आएमा पूर्वघोषणाअनुसार जग्गा दिन म तयार छु,’ उनले भनिन् ।

आफूले खाइ नखाइ पेवा जोगाएर किनेको जग्गा उदार मनका साथ संघलाई दान गर्ने निर्णय लिँदा उल्टै कृतघ्न बनेर प्रोपोगण्डा मच्चाइएको भन्दै धनाकुमारीले चित्तसमेत दुखाइन् ।

‘संघको भविष्यप्रति चिन्तित भएर आफ्नो पेवा र गरगहना बेचेर जोडेको करोडौं मूल्यको घडेरी दिँदा उल्टै ममाथि लाञ्छना र अपमान गरियो । त्यसमा भवन त के ट्वाइलेटसम्म बन्दैन भनेर चुनावी प्रोपोगण्डा नै बनाइयो,’ उनले प्रष्ट पारिन्, ‘मैले हिजो पनि आफ्नो जग्गा दिन्छु भनेको हुँ, अहिले पनि त्यही भनिरहेको छु । तर त्यसका लागि कार्यकाल मेरो हुनुपर्छ ।’

यसैबीच, धनाकुमारीले गत पुसमा सम्पन्न महाधिवेशनमा धाँधली गरेर आफूलाई हराइएको दाबीसमेत गरेकी छन् । आफूलाई हराउन फर्जी मतदाता खडा गरिएको उनको तर्क छ ।

‘जग्गा दिएर आफ्नो कार्यकालमा भवन बनाउँछु भनेको थिएँ । तर त्यत्रो धाँदली गरेर, अनेक गरेर मलाई हराए । फर्जी मत हालियो,’ धनाकुमारीले भनिन् ।

यसविरुद्ध लड्न साथीहरूको साथ चाहिने र त्यो उपलब्ध भएमा आफू अघि बढ्नेसमेत उनले बताइन् ।

धनाकुमारीले दाबी गरेजस्तै संघको महाधिवेशनमा फर्जी मतदाता प्रयोग गरिएको तथ्य भेट खबरले समेत फेलापरेका छन् । यसबारे खोजी गर्न भेट खबर डटकमले संघसँग गत महाधिवेशनका मतदाताको सूची माग गरेको थियो । संघले उक्त सूची उपलब्ध गराउन आनाकानी गर्नुबाट पनि यस्तो आशंकामा बल पुगेको छ । भेट टाइम्स मासिकले आगामी अंकमा यसबारे सोधीखोजी गरेर सामग्री पस्कनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *