भारत भ्रमणमा नलगेको भन्दै विद्यार्थीले लगाए हिकाष्ट कलेजमा ताला
विद्यार्थीले आचारसंहिता मिचेको कलेज प्रशासनको आरोप
काठमाडौं । विद्यार्थीहरूले हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी (हिकाष्ट) कलेजमा तालाबन्दी गरेका छन् । भारतको शैक्षिक भ्रमणका लागि शुल्क असुलेर नलगिएको भन्दै विद्यार्थीले त्यससँग सम्बन्धित चारबुँदे माग अघि सारेर शनिबारदेखि अनिश्चितकालीन कलेज बन्द गराएका हुन् ।
विद्यार्थीले अनिश्चितकालीन बन्द गरेपछि कलेजको पठनपाठन तथा परीक्षा कार्यक्रम प्रभावित भएका छन् ।
हिकाष्ट कलेजका संयुक्त विद्यार्थीले मंसिर १६ गते प्रशासनलाई बुझाएको पत्रमा विद्यार्थी, कलेज प्रशासन र टुर्स एण्ड ट्राभलबीच छलफल गराइ भारत भ्रमणको मिति तोकिनुपर्ने, भ्रमण अवधि २१ दिनको हुनुपर्ने र सेमेस्टर शुल्कका कारण शैक्षिक भ्रमणमा रोकतोक लगाउन नहुने उल्लेख छ ।
विद्यार्थीसँग शुल्क असुलेर कोरोनाभाइरस महामारीयता कलेज प्रशासनले भारतको शैक्षिक भ्रमण नगराएकाले बाध्य भएर कलेज प्रशासनविरुद्ध संघर्षमा उत्रिएको हिकास्ट संयुक्त विद्यार्थीका सागर घिमिरेले भेट खबरलाई जानकारी दिए ।
घिमिरेका अनुसार, एग्रिकल्चर र भेटेरिनरी संकायका विद्यार्थीसँग शैक्षिक भ्रमण शुल्कसहित कलेज प्रशासनले क्रमशः १० लाख ८३ हजार रूपैयाँ र १५ लाख ४५ हजार रूपैयाँ असुल्दै आएको छ । तर कोरोनाभाइरस महामारीयता विद्यार्थीलाई शैक्षिक भ्रमणमा भने लगिएको छैन । एउटा व्याजमा ७५ लाखदेखि ८० लाखसम्म फाइदा हुने भएकाले कलेज प्रशासनले शैक्षिक भ्रमणमा नलैजान अनेक बहानाबाजी गर्दै आइरहेको र यो मनपरीविरुद्ध संघर्षमा उत्रिएको घिमिरेले बताए ।
‘कलेजले विद्यार्थीसँग शैक्षिक भ्रमण शीर्षकमा रकम असुलेको हुन्छ । तर विगत ३ वर्षदेखि विभिन्न बहानामा भारतको शैक्षिक भ्रमणमा भने लगिएको छैन । यसबारे पटक–पटक कलेज प्रशासनलाई आग्रह गर्दा सुनुवाइ नभएकाले अनिश्चितकालीन बन्दको घोषणा गरेका हौं,’ घिमिरेले भेट खबरसँग भने । कलेज प्रशासनले भ्रमणको तयारी अघि बढाइसकेको भनेर जारी गरेको सूचनाबारे टिप्पणी गर्दै उनले त्यसलाई झारा टार्ने कामको संज्ञा दिए ।
कलेज प्रशासनले भने शैक्षिक भ्रमणमा लैजाने तयारी अघि बढिरहेको सन्दर्भमा आचारसंहिताविपरीत तालाबन्दी गरेको आरोप लगाएको छ । शैक्षिक भ्रमणका लागि १६ गते नै सूचना जारी गरेर त्यसका लागि आवश्यक कागजात माग गरिसकिएको कलेज प्रशासनको भनाइ छ ।
हिकास्ट कलेज प्रशासनले एक चेतावनीयुक्त सूचना जारी गर्दै आचारसंहिता उल्लंघन गर्ने विद्यार्थीमाथि कारबाही गर्ने जनाएको छ । ‘यस कलेजमा अध्ययनरत कुनै पनि विद्यार्थीलाई विद्यार्थी आचारसंहिताविपरीत गएमा कलेजको नियमानुसार आवश्यक कारबाही गर्न सकिने व्यवस्था भएके हुँदा सम्बन्धित विद्यार्थीहरूलाई यही सूचनाद्वारा जानकारी गराइन्छ,’ हिकास्ट प्रशासनद्वारा शनिबार जारी सूचनामा भनिएको छ । तालाबन्दीका कारण नियमित प्रयोगात्मक परीक्षा तथा कक्षा सञ्चालनमा अवरोध पुगेको भन्दै कलेज प्रशासनले तालाबन्दी खोल्न आग्रह गरेको छ ।
संयुक्त विद्यार्थीले भने जायज माग राखेर संघर्षमा उत्रँदा आचारसंहिताको कुरा गर्नु लज्जास्पद भएको बताएका छन् । विद्यार्थीको आन्दोलन असफल पार्न कलेज प्रशासनले यस्तो दाउपेच गरेको आरोप लगाउँदै विद्यार्थीहरूले यथाशीघ्र विद्यार्थीको माग सम्बोधन गर्नेतर्फ लाग्न आग्रह गरेका छन् । माग पूरा नभएसम्म आन्दोलन यथावत् रहने प्रष्ट पार्दै विद्यार्थीले शैक्षिक तथा प्रशासनिक गतिविधि अघि नबढाउन र बढाएमा त्यसबाट सिर्जित जुनसुकै परिणामको जिम्मेवार स्वयं कलेज प्रशासन हुने प्रष्ट पारेका छन् ।
प्रतिक्रिया