किसानसँग हातेमालो गर्दै एबी पेलेट, रसुवा पुगेर दियो तालिम
काठमाडौं । उद्योग तथा कलकारखानाले तालिम दिएको खासै सुन्नमा आउँदैन । अक्सर यस्ता काम सरकारी तथा गैरसरकारी संघ–संस्थाले गरिरहेका हुन्छन् । तर रसुवामा भने पोल्ट्री किसानलाई लक्षित गरेर दाना उद्योग र सप्लायर्सले तालिम सञ्चालन गरेका छन् ।
रसुवाको कालिका गाँउपालिका वडा नं. २ का कुखुरापालनक किसानलाई एबी पेलेट फिडको आयोजना तथा पासाङलामु पोल्ट्री सप्लायर्सको समन्वयमा निःशुल्क तालिम दिइएको हो ।
कालिका गाउँपालिका क्षेत्रभित्रका कुखुरापालक किसानलाई लक्ष्य गरेर सञ्चालित तालिममा खोर व्यवस्थापन, जैविक सुरक्षा, खोरको सरसफाइ, ब्रडिङ व्यवस्थापन, पोस्टम्याटम, ब्रोइलर कुखुराको सफल अभ्यासहरू, ब्रोइलर कुखुरामा लाग्ने महत्त्वपुर्ण रोग, यसको नियन्त्रण उपाय, दानापानी, भाँडाकुँडाको आवश्यकता, शारीरिक तौल वृद्धि, रोगको परिचय, रोग लाग्नुका कारण, रोगी तथा निरोगी कुखुराको पहिचान गर्ने तौर तरिकालगायत विषयबारे जानकारी दिइएको थियो । त्यस्तै, विभिन्न कुखुराजन्य रोगबाट बच्ने उपाय, कुखुरापालनमा बायोसेक्युरिटीको महत्त्वबारे पनि किसानलाई सिकाइएको आयोजक एबी पेलेट फिडले जनाएको छ ।
तालिम एबी पेलेट फिडका पोल्ट्री प्राविधिक दीपेश लामिछाने र पासाङलामु पोल्ट्री सप्लायर्सका डिलरकर्ता शिवराम लामिछानेले दिएका थिए ।
तालिमपछि सहभागी किसानलाई निःशुल्क थर्मोमिटरसमेत हस्तान्तरण गरिएको आयोजक एबी पेलेट फिडले जनाएको छ ।
प्रतिक्रिया