किसानका समस्यामा केन्द्रित हुन आयोग पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्याकुमारी अर्यालले किसानका समस्या समाधानका उपाय पहिल्याउन किसान आयोगका पदाधिकारी तथा सदस्यलाई निर्देशन दिएकी छन् ।

झण्डै दुई तिहाइ जनसंख्या कृषिमा आधारित रहे पनि अनेक समस्या रहेकोतर्फ संकेत गर्दै उनले समग्र कृषि क्षेत्रका समस्याहरूको पहिचान, प्राथमिकीकरण र समाधानका ठोस योजना ल्याउन आग्रह गरिन् ।

‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्दै कृषि क्षेत्रका मौजुदा नीति, ऐन, नियम लगायतका कानूनी व्यवस्थामा रहेका नीतिगत भिन्नतालाई समयसापेक्ष सुधारका सम्बन्धमा राय, नयाँ नीति, ऐन वा नियमावली निर्माणमा सहयोग, किसान कल्याणकारी योजना तर्जुमा, किसान पहुँचको सुनिश्चितता, बजार सरलीकरण, कृषि पेशालाई आकर्षित एवं सम्मानित बनाउन आवश्यक सुझाव तथा पहलकदमी, किसान संघसंगठनरूको दर्ता तथा नियमनलगायतका कार्यहरूमा नेपाल सरकारलाई सल्लाह, सुझावसहितका कार्य आयोगका पदाधिकारीले निरन्तर अगाडि बढाउनु हुनेछ भन्ने अपेक्षा मैले लिएको छु,’ आयोगका पदाधिकारी र सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउन आयोजित समारोहमा मन्त्री अर्यालले भनिन् ।

कोरोना महामारीले कृषि क्षेत्रमा असर पारेको उल्लेख गर्दै उनले किसानलाई आवश्यक उत्पादन सामग्रीको उपलब्धता तथा उत्पादन भएका कृषि उपजहरूलाई बजारको सुनिश्चिततामा समेत आवश्यक सुझाव नेपाल सरकारलाई पेश गर्न अनुरोध गरिन् ।

केही समयदेखि नेतृत्वविहीन किसान आयोगले डा. प्रेमप्रसाद दङ्गाललाई अध्यक्ष पाएको छ । त्यसैगरी, पुष्पा भुसाल, टेकबहादुर बोगटी, सूर्यप्रसाद खनाल, मञ्जु धिमाल र जीवन्ती पौडेललाई यही वैशाख १९ को मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी सदस्यमा नियुक्त गरेको छ ।

नवनियुक्त अध्यक्ष र सदस्यलाई मन्त्री अर्यालले सोमबार मन्त्रालयमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् ।

योसँगै किसान आयोगमा रिक्त सम्पूर्ण पदहरूमा पूर्णता पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *