‘नेपालमा जे पनि गर्न पाइन्छ भनेर अब भारतीय कम्पनीले नसोचे हुन्छ’गुणस्तरहीन सामान मात्र पठाउनेलाई सधैंका लागि बन्द गरिदिन्छौं
पशुपन्छीलाई दाना तथा पानीमा मिसाएर खुवाइने पूरक आहारा (फिड सप्लिमेन्ट) को नेपाली बजारको मागको ठूलो हिस्सा भारतीय कम्पनीले थेग्दै आएका छन् । भारतबाट आयात हुने कतिपय कम्पनीका फिड सप्लिमेन्टको गुणस्तरमा कुनै कैफियत नभए पनि अधिकांशमा समस्या देखिँदै आएको छ । जानकारहरूका अनुसार कतिपय भारतीय उद्योग नेपालमा गुणस्तरहीन फिड सप्लिमेन्ट आयात गर्नकै लागि खडा भएका छन् । भारतबाट आयात भई बजारमा बिक्री वितरण भइरहेको फिड सप्लिमेन्टको विभागबाट हुने प्रयोगशाला परीक्षणले पनि यो तथ्य उजागर गर्दै आएको छ । भारतीय कम्पनीले मिनरलका रूपमा उत्पादन गरेका फिड सप्लिमेन्टमा पानी र धूलोका रूपमा उत्पादन गरेकामा माटो भेटिँदासम्म किसानमाथि ठगी गर्ने क्रम बीसको उन्नाईस हुन सकेको छैन ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल फिड सप्लिमेन्टको बजारलाई व्यवस्थित गर्न विभागले काम गरिरहेको दाबी गर्छन् । विश्वका अन्य मुलुकमा नपठाइ नेपालमा मात्र आयात गर्ने कम्पनी वाच लिस्टमा रहेको उल्लेख गर्दै उनले त्यस्ता कम्पनीको मक्सद अब विभागले पूरा हुन नदिने प्रतिबद्धता जाहेर गरे । ‘यदि कुनै विदेशी फिड सप्लिमेन्ट उत्पादक कम्पनीले अन्य मुलुकमा उत्पादन नपठाएर नेपालमा मात्रै पठाइरहेको छ भने त्यस्ता कम्पनीलाई विभागले वाच लिस्टमा राख्छ,’ उनले भने, ‘नेपालमा जे पनि गर्न पाइन्छ भन्ने कुनै भारतीय कम्पनीले सोचेको छ भने अब हामी त्यो हुन दिँदैनौं । एउटा कम्पनीको उत्पादनमा पटक-पटक उस्तै समस्या देखियो भने त्यसलाई पूणर्तया रोक लगाउने परिपाटीमा हामी जान्छौं ।’
फिड सप्लिमेन्ट गुणस्तरको भयावह अवस्थाबारे महानिर्देशक डा. दाहालसँग भेट टाइम्स मासिकका प्रधान सम्पादक विष्णु पाण्डेयले गरेको कुराकानीको सम्पादित अंश :
विगत वर्षदेखि नै नेपालमा भारतबाट आयात गरिएका फिड सप्लिमेन्ट (पूरक आहार) मा कैफियत भेटिएको थियो । विभागले हालै सार्वजनिक गरेको फिड सप्लिमेन्टको प्रयोगशाला परीक्षण रिपोर्टमा पनि दक्षिणी छिमेकी मुलुकबाट आयातीत गरिएकोमा उस्तै समस्या देखिएको छ । किन र कसका कारण यस्तो भइरहेको छ ?
