क–कसले जिते राइट टू प्रोटिन रनको उपाधि
काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा सम्पन्न राइट टू प्रोटिन रनको तेस्रो संकरणको हाफ म्याराथनतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठको पोल्टामा परेको छ ।
शनिबार सम्पन्न पुरुषतर्फको हाफ म्याराथनको उपाधि निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गर्दै अधिकारीले पुरुषतर्फको प्रतिस्पर्धामा पहिलो स्थान बनाएका हुन् । यसअघि सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा पनि अधिकारी प्रथम बनेका थिए ।
एपीएफ क्लबका गोपीचन्द्र पार्की दोस्रो भए । उनी मात्रै ९ सेकेन्डले पछि परेका हुन् । तीर्थ पुन तेस्रो र नरेन्द्र रावल चौथो भए ।
महिलातर्फ सन्तोषी श्रेष्ठ १ घण्टा २० मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम बनिन् । सन्तोषीले पहिलो स्थान बनाउँदा नेपाल पुलिसकी राममाया बुढा दोस्रो स्थानमा सीमित भइन् ।
एपीएफकी पुष्पा भण्डारी तेस्रो, आर्मीकी पूर्णलक्ष्मी न्यौपाने थौथो र एपीएफकी फुलमती राना पाँचौं भए ।
हाफ म्याराथन महिला र पुरुषतर्फ दुवै विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौंले ३० हजार प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको हाफ म्याराथन भक्तपुरको राधे राधे पुगेर सोही रुटबाट फर्किएको थियो ।
१० किलोमिटर पुरुषतर्फको खुल्ला प्रतिस्पर्धाको सबै उपाधि आर्मीको पोल्टामा पर्यो । आर्मीका मुकेश पाल, सञ्जय श्रेष्ठ, गजेन्द्र राई, सुवाष कार्की र श्रीकाश राई क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं बनेका हुन् ।
त्यसैगरी, पाँच किलोमिटर खुल्ला महिलातर्फको दौडमा आर्मीकी सृर्जना पाण्डेय प्रथम, राजपुरा दोस्रो, निर्मला केसी तेस्रो, आशा रावत चौथो र सुमित्रा कुमारी चौधरी पाँचौं बनिन् ।
स्कुलतर्फ ५ किलोमिटर दौडमा विश्वराम कुँवर प्रथम हुँदा बादल कार्की, विकेश घिमिरे, कृष्ण परियार र आशिष कुमार क्षेत्री क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं बने ।
पुरुषतर्फको ३ किलोमिटर ह्विलचियर दौडमा राम काजी मिजार प्रथम, रमेश खत्री दोस्रो, प्रेम विक तेस्रो, दीपक आले मगर चौथो र विष्णु पुकार श्रेष्ठ पाँचौं बनेको आयोजकले जनाएको छ ।
ह्विलचियर दौडकै महिलातर्फको प्रतियोगितामा ऐश्वर्य कुमारी कुमाल प्रथम हुँदा यामी झाक्री मगर दोस्रो, रजनी राई तेस्रो, पेमा गुरुङ चौथो र वविता थापा पाँचौं बने ।
प्रोटिनजन्य पदार्थमा आमनागरिकको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले नेपाल भेटेरिनरी एशोसिएसनले विगत ३ वर्षयता म्याराथन आयोजना गर्दै आएको छ । शनिबार सम्पन्न प्रतियोगिता तेस्रो संस्करण हो ।
प्रतिक्रिया