अब संघ–संगठनले अण्डा र दानाको मूल्य तोक्न नपाउने

काठमाडौं । उत्पादक, संघ–संगठनहरूले अब कुखुराको दाना, अण्डालगायत वस्तुको मूल्य तोक्न नपाउने भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गरी उत्पादक तथा वितरकको संघ–संगठनलाई वस्तु तथा सेवाको मूल्य नतोक्न सूचित गरेको हो ।

उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानूनको अधीनमा रही उत्पादन संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत हिसाब गरी आवश्यक मुनाफा राखेर अधिकतम खुद्रा मूल्य तोक्न सकिने कानूनी व्यवस्था छ । तर कतिपय उत्पादन तथा वितरणसँग सम्बन्धित संघ–संगठनले वस्तु तथा सेवाको मूल्य मनमौजी राख्दै आइरहेका छन् । विभागको यस्तो ताकेतासँगै अब दाना उद्योग संघले दाना र अण्डा बिक्री संघले अण्डा तथा कुखुराको मासुको मूल्य तोक्न नपाउने भएका छन् ।

विभागले यस्तो कार्य कानून तथा प्रतिस्पर्धाविपरीत भएको स्मरण गराउँदै आमभोक्ताको सरल र सहज रूपमा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक कुण्ठित नगरिदिन आग्रह गरेको छ ।

‘…कुनै पनि उत्पादक वा वितरकको संघ–संगठनले कुनै पनि वस्तु वा सेवाको देशभरि लागू हुने गरी मूल्य निर्धारण गर्ने कार्यबाट प्रतिस्पर्धाविपरीत हुन गई आमउपभोक्ताले सरल र सहज रूपमा गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने हक संकुचित हुन जाने भएकाले कुनै पनि उत्पादक वा वितरकको संघ–संगठनले कानूनीविपरीत वस्तु तथा सेवाको अधिकतम बिक्री मूल्य तोक्ने कार्य नगर्नु÷नगराउनु हुन सूचित गरिन्छ,’ विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, विभागले आफ्ना उत्पादनमा उत्पादक र वितरकको नाम, ठेगना, सम्पर्क नम्बर, उत्पादन मिति, उपभोग्य अवधि र अधिकतम खुद्रा बिक्री मूल्य अनिवार्य राख्न पनि सबै उत्पादक कम्पनी तथा फर्मलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *