संघले स्थापना गर्यो, ‘आकस्मिक राहत कोष’, प्रकोपपीडितलगायत व्यवसायीले राहत पाउने
काठमाडौं । औषधि व्यवसायीहरूको छाता संगठन नेपाल पशुपन्छी औषधि व्यवसायी संघले आकस्मिक राहत कोष शुभारम्भ गरेको छ । संघका देशभरका सदस्य तथा तिनका एकाघरका दैवी प्रकोपपीडित सदस्यलाई राहत प्रदान गर्ने उद्देश्यका साथ संघले आकस्मिक राहत कोष स्थापना गरेको हो ।
संघको केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजित एक कार्यक्रमबीच बिहीबार आकस्मिक राहत कोषको शुभारम्भ गरियो । आपत विपतमा परेका व्यवसायीलाई राहत प्रदान गर्ने उद्देश्यले स्थापित कोषको नाम भेकडान आकस्मिक कोष दिइएको छ । भेकडान नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अंग्रेजीको छोटो रूप हो ।
दैवी प्रकोपबाट पीडित व्यवसायीलाई राहत दिने कुनै कार्यक्रम संघमार्फत सञ्चालन नभएकाले कोष स्थापना गरिएको संघका महासचिव सादुराम ढकाल (आशिष) ले जानकारी दिए । जन्म दिनका अवसरमा पार्टीलगायतका फजुल खर्च गर्नेभन्दा व्यवसायीको हितमा केही नवीन कार्य गर्ने सोच आएको र त्यसमाथि घोत्लँदा समग्र व्यवसायीको हित हुने गरी कोष स्थापना गर्ने योजना बनेको उनले बताए ।
‘आफ्नो जन्म दिनका अवसरमा हामी पार्टी गर्छौं, दान दिन्छौं । तर दैपी प्रकोप, दीर्घ रोगलगायत भैपरी आउने घटनाबाट पीडित व्यवसायीलाई राहत दिने कुनै कोष हामीले स्थापना गरेका थिएनौं । त्यसैलाई मध्यनजर गरेर जन्म दिनका अवसरमा व्यवसायीले सहयोग गर्ने गरी कोष स्थापना गरेका हौं,’ शुभारम्भ कार्यक्रममा कोष स्थापनाको रचनागर्भ र त्यसको उद्देश्यबारे जानकारी दिँदै महासचिव ढकालले भने ।
संघले देशभरका पशुपन्छी औषधि व्यवसायीलाई जन्म दिनको अवसरमा सहयोग गर्न आह्वान गर्ने र त्यसबाट कोष मजबुत पार्ने सोच राखेको छ । शुभारम्भ कार्यक्रममा बोल्दै संघका महासचिव ढकालले संघका सदस्य, सदस्यका आफन्त, विभिन्न संघ–संस्थालाई प्रकोपपीडितका लागि सहयोग गर्न स्थापना गरिएको कोषमा आफ्नो जन्म दिनको अवसर पारेर सहयोग गर्न आह्वान गरे । जन्म दिनका अवसरमा व्यवसायीले गर्ने सानो सहयोग प्रकोपलगायत अन्य भैपरी आउने समस्याको पीडामा मल्हम हुने भएकाले त्यसलाई सबैले मनन गर्ने उनको विश्वास छ ।
क–कसले कस्तो अवस्थामा पाउन सक्छन् कोषबाट राहत ?
कोष सञ्चालनका लागि संघले नियमावलीसमेत तयार गरेको छ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको विधानको धारा १४ को उपधारा ३ को दफा (घ) र (ङ) तथा धारा १७ र २५ ले प्रत्यायोजन गरेको अधिकार प्रयोग गरेर नियमावली बनाइएको संघको भनाइ छ ।
संघको देशभरका सदस्य तथा सदस्यहरूको एकाघरका सदस्यहरूले दैवी प्रकोप र जटिल प्रकारका बिरामीमा कोषबाट राहत प्राप्त गर्न सक्नेछन् । तर त्यसका लागि सबुत प्रमाण भने पेश गर्नुपर्नेछ ।
संघले सदस्यबाट दैनिक १ रूपैयाँका दरले एक वर्षको ३६५, संघका सदस्यबाहेकका दाताबाट, स्वदेशी संस्था वा संघ संस्थाबाट, विदेशी व्यक्ति, सरकार वा अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट, कोषको रकमबाट बढे, बढाएको रकमबाट कोष सञ्चालन गर्ने उद्देश्य राखेको छ ।
शुभारम्भ कार्यक्रममा संघका पूर्वअध्यक्ष रेवतीरमण निरौला, नवराज तिमिल्सिना, भूपेन्द्र गौतम, संघका बहालवाला पदाधिकारी, सदस्यको उपस्थिति थियो ।
संघका पूर्वअध्यक्ष रेवतीरमण निरौलाले यो अन्तर्राष्ट्रिय अवधारणा भएको उल्लेख गर्दै यसलाई सञ्चालन गर्न विगतमा आफूले विभिन्न फोरममा बोलेको र अहिलेको कार्यसमितिले त्यसलाई अंगीकार गरेकोमा खुसी लागेको बताए । यसलाई अघि बढाउन चुनौती रहेकाले त्यसलाई चिरेर प्रभावकारी ढंगले अघि बढाउन उनले सुझाव दिए ।
प्रतिक्रिया