एनभिएले भेटेनरियनलाई भन्यो– घाइते पशुपन्छीको उपचारमा तत्काल जुट्नु होला

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) ले अविरल वर्षापछि देशमा निम्तिएकाे  डुबान, बाढी तथा पहिरोका कारण घाइते पशुपन्छीको उपचारमा जुट्न आफ्ना सम्पूर्ण सदस्यहरूलाई अपिल गरेको छ ।

एनभिएका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले आइतबार एक संयुक्त अपिल जारी गर्दै घाइते पशुपन्छीको उपचारमा स्वतः स्फुर्त  जुट आह्वान गरेका हुन् ।

‘यस प्राकृतिक विपद्ले आम जनसमुदायका साथै पशुपन्छीहरू पनि प्रभावित भएका छन् । बाढी र पहिरोको चपेटामा परेका सम्पूर्ण पशुपन्छीको उद्धार, राहत तथा उपचारका लागि स्वतःस्फुर्त रूपमा जुट्नु हुन यस एसोसिएसनका हाम्रा सदस्यहरूलाई हार्दिक आग्रह गर्दछु,’ अपिलमा भनिएको छ ।

पशुपन्छीको क्षतिको विवरण संकलन गरी कृषकहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्न, मरेका पशुपन्छीको उचित व्यवस्था गरी बास गुमाएका नागरिकहरूको पुनर्स्थापना गर्न एनभिएले सरकारसमक्ष मागसमेत गरेको छ ।

 बाढी, पहिराे र डुबानबाट ज्यान गुमाएकाप्रति श्रदाञ्जली र घाइतेमा शीघ्र स्वास्थयलाभकाे कामना गरेकाे एनभिएले प्राकृतिक विपद्पश्चात मानिस तथा पशुपन्छीमा संक्रामक तथा महामारीजन्य रोगहरू फैलने खतरा औंल्याउँदै पूर्वतयारीमा जुटी औषधि उपचारको प्रबन्ध गर्न पनि सरकारलाई सुझाएको छ ।

‘यस्ता प्राकृतिक विपदपश्चात मानिस तथा पशुपन्छीमा र्फलन सक्ने संक्रामक तथा महामारीजन्य रोगहरूको व्यवस्थापनको पूर्वतयारी गर्न, आवश्यक जनशक्ति परिचालन गर्न तथा औषधि उपचारको व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई हार्दिक अनुरोध गर्दछौं,’ अपिलमा भनिएको छ ।

विगतमा यस्ता प्राकृतिक प्रकाेपका कारण हैजा, झाडापखालाजस्ता महामारी फैलने गरेकाे थियाे ।गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले काठमाडौं उपत्यकासहित देशभर जनधनको ठूलो क्षति पु–याएको छ । देशमा प्राकृतिक विपत्ति आएसँगै पशुपन्छी क्षेत्रका संघ–संगठनले आवश्यक सहयोगमा जुट्न आफ्ना सदस्यहरूलाई आग्रह गरेका छन् । सोमबार मात्रै नेभ्लाका अध्यक्ष रामप्रसाद मेहताले एक विज्ञप्ति जारी गरेर उद्धार, राहत तथा उपचार कार्यमा जुट्न संगठनका पदाधिकारी तथा सदस्यहरूलाई अनुरोध गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *