रंगशालालाई जग्गा नदिन कृषि विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीको माग
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गा रंगशाला निर्माणका लागि नदिन प्राध्यापक, कर्मचारी तथा विद्यार्थीले माग गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको जग्गा रंगशाला निर्माणका लागि दिने चर्चाबीच विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, र विद्यार्थीले कृषि तथा वन विज्ञान विश्वविद्यालय बचाउँ अभियान थाल्दै जग्गा अन्य प्रयोजनका लागि नदिन दबाबमूलक अभियान थालेका हुन् ।
विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको जग्गा निश्चित स्वार्थका लागि विभिन्न संघ संस्थालाई दिँदा त्यसले शैक्षिक विकासमा नकारात्मक असर पर्ने अभियानको ठहर छ ।
‘यसरी कुनै पनि राजनीतिक वा अन्य दबाबमा विश्वविद्यालयजस्तो महत्त्वपूर्ण शैक्षिक संस्थाको जग्गा भोगचलन वा भाडामा दिँदै गर्दा यस संकायको अस्तित्व नै रहला कि नरहला भन्ने अत्यन्तै संवेदनशील प्रश्न खडा भएको छ,’ अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जग्गा अन्य प्रयोजनका लागि दिँदा पर्ने दुश्प्रभावबारे व्याख्या गर्दै अभियानले यसबारे सरोकारवालासँग छलफलपश्चात मात्र निर्णय लिन पनि सुझाएको छ । अन्यथा यसबाट आइपर्ने जस्तोसुकै परिस्थितिको जिम्मेवार विश्वविद्यालय प्रशासन हुने अभियानले स्पष्ट पारेको छ ।
प्रतिक्रिया