विभागले सिफारिस गरेको फिड सप्लिमेन्ट (दाना-पानीमा मिसाइने पदार्थ) गुणस्तरको हुनुपर्छ भन्नेमा दुई मत छैन । विगतमा पनि हामीले यही कुरा भन्दै आइरहेका थियौं, अहिले पनि यही भन्छौं । केही कम्पनीका फिड सप्लिमेन्टहरू न्यून गुणस्तरको पाइएको छ । यस्ता फिड सप्लिमेन्टको विवरण सार्वजनिक गर्दै विभागले बिक्री-वितरणमा रोक लगाउन निर्देशनात्मक आदेशसमेत जारी गरिसकेको छ । सँगै किसान तथा उद्योगीलाई त्यस्ता गुणस्तरहीन फिड सप्लिमेन्ट प्रयोग नगर्न पनि हामीले अनुरोध गरिसकेको अवस्था छ ।
गुणस्तरयुक्त सामान आयात गर्न विभागले आयातकर्तालाई आवश्यक सबै सहजीकरण गर्दै आएको छ । फिड सप्लिमेन्ट आयात गर्नुपूर्व विभागले आफ्नो प्रयोगशालामा गुणस्तर परीक्षण गर्ने गरेको छ । बाहिरका अन्य प्रयोगशालामा पनि यस्तो परीक्षण गर्न सकिन्छ । यस्तो परीक्षणबाट गुणस्तरहीन पुष्टि भएको खण्डमा आयात गर्न दिनु हुँदैन । गुणस्तरहीन सामान जो कसैले गरे पनि त्यो अपराध हो । यसलाई रोक्नु पर्छ ।
नियामक निकायको हैसियतले यो काम पशु सेवा विभागले गर्नुपर्ने होइन ? फिड सप्लिमेन्टको सिफारिस र नियमन गर्ने अधिकार तपाईं नेतृत्वको विभागसँग हुँदाहुँदै उद्योग र आयातकर्ताले किसान ठग्ने उपक्रम किन चलिरहेको छ ?
विभाग गुणस्तरहीन फिड सप्लिमेन्टको आयात रोक्न निरन्तर लागिपरेको छ । भारतलगायत बाहिरी मुलुकबाट आयात गरी ल्याइएका मात्र होइन, स्वदेशमै उत्पादित फिड सप्लिमेन्टको गुणस्तर अवस्था के छ भनेर पनि विभागले परीक्षण गर्दै आइरहेको छ । मिडियाकर्मीलगायत वर्गबाट पनि यसमा सहयोग प्राप्त हुने अपेक्षा मेरो छ । म सम्पूणर् आयातकर्ता साथीहरूलाई कृषक दाजुभाइ दिदीबहिनीले गर्नुभएको लगानी नडुब्ने गरी गुणस्तरीय फिड सप्लिमेन्ट आयात गर्न फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्दछु । गुणस्तरीय फिड सप्लिमेन्ट आयातका निम्ति सहजीकरण गर्न विभाग सदैव तयार छ ।
गुणस्तरहीन फिड सप्लिमेन्ट आयात गर्नेमाथि कारबाही नहुँदा उनीहरूको मनोबल बढेको र पुरानो गल्ती निरन्तर गरिरहेको सरोकारवाला बताउँछन् । तथ्यांकले पनि त्यही देखाउँछ । विभागको भूमिका तमासेजस्तो भएन र ?
मैले विभाग मातहतका निकायहरू राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले बजारमा बिक्री वितरण हुने फिड सप्लिमेन्ट गुणस्तरीय हुनुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेकै छ । फिड सप्लिमेन्ट गुणस्तरयुक्त नरहेको खण्डमा त्यसलाई आयात गर्न नदिने रणनीति विभागले अपनाएको छ । गुणस्तरीय फिड सप्लिमेन्ट कृषकले खरिद गर्न पाउन् भन्ने हेतुले अरू थुप्रै कम्पनीका फिड सप्लिमेन्टको नमुना संकलन गरेर परीक्षण पनि गर्दैछौं । गुणस्तरहीन फिड सप्लिमेन्ट ल्याएर कारोबार गर्नेहरू सचेत हुने बेला हो । म उहाँहरूलाई फेरि पनि त्यस्ता वस्तु आयात नगरिदिन अनुरोध गर्न चाहन्छु ।
तपाईं सुरुदेखि नै गुणस्तरहीन फिड सप्लिमेन्ट आयात गर्नेहरूलाई अनुरोध मात्र गरिरहनु भएको छ । कारबाहीचाहिँ कहिले गर्नुहुन्छ ?
विभागलाई एउटा किसिमको गुणस्तरयुक्त सामान ल्याउँछु भनेर अर्को ल्याउनु बदमासी त हो नै सरासर कालोबजारी पनि हो । यस्ता कम्पनी तथा आयातकर्तालाई कतिपय कारबाही विभागले नै गर्न सक्छ भने कतिपयका लागि अन्य सरकारी निकायलाई लेखेर पठाउनु पर्छ । आफैंले गर्न सक्ने कारबाही विभागले गर्छ । अन्यत्र लेखेर पठाउनु पर्ने भए पनि पठाउँला । तर एक पटक हाम्रा व्यवसायीलाई विभाग विनम्रतापूर्वक सचेत गराउन चाहन्छ । यो काम विभागले सुरु गरिसकेको पनि छ ।
गुणस्तरहीन फिड सप्लिमेन्ट आयात गरिरहेका कतिपय नेपाली आयातकर्ताले यसमा आफूहरू भन्दा पनि कम्पनीको बदमासी रहेको र नेपाल सरकारले त्यस्ता कम्पनीमाथि कारबाही नगर्दा आफूहरूसमेत पीडित बन्न पुगेको बताउने गरेका छन् । यसतर्फ विभागले के सोचिरहेको छ ?
कुनै पनि फिड सप्लिमेन्ट उत्पादक कम्पनीले नेपालमा मात्र नभएर अन्य मुलुकमा पनि आफ्नो उत्पादन पठाउनु पर्छ । यदि कुनै कम्पनीले अन्य मुलुकमा नपठाएर नेपालमा मात्रै पठाइरहेको छ भने त्यस्ता कम्पनीलाई विभागले वाच लिस्टमा राख्छ ।
भिटामिनका नाममा पानी बिक्री गरेर किसानमाथि लुट गर्नेलाई वाच लिस्टमा मात्र राखेर होला र ? अन्य कदम पनि चाल्नुपर्ने होइन ?
नेपालमा जे पनि गर्न पाइन्छ भन्ने कुनै भारतीय कम्पनीले सोचेको छ भने अब हामी त्यो पूरा हुन दिँदैनौं । एउटै कम्पनीको उत्पादनमा पटक-पटक उस्तै समस्या दोहोरिरहन्छ भने त्यसलाई पूणर्तया रोक लगाउने परिपाटीतिर हामी जान्छौं । त्यसो भन्दैमा गुणस्तरीय सामान ती कम्पनीले नेपाली बजारमा पठाउन पाउँदैनन् भन्ने होइनन् । गुणस्तरीय फिड सप्लिमेन्ट उत्पादन गरेर नेपालमा पठाइन्छ भने हाम्रोतर्फबाट कुनै रोकतोक हुँदैन ।
नेपालमा गुणस्तरहीन फिड सप्लिमेन्ट कसका कारण आयात भइरहेको छ भन्ने एउटा ज्वलन्त प्रश्न केही समयदेखि उब्जिरहेको छ । यसमा दोषी आयातकर्ता हुन् कि उद्योग ?
देशबाहिरका फिड सप्लिमेन्ट उत्पादक कम्पनीलाई हामी खासै चिन्दैनौं । नेपाली आयातकर्ताले यो गुणस्तरको फिड सप्लिमेन्ट आयात गर्छु भनेपछि त्यहीअनुरूपको हुनुपर्छ । यदि भनिएबमोजिमको आयात भएन भने त्यसलाई आफैं फिर्ता गर्ने हिसाबले उहाँहरू लाग्नु पर्यो । यो देशको नागरिक भएपछि सबै कुरा सरकारले गर्छ भनेर हुँदैन । सचेत नागरिकका नाताले उहाँहरूले त्यस्ता गुणस्तरहीन सामान आयात गर्न हुँदैन ।