सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालयको समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं । सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

धनगढीको गार्डेन होमस्टे एण्ड रिसोर्टमा भेला भएर यही साउन १० र ११ गते मन्त्रालय र यस मातहतका निकायको चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा गोष्ठी गरिएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी ,मन्त्रालय सुदूरपश्चिम प्रदेशका योजना महाशाखा प्रमुख यज्ञराज जोशीले स्वागत मन्तव्य राख्दै आ.व. ०८०/८१ को कृषितर्फको वित्तीय प्रगति विवरण प्रस्तुत गरे । उनका अनुसार, गत आ.वमा कृषि मन्त्रालय र मातहतका निकायमा चालु र पुँजीगततर्फ १ अर्ब १६ करोड ७३ लाख ९९ हजार ४० रूपैयाँ विनियोजन गरिएकोमा ७४ करोड ८१ लाख ७७ हजार ३४० खर्च भएको छ । भारित प्रगति ८६.२८ प्रतिशत र वित्तीय प्रगति ६४.०९ प्रतिशत रहेको पनि उनले उक्त अवसरमा जानकारी दिए ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशको पशुपन्छीतर्फ आ.व. ०८०/८१ मा चालु र पुँजीगततर्फ ८९ करोड ८३ लाख २३ हजार बजेट विनियोजन भएकोमा खर्च तर्फ ७१ करोड ३१ लाख ३७ हजार ३७० खर्च भएको छ । यसमा भारित प्रगति ९५.७५प्रतिशत र वित्तीय प्रगति ८२ प्रतिशत रहेको उनले जानकारी दिए ।

प्रदेशअन्तर्गतका जिल्लाहरूको भारित प्रगति सन्तोषजनक रहे पनि वित्तीय प्रगति भने न्यून छ । प्राविधिक जनशक्तिको पदपूर्ति हुन नसक्दा यस्तो समस्या देखिएको महाशाखा प्रमुख जोशीले औंल्याए । सुदूरपश्चिम लोकसेवा आयोगले पदपूर्ति गरेको खण्डमा यो समस्या हल हुने जोशीको भनाइ छ ।

विद्यमान कार्यविधि, ऐन–नियमावलीको दोहोरोपनले समस्या आएको जनाउँदै चालु आवमा त्यसलाई संशोधन गरेर अघि बढ्न सहभागीले सुझाएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव डा. मदनसिंह धामीको अध्यक्षता र मन्त्री श्री टीका थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सह–सचिव जानुका पण्डित, अतिथिका रूपमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दीपायल डोटीका निर्देशक डा. पान सिंह ठगुन्ना, कृषि विकास निर्देशनालय, दीपायलका निर्देशक खगेन्द्र शर्मालगायतको उपस्थिति थियो ।

९ वटै जिल्लाको कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधि सहभागी कार्यक्रममा १२० भन्दा बढीको उपस्थिति थियो ।

कार्यक्रमको उदघोषण भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनगढी कैलालीका नापी अधिकृत धर्मराज ओझाले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *