कृषिका तीन सहसचिवको सरुवा, मधेस पुगे पाण्डे, केन्द्रमा तानिइन् नम्रता
काठमाडौं । सरकारले कृषि तथा पशुपन्छीतर्फका तीन सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ५८ सहसचिवको सरुवा गर्दा कृषितर्फका तीन सहसचिवको जिम्मेवारी हेरफेर भएको हो ।
बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेलाई मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । पाण्डेले मधेस प्रदेशको कृषि मन्त्रालयको जिम्मेवारी पाउँदा बागमतीमा राजेन्द्र कोइरालालाई पठाइएको छ । कोइराला यसअघि फलफूल विकास आयोजनाका प्रमुख थिए ।
प्रदेश २ की सचिव डा. नम्रता सिंह पनि पजनीमा परेकी छन् । उनलाई त्यहाँबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय तानिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सोमबार ९ को सरुवा, को कहाँ ?
यसअघि सोमबार मात्रै कृषि तथा पशुपन्छी मन्त्रालयका ९ सहसचिवको अन्तरमन्त्रालय सरुवा गरिएको थियो । जसमा डा. सम्झनाकुमारी काफ्ले पाण्डे, डा. उमेश दाहाल, डा. रामनन्दन तिवारी, डा. वरुणकुमार शर्मा, डा. टंक प्रसाईं, डा. माधव आचार्य, डा. सूर्यप्रसाद पौडेल र डा. शुलोचना श्रेष्ठ छन् ।
पशु सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिरहेकी काफ्लेलाई सन्तोषजनक काम नगरेपछि कृषि आयोग लगिएको छ । आयोग कृषिका सहसचिव थन्काउने अघोषित अखडा हो । दाहालले विभागको महानिर्देशकको जिम्मेवारी पाउँदा तिवारीलाई नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना प्रमुखको भूमिका निर्वाह गर्नेगरी कार्यादेश दिइएको छ । पशु सेवा विभागको पूर्वमहानिर्देशक छँदा सवारी दुर्घटना गराएपछि तिवारी मन्त्रालय तानिएका थिए ।
त्यस्तै, वरुणकुमार शर्मालाई राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, डा. शर्मिला चापागाईंलाई केन्द्रीय रिफरल पशु चिकित्सालय, डा. माधव आचार्यलाई पशु सेवा विभाग, डा. सूर्य पौडेललाई आनुवंशिक स्रोत केन्द्र र डा. शुलोचना श्रेष्ठलाई राष्ट्रिय पशु आहारा तथा लाइभ स्टक गुण प्रयोगशाला सरुवा गरिएको छ ।
प्रतिक्रिया