जुम्लामा चट्याङले ठूलो संख्यामा भेडा मरे, महानिर्देशक शर्मा भन्छन्– मरेका भेडाको संख्या यकीन हुन बाँकी छ
काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–४ मा पर्ने एक वनमा चरणमा रहेका ठूलो संख्याका भेडा चट्याङ लागेर मरेका छन् । उक्त गाउँपालिको जाजुल्ले भन्ने ठाउँमा रहेको ढाँणखर्क सामुदायिक वनमा चरिरहेका ती भेडा चट्याङ लागेर मरेको जानकारी आएको पशु सेवा विभागले जनाएको छ । तर, कति संख्यामा भेडा चट्याङले नै मरेका हुन् भन्ने विषय भने पुष्टि हुन बाँकी नै रहेको विभागका महानिर्देशक डा. वंशी शर्माले बताए ।
‘उक्त ठाउँमा चट्याङले ५ सय भेडा मरे भन्ने हल्ला आइरहेको छ,’ महानिर्देशक डा. शर्माले भने, ‘५ सय हुन् कि ५० हुन् पुष्टि हुन सकेको छैन । चट्याङले एकै ठाउँमा त्यति ठूलो संख्यामा भेडा मरे कि मरेनन् भन्ने खोजीको विषय पनि हो । चट्याङ परेको र भेडा मरेको कुरा पुष्टि भए पनि संख्या यकिन हुन सकेको छैन ।’
वास्तवमा चट्याङकै कारण कति भेडा मरे, घटना कसरी भयो र कति क्षति भयो भन्ने विवरण साँझसम्ममा आउने हामीले आशा गरेका छौं । ‘घटना स्थल दुर्गम ठाउँमा भएकोले त्यहाँ जाने टोलीसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘टोलीसँग सम्पर्क भएपछि थप विवरण आउने छ ।’
एकै पटक यति ठूलो संख्यामा भेडा मर्दा किसानलाई ठूलो क्षति भएको अनुमान गरिएको छ ।