पशुपन्छीका रोग र आहाराबारे किसान ब्युँझाउँदै एबी, मेलम्चीमा गर्यो अन्तरक्रिया
काठमाडौं।एबी प्यालेट फिड प्रा.लिले सिन्धुपाल्चोकको मेलम्चीमा पशुपन्छी रोग विशेषज्ञ र किसान राखेर अन्तरक्रिया गराएको छ ।
प्रा.लिले बुधबार सिन्धुपाल्चोकको मेलम्चीमा पशुपन्छीको आहार, त्यसमा लाग्ने रोग र उपचारबारे किसानलाई प्रशिक्षित गरेको हो ।
किसानको हित खातिर विगतदेखि नै यस्ता अन्तरक्रिया, तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको एबीले पशुपन्छीमा लाग्ने रोग, तिनको उपचार र आहारबारे किसानलाई प्रशिक्षित गर्न अन्तरक्रिया गरिएको जनाएको छ ।
एबी प्यालेटका अनुसार, त्यहाँस्थित बाँसबारी कृषि सहकारी संस्थासँगको सहकार्यमा आयोजना गरिएको अन्तरक्रियामा पशुपन्छीमा लाग्ने रोग, त्यसको निदान, आहारसँगै एबीका शुभम् र सुपर दानाबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै एबी प्यालेट प्रालिका कार्यकारी निर्देशक पिताम्बर सञ्जेलले सरकारले निर्धारण गरेको दाना उत्पादनसम्बन्धी मापदण्ड पालना गरेर आफ्नो कम्पनीले दाना उत्पादन गरिरहेको बताए । गुणस्तरलाई महत्त्व दिइएकाले एबी प्यालेट फिड्सद्वारा उत्पादित शुभम् र सुपर प्यालेट दाना ढुक्क भएर प्रयोग गर्न उनले कृषकलाई आग्रह गरे ।
प्रशिक्षक डा. उमेश मण्डलले पशुमा देखिएको लम्पी स्किनका कारण किसानले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै आफ्ना पशु चौपायालाई रोग लाग्नबाट बचाउन कृषक नै सचेत हुनुपर्ने आवश्यकता औंल्याए । पशुपालन गर्दा गोठको अवस्थिति, मलमूत्रको व्यवस्थापन कस्तो हुनुपर्छ भन्नेबारे पनि उनले किसानलाई जानकारी गराए । पशुमा देखापरिरहेका विभिन्न रोगबारे बोल्दै उनले अहिले महामारीका रूपमा देखापरेको लम्पी स्किनलगायत रोगबाट बच्ने उपाय र लागिहालेको अवस्था अगाल्नुपर्ने उपचार पद्धतिबारे पनि किसानलाई जानकारी दिएका थिए ।
बाँसबारी कृषि सहकारीका अध्यक्ष सोमराज हलानले सुरुमा कम्पनीहरूले गुणस्तरीय दाना पठाउने गरे पनि बिक्री बढेपछि गुणस्तर घटाउने गरेको गुनासो गरे । दानामा समस्या भए पनि सहकारी आबद्ध किसानलाई जुनसुकै मूल्यमा गुणस्तरीय दाना उपलब्ध गराइने प्रतिबद्धता उनले जनाए ।
कार्यक्रममा सहभागी कृषकहरूले दानाको गुणस्तरबारे प्रश्न राखेका थिए । कृषकले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रालिका कार्यकारी निर्देशक सञ्जेलले गुणस्तरीयता कम्पनीको पहिलो प्राथमिकता भएको बताए ।
करिब ८० कृषकको उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रममा प्रालिका प्राविधिक तथा बजार प्रतिनिधि दीपेश लामिछानेले पोल्ट्री व्यवसाय गर्दा फार्मको व्यवस्थापनबारे सहभागीलाई जानकारी गराएका थिए । अर्का पशुचिकित्सक डा. रामचन्द्र सञ्जेलले कुखुरापालन व्यवसायमा अपनाउनुपर्ने आवश्यक जैविक सुरक्षादेखि भ्याक्सिनेसनलगायत विषयमा किसानलाई प्रशिक्षित गरेका थिए ।
कार्यक्रममा एबी प्यालेट फिडका प्राविधिक बुद्धिमान कार्की, मार्केटिङ म्यानेजर राजेन्द्र मैनालीलगायतले पनि आफ्नो भनाइ राखेका थिए ।
प्रतिक्रिया